बेलायतमा भ्रमण वर्षको शुरुआत

बेलायतस्थित नेपाली दूतावासले नेपाल भ्रमण वर्षको शुरुआत गरेको छ । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले दूतावासमा आयोजित एक विशेष समारोहमा अभियानको औपचारिक शुरुआत गर्नुभएको हो । उहाँले बेलायतमा डेढ लाख नेपाली रहेका र प्रत्येकले एक विदेशी पर्यटक लैजान कोशिस गरे मात्रै पनि डेढ लाख पर्यटक नेपाल जाने बताउनुभयो ।

राजदूत सुवेदीले बेलायतमा बस्ने सबै नेपालीलाई सन् २०२० मा सपरिवार नेपालको भ्रमण गर्न र आफ्ना ब्रिटिशस्थित साथीलाई भ्रमण गर्न प्रेरित गर्न आग्रह गर्नुभयो । उहाँले बेलायतमा रहेका सबै नेपाली रेस्टुरेन्टलाई ‘भिजिट नेपाल इयर २०२०’ को प्रचारप्रसार गर्न र दूतावासले ‘भिटिज नेपाल’का पर्चा समेत रेष्टुरेन्टलाई उपलब्ध गराउने बताउनुभयो ।

दूतावासका उपनियोग प्रमुख शरदराज आरणले गत वर्ष नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा लन्डनका ५० बसमा नेपाल भ्रमण वर्षको विज्ञापन गरिएको जानकारी दिनुभयो । उहाँले बेल्फास्ट, म्यानचेस्टर लगायतका सहरमा पनि भ्रमण वर्षसम्बन्धी कार्यक्रम आयोजना गरिएको बताउनुभयो । गत वर्ष जनवरी १९ मा राजदूत सुवेदीको अध्यक्षतामा नेपाल भ्रमण वर्ष उच्चस्तरीय मूल समितिसमेत गठन भइसकेको उहाँले जानकारी गराउनुभयो । उहाँले सन् २०२० मा बेलायतबाट कम्तिमा एक लाख पर्यटक पठाउने गरी कार्ययोजना बनाइएको जानकारी गराउनुभयो ।
एनआरएन युकेकी अध्यक्ष पुनम गुरुङले बेलायतस्थित सबै संघसंस्थालाई भ्रमण वर्ष सफल पार्न आह्वान गर्नुभयो । सो अवसरमा भ्रमण वर्ष सफल पार्न दूतावासबाट गठन गरिएका २२ विभिन्न समितिका पदाधिकारीले आ–आफ्ना समितिका कार्यक्रम र योजनाबारे प्रस्तुती गर्नुभएको थियो । समारोहमा बेलायतको मिडल्याण्डलगायत विभिन्न सहरबाट आएका नेपाली समुदायका अगुवाको उल्लेख्य उपस्थिति थियो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार