– भिम राई
सामाजीक सञ्जालमा अहिले सर्वत्र फैलिएका शब्दहरु मध्ये एक हो ‘माईकालाल’ । यसको प्रयोग ठाउँ वा कु–ठाउँमा प्रयोग भईरहेका छन् । हुँदा हुँदा देशको शिक्षा क्षेत्रको सबै भन्दा गतिलो कार्यकारी पदका मन्त्रीले समेत यसको प्रयोग गरेपछि शब्द प्रयोगको चर्चा चुलिएको हो । केही दिन अगाडि एउटा दिक्षान्त समारोहमा पुगेर वर्तमान शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले विद्यार्थीहरुलाई दिक्षा दिए । वर्तमान प्रधानमन्त्री खडग प्रसाद ओलीको बचाउमा उनले आक्रोशित मुद्रामा प्रयोग गरेको यो शब्द कतिको मर्यादित ? यसका बारेमा सोधखोज कसैले गरेन । सोधनी गर्ने आवश्यकतापनि परेन होला । तर चासो राख्नै पर्नेकुरा होइन र ? यसकाबारेमा केही त लेख्नै प¥यो ।
‘माईकालाल’ हिन्दी भाषाको शब्द हो । यसको अर्थ त्यस्तो नराम्रो हुँदै होइन । सरल भाषामा रहेको माईकालाल भन्नु वित्तिकै आमाको छोरा भन्ने बुझिन्छ । आर्थात माईकालाल = आमाको छोरा । प्रयोग कसरी हुन्छ ? यसलाई गालीका रुपमा बढी प्रयोग गरिन्छ । रिस वा आवेगको बेला प्रयोग गरिने धेरै शब्दहरु छन् । त्यस्तै एउटा अगतिलो शब्दका रुपमा यसलाई परिभाषित गरिन्छ । अहिले मन्त्री ज्युले गरेको गालिले सम्बन्धित व्यक्तिको मात्रै मानहानी हुँदैन । उनलाई जन्माउने आमाको समेत मानहानी हुन्छ । यो अपमानीत शब्दको बारेमा ख्याल गरिएन भने सारा महिला नारी जातीको समेत अपमान हुन्छ ।
सरल शब्दमा भन्दा नेपालीमा गालि गर्दा कसैसँग झगडा पर्दा गरिने आमाचाकरी गालि जस्तै हो यो शब्द । कसैले बाझ्ने बेलामा आफ्नो हैसियत विर्सेर रिसको झोकमा ‘तेरो बाउले मु… को छोरा भए आईज’ भन्नु गालि होकी होईन ? यस्तै ‘ ओई र… को छोरा’ भन्नुमा कुनै तात्विक भिन्नता छ र ? यस्तै हो ‘ कोही माईकालाल छ’ भन्ने शब्द हो ।
हाम्रा देशका कार्यकारीहरु किन यति धेरै निच र छाडा बोलिरहेका छन् ? प्रश्न जटिल भएर आएको छ । यसले हाम्रो समाज कता तिर मोडिन थालेको छ । मुलुकको शिक्षा मन्त्रीले बोलेका यी बोलिहरु सुनेर दिक्षित विद्यार्थीले कसरी शिक्षा आर्जन गरिरहेका छन् । जटिल प्रश्नहरुलाई अब हामीले केलाउन जरुरी छ । कसैले यसको शाब्दिक अर्थ खोतल्ने हो भने सार्वजनिक स्थलमा सार्वजनिक पदमा आसिन माननीयको व्यक्तीगत उचाई त मापन भई जान्छ । तर यस्तो घटिया उचाई भएका व्यक्ति मन्त्री भएको देशको नागरिक हुँ भन्दा नमज्जा आउने नै भयो । अब के यता हामीले नसोच्ने र ? अब हामीले सोच्ने बेला आएको छ । कसैको दौराको फेरो समाउदै ठुलै ठाउँमा पुगेका अल्पज्ञानीहरुको विरुद्धमा बोल्नै पर्ने भएको छ ।
यसमा एउटा दुखद पक्षपनि सँगै छ । जसले यसको कुनै अर्थ र मर्म बुझ्दैनन् । सुनेर मजाले तालि मारिरहेका नै छन् । उनिहरुले गरेको सामाजिक उदण्डता अश्लिलताको कसैले विरोधको ब उच्चारण गर्दैन । कारण एउटै हो उनिहरु त्यहि पार्टीका हुन या तिनैको दायामायामा बाँचीरहेका छन् । यसले समाजलाई विश्रृखलित बनाउदै छ । सोचमा हामी न्याउरो हुन थालेका छौँ ।
देशको मन्त्रीले आमाहरुलाई गालि गरिरहँदा नारी दिवस तथा महिलाहरुको विशेष कार्यक्रमहरुमा उनै मन्त्री ज्युलाई अथिति राख्न समेत पछि पर्दैनन् । तर भावमा बुझेर ल्याउने हो भने यो आम नारी माथी भएको अपमान होईन र ?
यी हरफहरु सामान्य अर्थमा लिनु हुन्न भन्ने किन जोड गरिएको हो भने नेपालले १११ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाई रहेको छ । यसले नारी अधिकार खोज्ने दिवसका रुपमा समेत लिइने भएकाले समयको सान्र्दभिकता खोजिएको छ । यस्तो बेला नारी अर्थात महिला विरुद्ध हुने सबै खाले हिँसाको बारेमा बहसहरु भईहरका छन् । तर नेतृत्व तहबाटै सार्वजनिक हिसाबले आउने यस्ता अपमान युक्त आवाजहरुको किन विरोध नगर्ने ?
महिला अर्थात नारीलाई अपमान गर्ने विभिन्न किसिमका शब्दवाली प्रयोगमा बन्देज गरिनु पर्ने, बोलचालमा प्रयोग गरिने अमार्यदित उखानहरु रोक्नु पर्ने, कसैले कसैलाई होच्याएर बोलिने शब्दहरु प्रयोग गर्न नहुने कानुनी व्यवस्था भएको मुलुकमा यी शब्द प्रयोग सुहाँदिलो छ र ? एकजना नेताले आफ्नो दौरावाला ‘बा’ को बचाउमा सबै महिलाहरुको अपमान गरि बोल्न मिल्दैन । यस्तालाई समय चिन्न नसक्ने हामी नै उस्तो त भईरहेका छैनौँ । बेलैमा विचार गरौँ ।
एकसय एघारौँ विश्व अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्पुर्ण आमा, दिदि बहिनिहरुमा हार्दिक शुभकामना !