घुम्न जाउँ है तिनजुरे, मिल्के र सभापोखरी


आँखाले भ्याउँने क्षितिजसम्म रंगीन देखिने गरी फुलेका लालिगुराँसका थरी–थरीका फूल । त्यही फूलले लाली भरेको संखुवासभाको तीनजुरे, मिल्के यतिखेर सिंगारिएको बेहुली झै छ ।
कतै सेतो, कतै रातो, कतै लाली र कतै सिम्रिक रंङ्गको गुराँसका फूलले त्यहाँ पुग्नेहरुलाई नलोभ्याएको सायदै होला । लालिगुराँसको राजधानीको परिचय पाएको तीनजुरे, मिल्केले यही समय हो, आफ्नो लाली फेर्ने ।


सरकारले भ्रमण वर्ष २०२० का लागि घोषणा गरेको १०० गन्तब्यमध्येको एक तीनजुरे, मिल्के र सभापोखरी अहिले पर्यटककै पर्खाइमा छ । यद्यपि, आवश्यक प्रचार नपुग्दा तीनजुरे मिल्केमा अझै पर्याप्त पर्यटक पुग्न सकेका छैनन् । स्थानीय स्तरबाटसमेत मिल्के तीनजुरेमा पर्यटन प्रवद्र्धनका लागि पर्याप्त प्रयास हुन सकेको छैन ।


तीनजुरे, मिल्के विश्वका सबै प्रजातिका लालिगराँस पाइने ठाउँ हो । फागुन, चैतमा फुल्ने लालिगुराँसले यहीबेला तीनजुरे मिल्केका हरेक थुम्का र पाखालाई प्राकृतिक सुन्दरताले निखारिएको बेहुली झैं सिंगारेको छ । तीनजुरे, मिल्के विश्वकै अग्ला हिमश्रृंङ्खलाको अवलोकन गर्न सकिने गन्तब्य पनि हो, जहाँबाट सगरमाथा, लोत्से, कंचनजंगा, मकालु जस्ता हिमालको अवलोकन गर्न सकिन्छ । यही रुट भएर धार्मिक पर्यटकीय स्थल सभापोखरी पनि पुग्न सकिन्छ ।

तिनजुरे, मिल्के र सभापोखरी सिमाना जोडिएका पर्यटकीय गन्तब्य हुन् । सभापोखरीमा जनै पूर्णिमाको दिन मेला लाग्ने गर्दछ । मेला भर्न भोजपुर, मोरङ, धनकुटालगायत आधा दर्जनभन्दा बढि जिल्लाबाट स्थानीय पुग्ने गर्छन् । सभापोखरीको दर्शन गरे चिताएको पुग्ने धार्मिक विश्वास गरिन्छ ।


संखुवासभाका पर्यटन व्यवसायी एवं ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का पूर्वकेन्द्रीय सदस्य बाबुराम गुरुङ मिल्के, तीनजुरे र सभापोखरी धार्मिक र कृषि पर्यटनको दृष्टिकोणले पनि महत्वपूर्ण गन्तब्य रहेको बताउनुहुन्छ ।
सभापोखरीमा लाग्ने मेलामा चिताएको कुरा पूरा हुन्छ भन्ने विश्वासले धेरै जिल्लाका स्थानीयहरु पुग्ने गरेका छन् । यही कुरालाई अझ धेरै प्रचार गर्न सकिएको अवस्थामा मात्रै पनि धार्मिक पर्यटक भित्राउन सकिन्छ’, उहाँ भन्नुहुन्छ, ‘त्यसकासाथै यो क्षेत्रमा पाइने मार्सी धान, हिमाली भेडा च्याङ्ग्रादेखि रुद्धाक्षको व्यवसायको दृष्टिकोणबाट पनि यो क्षेत्र धार्मिकसँगै कृषि पर्यटनको दृष्टिकोणले पनि महत्वपूर्ण गन्तब्य बन्ने सम्भावना छ ।’
संखुवासभा जिल्लाको मध्यपूर्वी भेगमा पर्ने तिनजुरे, मिल्केमा प्रचारप्रसारकै अभावले पर्यटकको संख्यामा बृद्धि हुन नसकेको संखुवासभाका अर्का पर्यटन व्यवसायी एवं टानका वरिष्ठ उपाध्यक्ष नविन त्रिताल बताउनुहुन्छ । ‘तीनजुरे, मिल्के र सभापोखरी पर्यटकीय दृष्टिकोणले निक्कै ठूलो सम्भावना बोकेको गन्तब्य हो । त्यहा छिटपुट विदेशी पर्यटक पनि पुगिनै रहेका हुन्छन्’, त्रिताल भन्नुहुन्छ, ‘यद्यपि, यसको प्रचारप्रसार अझै सोचेको जस्तो हुन सकेको छैन । त्यसका लागि पर्यटन व्यवसायीहरु आफैले पनि गन्तब्य बेच्न मेहनत गर्न आवश्यक छ ।’

एकदेखि तीन सातासम्मको ‘ट्रिप’
पदयात्रामार्फत तिनजुरे, मिल्के र सभापोखरी घुम्न चाहनेलेका लागि काठमाडौंदेखि एकसाताको ट्रिप बन्ने छ । (यसलाई आवश्यकताअनुसार तीन सातासम्मको ट्रिप बनाउँन पनि सकिने छ । काठमाडौंबाट विराटनगर वा तुम्लिङटारसम्म हावाई यात्रा वा सडक मार्गबाट पुग्न सकिन्छ । तुम्लिङटारबाट जादाँ बसन्तपुर, चौकी, तिनजुरे, गुफापोखरी, दोबाटे (मिल्के डाँडा), जल्जला पोखरी, सभा पोखरी हुँदै मांसिमा र चिचिलाबाट सिधैं ४५ मिनेटमा तुम्लिङटार पुगेर काठमाडौं फर्कन सकिन्छ । पदयात्रामा भेटिने गाउँहरुमा राई, लिम्बु, क्षेत्री ब्राम्हन, दलित, शेर्पा, तामाङ लगायत समुदायको बासोबार रहेको छ ।

स्थानीय खानपान र बसाइसंगै तिनजुरे मिल्के डाँडामा पुगेर भरपूर आनन्द, मनोरञ्जन, हिमाली दृश्यावलोकन गर्नुको साथै गुराँसको राजधानीको अवलोकन गर्न सकिने छ ।
मांसिमाको बसाई अग्र्यानिक हुनेछ । गुरुङ जातिको बाहुल्यता रहेको मांसिमामा तामाङ, राई, दलित लगायतको बसोबास रहेको छ । मांसिमा साँच्चै विविधताले भरिपूर्ण गाउँ हो ।
मांसिमाले पछिल्लो समय धेरै रुचाएको मार्सि धानको चामलको भातले स्वागत गर्ने छ । साथै स्थानीय कोदोको ढिंडो, स्थानीय खोलाको असला माछा, लोकल कुखुरा र भेंडाको मासुको स्वाद विशेष हुनेछ ।
गुरुङ समुदायको बाहुल्यता रहेको अर्काे गाउँ चिचिलाले पनि अग्र्यानिक खानेकुराले भब्य स्वागत गर्ने छ । चिचिलाको बासपछि भोलिपल्ट तुम्लिङटार भएर हवाई यात्राबाट काठमाडौं सजिलै पुग्न सकिन्छ । चिचिलाबाट तुम्लिङटार सडक यात्राबाट पनि ४५ मिनेटमै पुग्न सकिन्छ ।
पदमार्गमार्फत सभापोखरी भएर बा¥हबीसे हुँदै धुपु खाँदबारीबाट पनि तुम्लिटार पुग्न सकिन्छ । यो पदमार्ग कृषि पर्यटनका लागि उच्च संभावित क्षेत्र हो । उक्त पदमार्ग भएर यात्रा गर्दा बहुमुल्य रुद्राक्ष उत्पादन क्षेत्र हुँदै यात्रा अघि बढ्छ । सभाखोलामा खानाको साथमा लाइभ फिसिङ गरेर स्थानीय माछाको स्वाद लिनुको आनन्द नै बेग्लै हुन्छ । यो क्षेत्रमा विभिन्न जातका रुद्राक्ष पाइन्छ ।
पदमार्गहुँदै सभापोखरी, मांसिमा भएर मांगमाया, बाग्सिता, देवीतर हुँदै वा सिधै बा¥हबीसे धुपु खाँदबारी भएर पनि तुम्लिङटार पुग्न सकिन्छ । यो पदमार्ग कृषि पर्यटनका लागि उच्च संभावित क्षेत्र हो ।
यो रुटमा चिचिलाले पर्यटकलाई अझ बढी आकर्षित गर्ने छ । प्रदेश १ कै नमुनाको रुपमा निर्माण सुरु गरिएको मकालु हिरक पार्क, संस्कृतिक पहिचान झल्कने गरी निर्माण गर्न लागिएको राष्ट्रिय स्तरको संग्रहालय, अलैंची, चिया, र अम्लिसो फार्म चिचिला पदमार्गसंगै जोडिएका छन् । मांसिमाले जस्तै चिचिलाले पनि पर्यटकलाई अग्र्यानिक खानापानले स्वागत गर्ने छ । चिचिलामै बास बसेको अवस्थामा जीप वा बसबाट ४५ मिनेटमै तुम्लिङटार बिमानस्थलमार्फत काठमाडौं फर्कन सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार