दिक्तेल ।
ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रवद्र्धन गर्न सकेमा खोटाङ जिल्लाको तीन वटै विमान स्थल नियमित चलाउन सकिने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताउनु भएको छ । प्रेस सेन्टर नेपाल खोटाङले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले खोटाङ जिल्लामात्र नभई सिँगो नेपालको आर्थिक समृद्धि पर्यटनसँग जोडिएको बताउनु भएको हो ।
खोटाङ जिल्लामा पर्यटन प्रवद्र्धन गर्नका लागि प्रशस्त आधारहरु रहेको भन्दै त्रिधार्मिक स्थल हलेसीको राम्ररी प्रचार गर्न जिल्लामा रहेको पुरानो विमानस्थल लामीडाँडा विमान स्थलमा उडान भर्न सकिने बताउनु भयो । पत्रकार सम्मेलनकै क्रममा खोटाङ जिल्लाका पूर्व सांसद तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय अनुशासन आयोगका अध्यक्ष टंक राईले लामीडाँडाको विमान स्थल चलाउन सकिने विस्वास व्यक्त गर्नु भयो । उहाँले लामीडाँडाको विमान स्थल चलाउन लामीडाँडा देखि विजुले भञ्ज्याङ सम्म बाटोमात्र कालापत्रे हुने हो भने हप्ताको दुुईवटा उडान लामीडाँडा गराउन सकिने बताउनुु भयो ।
खोटाङ जिल्लाको सोल्मा स्पोर्टस् क्लबद्धारा जारी अण्डर २३ वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको समापन कार्यक्रमका लागि खोटाङ आउनु भएको मन्त्रि किरातीले पत्रकार सम्मेलनमा गठबन्धनका बारेमा केही टिप्पणीहरु गर्नु भएको छ । उहाँले वर्तमान गठबन्धन कायम रहने कि ? नरहने राष्ट्रिय बहसको विषय बनिरहेको भन्दै गठबन्धन टिकाउन गम्भिर समिक्षा हुनुु पर्ने बताउनु भयो । ‘गठबन्धन गर्दा खास उदेश्यका साथ दलहरु मिलेको भएपनि यसको क्रियान्वयनको पाटोमा केही कमीकमजोरीहरु रहेकाछन् यसको गम्भिर समिक्षा हुनु जरुरी छ ।’ मन्त्रि किरातीले भन्नु भयो ।
वर्तमान सरकारको प्रमुख दायीत्व भ्रष्टाचार नियन्त्रण गर्नु रहेको भन्दै उहाँले अहिलेपनि केही खराब र भ्रष्टहरुले सरकारको कामको बारेमा गलत अफवाह फैलाउने काममा लागेको बताउनु भयो । ‘वर्तमान सरकार भ्रष्टाचार र बेथितिको विरुद्ध निर्ममता पूर्वक भिडिरहेको छ ।’ उहाँले मुलुकमा देखिएको राजनैतिक अस्थिरताको अन्त राष्ट्रिय सहमतीको सरकारको निर्माण गरेर मात्र संभव रहेको भन्दै यसका लागि सबैले पहल लिन जरुरी रहेको बताउनु भयो ।