खोटाङ जिल्लाको दिक्तेल बजारमा नेपालमा पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन शुरु भएको छ । तीनदिन सम्म चल्ने बाँस सम्मेलनको उद्घाटन वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले माटिकोरे कबर्डहलमा बाँसबाट बनेको यलम्बर बाजा बजाएर उदघाटन गरेका छन् ।
सरकारी तवरबाट हालसम्म बाँस प्रयोगमा नीतिगत व्यवस्था नभएकाले आवश्यक नीति निर्माण गर्न दवाव सिर्जना गर्ने उद्देश्यले सम्मेलन शुरु गरिएको आयोजक सँस्थाहरुले जनाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र ग्रिन ब्याम्बो क्रियसन ललितपुरको आयोजनामा शुरु भएको सम्मेलनमा विभिन्न विषयका कार्यपत्रहरु प्रस्तुत् हुने छन् ।
उदघाटन सत्रमा बोल्नुहुँदै मन्त्री ठकुरीले आगामी आर्थिक वर्षदेखि कोशी प्रदेश र खोटाङलाई केन्द्रीत गरेर बाँससँग सम्बन्धित राष्ट्रिय नीति, निर्माण गरिने र आफ्नो मन्त्रालयमा बाँसजन्य फर्निचरका सामाग्रीहरु प्रयोग गर्ने बताएका छन् । ‘नीतिगत समस्याहरु छन् । यसलाई राज्यको तर्फबाट निराकरण गर्न पहल शुरु गरिनेछ ।’ मन्त्रि शाहीले भने, ‘अब हामी मन्त्रालयबाट यसको प्रकृया अगाडि बढाउने छौँ ।’
‘जहाँ बाँस त्यहाँ जीबन, जहाँ जीबन त्यहाँ बास’ नारासहित शनिबारसम्म चल्ने सम्मेलनमा बाँससँग सम्बन्धित नीति, निर्माण, खेति विस्तार, उद्यम विकास, वजारीकरण लगायतका विषयमा समानान्तर रुपमा ९ सत्रमा ४४ जना विशिष्ट व्यक्तित्वबाट २३ वटा कार्यपत्र प्रस्तुत हुनेछ । सम्पूर्ण कार्यपत्रको निचोडसहित खोटाङ घोषणापत्र जारी गरेर बाँस सम्मेलन समापन गरिने मुख्य आयोजक सँस्था दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जानकारी दिएका छन् ।
स्थानीय कबर्डहलभित्र बाँससँग सम्बन्धित कार्यपत्र प्रस्तुत हुने र नजिकै रहेको माटिकोरे खेलमैदानमा बाँसजन्य उत्पादनहरु लगायतका विभिन्न स्टलहरु राखिएको छ । आयोजकका अनुसार जिल्ला बाहिरका २८ वटा र जिल्लाभित्रका २३ वटा स्टलहरु रहेका छन् । स्टल राख्न बाँसकै खम्बा र चित्रा प्रयोग गरिएको छ । स्टल नजिकै बाँसकै लिङगे पीङ निर्माण गरिएको छ । भने हराउँदै गएको रोटेपिङ समेत खेल्न पाईने छ ।
कार्यक्रमस्थलभन्दा अगाडी मुख्य मुख्य चोकमा बाँसको गेट, कार्यक्रमस्थलमा बाँसकै पोडिएम, बाँसको मान्द्रोको ब्यानर, बाँसकै मन्च, बाँसबाट बनेका कुर्सी, आराम कुर्सी, आकर्षक फर्निचर सामाग्रीहरु राखिएको छ। सम्मेलनभर जिल्ला बाहिरबाट बाँसजन्य क्षेत्रमा काम गरिरहेका ३०० जना भन्दा बढि विज्ञहरुको उपस्थिति रहको छ ।
सम्मेलन उद्घाटन अघि दिक्तेलबजारमा प्रभातफेरी निकालिएको थियो । बाँस सम्मेलनका लागि नगरपालिकाले पाँच लाख र बाँसका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुले ४२ लाख बराबरको जिन्सी सामाग्रीहरु सहयोग गर्नेछन् । नगरपालिकाभित्र विभिन्न १३ किसिमका बाँसहरु पाईने गरेका छन् ।