चलचित्र ‘बालापन’को १० प्रतिशत रकम समाजसेवामा


किकोस
असोज २३, मंगलबार । सामाजिक, पारिवारीक तथा मायाप्रेममा आधारित चलचित्र ‘बालापन’को प्रिमिएर शो बाट संकलित रकमको १० प्रतिशत समाजसेवामा समर्पित गरिएको छ । सम्पूर्ण प्रिमियर शोबाट संकलन भएको कूल बजेटको १० प्रतिशत रकम संयुक्त अपाङग एकता आवाज केन्द्र काठमाण्डौ तथा देशभरीका असाहय, अनाथ बालबालिका र ज्येष्ठ नागरिकको सहयोगमा खर्च गरिने भएको हो ।

चलचित्र बालापनको निर्माता हट मिलन राईले खोटाङको सदरमुकाम दिक्तेलमा एक पत्रकार सम्मेलन गर्दै उक्त घोषणा गर्नु भएको छ । खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्मा घर भई हाल चलचित्र क्षेत्रमा प्रवेश गर्नु भएको राईले यस अगाडि पनि निरन्तर समाजसेवामा तल्लिन रहनु भएको छ ।

खोटाङको माटोले आफुलाई जन्माएको प्रति गर्व गर्दै उहाँले आफुले निर्माण गरेको चलचित्रको काठमाडौँमा उद्घाटन प्रिमियर शो पछि तत्काल गृह जिल्ला लिएर आएको बताउनु भयो । दिक्तेल बजारको समिक्षालय भवनमा असोज २८ र २९ गते गरिने प्रिमियर शो को तयारीको अन्तिम चरणमा पुगेको खोटाङ फुटबल संघका जिल्ला अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिनु भयो ।

चलचित्रमा निर्माता राईसहित धिरेन शाक्य, सबिन श्रेष्ठ, प्रियंका कार्की, सुनिल थापा, राजकुमार थापा, सोनी बिसी, तिल बहादुर कार्कीको अभिनय छ । यस्तै, खोटाङका प्रकाश राई, कमल चाम्लिङ, जुद्ध राई, सुरेन्द्र चाम्लिङ, शिव आरजी, आङछिरी शेर्पा, डेनी शेर्पा र निलमु शेर्पाको पनि अभिनय रहेको छ । चलचित्रलाई काठमाण्डौ, दुबई र खोटाङमा छायाङकन गरिएको छ ।

चलचित्रको पहिलो प्रिमियर शो असोज १३ गते चलचित्र बिकास बोर्ड काठमाण्डौमा गरिएको थियो । चलचित्रको प्रिमियर शोका लागि पाँच सय र हजार रुपैयाँ टिकट दर तोकिएको छ । यस पश्चात लगातर चलचित्रलाई अमेरिका, क्यानाडा, हङकङ, मकाउ लगायतका देशहरुमा प्रिमियर शोका लागी लगिते छ । करिब डेढ करोड लगानीमा एक वर्ष लगाएर चलचित्र निर्माण गरिएको निर्माता राईले जानकारी दिनु भयो । चलचित्र २ घण्टा लामो छ ।

दिक्तेलको प्रिमियर शोमा नायक धिरेन शाक्य आउँनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार