भिम राई
खोटाङ । वैदेशिक रोजगारमा खोटाङबाट मात्र दश महिनामा ८ हजार ३ सय ४० जना बाहिरएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकलाई आधारमान्दा यस आर्थिक बर्षको कातिक महिनामा सबै भन्दा बढि १ हजार ३० जनाले श्रम स्विकृत लिएका छन् ।
आर्थिक बर्ष २०७९÷०८० को साउन महिनादेखि बैसाख सम्मको तथ्यांकको आधारमा जिल्लाबाट सबै भन्दा कम वैसाख महिनामा ६ सय ६९ जना बाहिरिएका छन् । नेपाल सरकारको श्रम तथा रोजगार मन्त्रालयको वैदेशिक रोजगार विभागको तथ्यांकले गएको साउन महिनामा ७ सय ६३ जना बाहिरिएको देखाउँछ ।
यस्तै भदौ महिनामा ९ सय ५३ जना, असोज महिनामा ७ सय ४७ जना, कातिकमा सबै भन्दा बढी १ हजार ३० जना, मंसिर महिनामा ९ सय ३८ जना, पुसमा ९ सय ३ जना, माघ महिनामा ८ सय १२ जना, फागुन महिनामा ७ सय ६३ जना, चैत्र महिनामा ७ सय ६१ जना र वैसाखमा ६ सय ६९ जनाले श्रम स्विकृत लिएको तथा पुनः स्वीकृत लिएको बताईएको छ ।
यी माथीको तथ्यांकलाई हेर्दा खोटाङ जिल्लाको कुल जनसंख्या मध्ये उर्जाशिल युवाहरु बाहिरिने क्रमको कस्तो छ भन्ने छर्लङ्ग बनाउँछ । अहिले गाउँ रितो छ भन्नेहरुलाई यो तथ्यांकले अझ भरसिलो हुनेगरी प्रमाणित गरेको छ ।
अहिले मुुलुकमा तीन तहको सरकार संचालनमा भएपनि रोजगारमुखी कार्यक्रम नल्याउँदाको पिडा यी युवाहरुले झेल्न नसकेर नै वैदेशिक रोजगारलाई अपनाउनुपर्ने बाध्यता रहेको तथ्य हामिले छिपाउनु पर्दैन । संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले धमाधम नीति तथा कार्यक्रमहरु सार्वजनिक गरिरहँदा रोजगारको विषय अटाएका त छन् नै तर परिणाम त्यस्तो देखिएन ।
खोटाङ जिल्लाको जम्मा जनसंख्या राष्ट्रिय जनगणना २०७८ अनुसार १ लाख ७५ हजार २ सय ९८ जना रहेको छ । यस मध्ये वैदेशिक रोजगारका लागि योग्य नभईसकेका बालबालिका उमेरका हदले जान नमिल्ने उमेर समुहको व्यक्ति तथा असायह, अपाङग, गृहणी सबै छुटाउने हो भने कुल जनसंख्या २५ प्रतिशत युवाहरु रहेका छन् । राष्ट्रिय जनगणनाको तथ्यांकको अधारमा खोटाङ जिल्लाको कुल जनसंख्याको २५ प्रतिशत भन्नाले ४३ हजार ८ सय २५ जना युवा छन् । यसको अर्थ खोटाङ जिल्लाभरीका युवाहरु भनेको करिब ४५ हजार युवाहरु हुन ।
यसमा पनि श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभागबाट आधिकारीक श्रम स्विकृत लिएर विदेशिने बाहेक जिल्ला बाहिर अध्ययनका लागि जानेको संख्या उतिकै छ । अझ अरुकुनै उपायका साथ विदेश जानेको पनि संख्या उल्लेख्य नै रहेको छ । यसरी सरासर हेर्दा खोटाङमा करिब १० हजार भन्दा बढी युवा नै नभएको देखिन्छ ।
यस्तो अवस्थामा अब गाउँमा रहने भनेको बुढाबुढी, असाहय, अशक्त, वृद्धावृद्ध र गृहणीहरु बाहेक कोही भेटिदैनन् । प्रत्येक गाउँमा भेटिने भनेको बुढाबुुढी आमाबुवा भन्दा कोही छैनन् । यस्तो बेला सामाजिक तथा सांस्कृतिक कार्यहरु गर्दा निकै अफ्ठयारो हुन थालेको छ ।
अब उप्रान्त हाम्रा सरकारहरुले यो आँकडा वा तथ्यहरुलाई टेकेर योजना नबनाउने हो भने अझै गाउँ रितो हुने निश्चित छ । मर्दा मलामी र बाँच्दा जन्तीको नपाउने अवस्था आउन सक्छ । विशेषत हाम्रा स्थानीय सरकारले रोजगारीको अवसरको सिर्जना गर्न सकिने किसिमका दिर्घकालिन योजना निर्माण नगर्ने हो भने निकै ठुलो चुनौती समाना गर्न तयार रहनुपर्दछ ।