दिक्तेल, २८ फागुन । षडयन्त्र पूर्वक प्रदेश न १ को नाम ‘कोशी प्रदेश’ राखेको बिरोधमा पहिचानपक्षधरहरुले प्रदेशभर घोषणा भएको आम हड्ताल खोटाङ जिल्लामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । पहिचानसहितको प्रदेश नामाकरण गर्न माग गर्दै प्रदेश पुनः नामाकरण संघर्ष समितिले घोषणा गरेको आन्दोलनको क्रममा खोटाङ जिल्लामा शान्तिपूर्ण रहेको आन्दोलनरत पक्षले बताएको हो ।
प्रदेश नामाकरणको बारेमा सरोकारवाला पक्षहरुले बिभिन्न चरणमा शान्तिपूर्ण आन्दोलन र संघर्ष गर्दै आएको भएपनि केही समय अगाडि मुख्यमन्त्री र सभामुखले षडयन्त्रपूर्वक पहिचानबिहीन नाम राखेको भन्दै संघर्ष समितिले चरणवद्ध आन्दोलनको घोषणा गरेको हो । दिक्तेल बजारमा बिहान साँडे ३ बजे देखि सक्रिय रहेका आन्दोलनकारीले सडक ठप्प पारेका छन् ।
यस्तै जिल्ला सदरमुकाम दिक्तेलकाे अलवा जयराम घाट, च्यासिमटार, हलेसि तुवाचुङ, नुनथला माहुरे लगायतका स्थानमा आर्क निर्माण गरेकाे संघर्ष समितिले जनाएकाे छ। सदरमुकाममा मात्र ३ वटा आर्कहरु थिए । सबै आर्कहरुमा आन्दाेलन शान्तिपूर्ण रहेकाे आयाेजकले जनाएकाे छ ।
अत्यावश्यक सेवाका सवारी साधन बाहेक मोटर साईकल सम्म सडकमा बन्द भएका छन् । औषधी पसल बाहेका सम्पूणर््ा पसलहरु पूर्णरुपमा बन्द भएका छन् । दिनभरी ठप्प भएको सवारी साधन, पसल एवम होटलहरु बेलुकी ४.०० बजेबाट भने खुला गरिएको खोटाङ जिल्ला प्रदेश पुनः नामाकरण संघर्ष समितिले जनाएको छ ।
दिनभरीको बन्दपछि कोणसभा गर्दै आन्दोलनकारीहरुले आगामि चैत्र ५ गते विराटनगरमा हुन लागेको वृहत जनसभाको जानकारी तथा सहभागिताकालागि अनुरोध समेत गरेका छन् । उनिहरुले चैत्र ५ गतेको वृहत जनसभा पछि थप आन्दोलनको कार्यक्रम अगाडि बढ्न सक्ने समेत बताएका छन् ।
बन्दकर्ता प्रदेश पुनः नामाकरण संघर्ष समितिले दिनभरी आन्दोलनलाई सहयोग र समर्थन गर्नुहुने यातायात व्यवसायी, होटल व्यवसायी, बैँक तथा वित्तिय संस्था एवं सम्पुर्ण जन समुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ । यस्तै आगामी आन्दोलनहरुमा समेत सक्रिय सहभागिताको लागि अपिल समेत गरेको छ ।
आन्दोलनको समापन अघि कोणसभा गरेर यस्तो अपिल गरिएको हो । कोणसभामा किरात राई यायोक्खाका केन्द्रिय उपाध्याक्ष राकेश राई तथा खोटाङ जिल्ला चाम्लिङ राई खाम्बातिमका अध्यक्ष ध्यानबहादुर राईले सम्बोधन गर्नु भएको थियो ।
आमहड्तालमा नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङ तथा यस्मा आवद्ध विभिन्न संस्थाहरु, किरात राई यायोक्खा र यसमा आवद्ध सम्पुर्ण भातृ तथा भगिनि संस्थाहरु, जनता समाजवादी पार्टी नेपालमा आवद्ध नेता कार्यकर्ताहरु तथा पहिचान पक्षधर नागरिक समाज तथा खोटाङवासीहरुको सक्रिय सहभागिता रहेको थियो ।