बाँस सम्मेलनले जन्माएको आस


भिम राई
दिक्तेल बजारमा बाँस सम्मेलनको रौनकता फागुन १५ गते देखि १७ गते सम्म देखियो । बाँसको बारेमा कार्यपत्र देखि बासकै बारेमा कविता सम्म सुन्न पाईयो । बाँसबाट बनेका सामग्रीहरु हेर्न त कति हो कति ? बाँस मान्छे देखि बाँस भान्छे सम्म देखिएको ऐतिहासिक प्रथम राष्ट्रिय बाँस सम्मेलनमा करिब पाँचसय बढी मानिसहरु तीनदिन सम्म दिक्तेल बजारमा घुमि रहे ।
जिल्ला बाहिरबाट आएका करिब तीन सय बौद्धिक व्यक्तित्वहरु, सरकारी तथा गैर सरकारी कार्यालयहरुबाट आएका पाहुनाहरु, मन्त्री तथा नेताहरु सबै जसो बाँस सम्मेलनका लागि भनेर आएका थिए । उनिहरुले केही सन्देश लिएर वा दिएर गएका छन् । आउँदा चासो र जिज्ञासा लिएर आएकाहरु फर्किदा उर्जा लिएर फर्किए ।
बाँस सम्मेलनको पेरीफेरीमा दिक्तेल बजारको माटीकोरे क्षेत्र गुन्जायमान थियो । खेल मैदानमा विभिन्न किसिमका स्टलहरु, स्थानीय कबर्डहलमा विभिन्न कार्यपत्रमाथी छलफल, दिक्तेल बोर्डिङ स्कुलको आगनमा खानाको मेस, बोर्डिङकै सभाहलमा बाँस सम्बन्धि प्रस्तुतीहरु, बोर्डिङ स्कुलकै अर्को हलमा कविता सुन्ने सुनाउने कार्यक्रम रहेको थियो ।
तीनदिन सम्म चलेको बाँस सम्मेलनमा खास गरेर जिल्ला भित्रका जुन उमेर समुहको उपस्थिति आशा गरिएको थियो उनिहरुको उपस्थिति भने न्युन नै रहेको थियो । १५ गते विहान गरिएको प्रभात फेरीमा ल्याईएका विद्यार्थीहरु बाहेक जालपा माध्यामिक विद्यालय जालपा, ज्योति माध्यामिक विद्यालय जालपा, जनजागृती मावि सोल्मा र सुर्केडाँडा प्रावि बाम्राङका विद्यार्थीहरुले आफ्नै गुरु गुरुआमाहरु सँग बाँस सम्मेलनको अवलोकन गरे । अन्य विद्यालयले विद्यार्थी ल्याउने झन्झट गरेनन् क्यार । विद्यार्थीहरु ऐच्छिक हिसाबले रमाईलो गर्न आए । तर शिक्षकहरुले नेतृत्व गरेर ल्याएनन् ।
स्टलहरुमा रैथाने सामग्रीहरु, बाँसको हस्तकला, बाँस बनेका दैनिक प्रयोग गर्न सकिने सामग्रीहरु, स्थानीयले बनाएको किबिको जुस, कोदोको सरुवा, नेवारी ऐला, फालिएका प्लास्टिकका सामग्रीहरु आदी थुप्रै प्रकारका स्टलहरु हेर्न र देख्न पाइएको थियो । बाँसको लिङ्गे पिङ, रोटे पिङ आदी आकर्षणको पाटा बनेको सम्मेलनमा रैथाने कलाकारहरुको सांगीतिक प्रस्तुतीहरु रहेका थिए ।
यी त भए देखिएका र भएका कुराहरु । यस बाहेक नदेखिएका धेरै कुराहरु पनि भएका छन् । अहिलेलाई भन्दा पछिलाई हुने फाइदाहरु भएका छन् । बाँसका सामग्री उत्पादन र प्रयोग गर्न सरकारी नीति नभइरहेको यो बेला सरकार वा सत्तालाई एउटा राम्रो दवाब सिर्जना भएको छ । विषयगत मन्त्रीहरुलाई यसले सरकारी नीति निर्माण गर्न बाटो खुलेको छ । स्थानीय नागरिकहरुलाई बाँसको प्रयोगबाट पनि निकै राम्रो काम गर्न सकिने रहेछ भन्ने शिक्षा मिलेको छ ।
३५ बुँदे घोषणापत्रसहित प्रथम राष्ट्रिय बाँस सम्मेलन सम्पन्न हुँदै गर्दा बाँसजन्य वस्तुको उत्पादन, प्रवर्धन, आयआर्जन लगायतका विभिन्न विषयमा काम गर्ने गरी घोषणापत्र जारी गरेको छ ।
्बाँस खेती प्रवर्धन र दिगो व्यवस्थापन गर्न बजारको माग अनुसार विविध प्रजातिका बाँसहरुको व्यावसायिक खेती प्रवर्धन गर्ने, बाँसका बिरुवाको उत्पादन तथा खेती विस्तार गर्ने, नदी किनार, बाँझो भूमि र सामुदायिक वनहरूमा गैरकृषि भूमिमा बाँस रोपणलाई प्रवर्धन गर्ने, बाँस खेतीसम्बन्धी अध्ययन, अध्यापन, अनुसन्धान तथा ज्ञान आदान–प्रदानलाई प्रोत्साहन गर्ने, स्थानीय मौलिक कला, संस्कृति तथा परम्परागत ज्ञानको संरक्षण गर्दै पुस्तान्तरण गर्ने उल्लेख छ ।
बाँस उद्योग तथा बजार विकास सदृढीकरणका लागि बाँसमा आधारित उद्योगमा दक्षता र उत्पादन गुणस्तर सुधार गर्न रणनीतिक व्यावसायिक नमुना विकास गर्ने, आधुनिक प्रविधियुक्त तथा नवीनतम उत्पादनलाई प्रवर्धन गर्ने, बाँस उत्पादनको विविधीकरण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्ने, बाँस उद्योगका लागि अनुकूल नीति निर्माण, लगानीको अवसर तथा प्रोत्साहनका लागि पहल गर्ने उल्लेख छ । त्यस्तै, बाँस किसान, उत्पादक, निर्माणकर्ता तथा उपभोक्ताबीच सञ्जाल मजबुत बनाउने, बाँसमा आधारित हरित पूर्वाधार आदिमा प्रोत्साहन गर्दै यसका लागि आवश्यक मापदण्ड तथा मार्गदर्शन तयार गर्न नेपाल सरकारलाई पहल गर्ने, बाँस उद्यमबाट निस्कने अवशेष वस्तुहरूलाई कृषि, वातावरण संरक्षण, लत्ताकपडा तथा सौन्दर्य प्रशाधन उद्योगमा उपयोग गर्ने घोषणापत्रमा लेखिएको छ ।
यी घोषणा गर्दै गर्दा अब बाँसबाट समृद्धि शुरु भईजाला त भन्ने जिज्ञासाहरु बढेका छन् । मुख्य विषय सिप प्रर्वद्धन र पुस्तान्तरणको हो । यसमा सबैले चासो बढाएका छन् । तर सरकारी निकाय र तीनवटै तहका सत्ताले यसलाई गम्भिरता पूर्वक लिएमा यो सम्भव छ । बाँस सम्मेलन ऐतिहासिक बनेको कुरामा कुनै दुईमत नहोला तर बाँस सम्मेलनका आयोजक संस्थाहरुको संयोजक तथा पूर्वमन्त्री गणेश शाहले भने जस्तै यो कोशेढुँगा चाँही सावित होला कि नहोला हेर्न बाँकी नै छ । सकरात्मक सोँचौ । ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ को नारा सफल पारौँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार