माघ, १९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफुलाई भन्न बाँकी, लेख्न बाँकी र सोध्न बाँकी केही भएमा गरिहाल्न भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । उनले अहिले चौतर्फी आईरहेको विभिन्न किसिमका आलोचना तर्फ इंगित गर्दै आज सम्म चुपै लागेर बसेकोपनि बताएका हुन् ,
लामीछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताउँदै अब भने महाभारतको एकपात्र अभिमन्यु जस्तो नभएकाले आजदेखि आफुलेपनि मुख खोल्ने बताएका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो ।’
लामीछानेले अमेरिकी नागरिकता त्यागेको भएपनि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार उनको सांसद पद तथा उप–प्रधानमन्त्री पद समेत हुन नपाउने फैसला गरेको थियो । उनले आइतबार पुनः नागरिकता लिने प्रक्रिया पूरा गरिसकेका छन् ।
त्यसपछि रास्वपाले गृह मन्त्रालयमै दाबी गरिरहेको छ । सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि गृह मन्त्रालय रास्वपालाई नै दिनुपर्ने बताएका छन् । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने तत्काल गृह मन्त्रालय रास्वपालाई नदिने पक्षमा छन् । रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।