चारदिन अगाडिको कुरा हो ।
म :– बोबो अहिले कस्तो छ तँपाईलाई ?
बोबो :–आ.. बाबु अहिले त ठिकै छु । हिजो अस्तिको दिन चाँही अलि जीउ गलेको जस्तो भएर दुख्यो । कोदोको खोले माईलि छोरीले पकाएर दियो । त्यसपछि त अलिक तंग्रिए पो ।
म :– ए.. बोबो अनि अरु के के खाउँ लाग्छ तँपाईलाई बोबो ?
बोबो :– आ.. बाबु केही खानु मन छैना । ई सुति रहनु मन पर्छ । यसपालि साईलि छोरी र कान्छि छोरीको बिहे सकेर आएपछि त साँच्चै ढुक्क जस्तो पनि भाको पो छु त । साँच्चै राम्रो भो । ताँपाईपनि आउनु भएर झन सजिलो भयो ।
म :– अँ त, अब त राम्रो भो नि बहिनि जुवाईहरुलाई पछिलाई भार ट¥यो । उनिहरु पनि अब खुशी भए नि त ।
बोबो :– त्यही त बाबु ! ताँपाईको छिमाले पनि त्यति गर्न पाएन गईगयो । मलाई त भारा लाग्छ होला भनेर गरुङ भनेको भाई छोराले पनि लु ना त भनेन् । मनकुमार भतिजले ठुलो आँट दियो विचरा !
…………..
यस्तै यस्तै संवाद चलेको थियो गएको माघ ३ गते बिहान । मेरो आफ्नै जेठान अर्थात देवकुमार राईको घरमा । साईनोले मेरो काका (बोबो) ऐसेलुखर्क २ बाकाचोल हुमे बस्ने कृष्णबहादु राई । काकाको छोरी साईलि सविना र कान्छि जयाको गएको मंसिरमा मात्र बिवाह सकिएको थियो । त्यो बिहेमा म आफैपनि हप्ता दिन जति समय लिएर बसेको थिँए ।
झट्ट हेर्दा सबैलाई लाग्ने एउटा विषय आफ्नो जेठानको सालीहरुको विहेमा यतिलामो किन बस्नु पर्ने भन्ने स्वभाविक लाग्न सक्दछ । बिहेमा बस्नु पर्नेपनि कारण छन् र यो संस्मरण लेख्नुपनि एउटा कारणनै छ । यसका पछाडि कथाहरु छन् ।
कुनै समय हामी काकाको ठुलि छोरी (उमेर र साईनोले दिदि) सीतासँग हामी एउटै स्कुलमा एउटै कक्षामा पढ्थ्यौँ । हामीले कक्षा ६ देखी एसएलसी सम्म सँगै पढेका थियौँ । मेरो घरमा एकजना दिदि २०४८ सालतिर काठमाडौँ गएपछि घरमा छोरी चेलिको अभाव रहने नै भयो । त्यसबेला गएकी दिदि काठमाडौँमा गएर उतै गलैँचा बुन्ने काम गर्दा गर्दै उतै बिहे गर्नु भयो । ( ०४८ देखि एकैचोटी २०७१÷०७२ सालमा एकचोटी फिर्नु भएको छ । त्यसपछि फेरी आउनु सक्नु भएन ।) यसबिचमा म चेलिको अभावमा रहँदै गर्दा कहिले दाजुभाईको तिहार मनाउन जान्थे कहिले खालि हातपनि बर्षहरु बितेका छन् । पछि म विद्यार्थी राजनीतिमा सक्रिय भएँ । यसबिचमा कति तिहारहरु कति घरभन्दा बाहिरै बिताएको छु ।
समय बित्दै जाँदा म विद्यार्थी राजनीति छाडेर पत्रकारितामा छिरेको थिएँ । त्यसबेला द्धन्द्ध चर्किरहेको थियो । आफु राष्ट्रिय समाचार समितिको जिल्ला संवाददातको रुपमा संघर्षरत थिँए । विद्यार्थी संगठनहरुमा आन्दोलन रापहरु बढिरहेको थियो । यही आन्दोलनको रापतापमा साईलि बहिनि सानैमा आन्दोलनमा समाहित हुन तयार भएर साथीहरुसँग हिँडिन् । यसपछि काकी (छिमा) लाई पर्नु पिर प¥यो । उहाँले खोज्दै गएर रुँदै कराउँदै फर्काउनु भयो । त्यो बेला सम्म साईलि बहिनिको नाम निर्मला थियो । उनलाई आफन्तकोमा मधेस लेटाङतिर पठाईयो । केही समयपछि उनि फेरी फर्केर घर आईन । उनलाई पढाई अगाडि बढाउनु थियो तर उनि तत्कालिन शाहीसेनाको लिष्टमा थिईन् । यसपछि सिता दिदिको घर रिब्दुङ महेश्वरी स्थित शिशु माविमा उनको भर्नागर्ने व्यवस्था जेठान देवकुमार र सीता दिदिहरुबिच सल्ला भएछ । त्यहि बेलाको उनको नाम निर्मलाबाट हटाएर सविना बनाईयो ।
यतिका लामो गनथन किन ? भन्ने प्रश्न लाग्न सक्छ । सम्झनुपर्ने संस्मरणको पृष्ठभुमि यहिबाट शुरु हुन्छ । जब साईलि सविनाले एसएलसी परिक्षा दिनुपर्ने भयो । त्यसबेला शाही सेना र पुलिसको निकै ठुलो डर हुने नै भयो । जनयुद्धमा हिँडेको लिष्टमा उनको नाम उनिहरुसँग सुरक्षित थियो । म आफु राससको प्रतिनिधी भएकाले मसँग कम शंका हुने । (यद्यपी आफुले पनि सेनाको कुटाई नभेटेको भने होईन । तत्कालिन प्रमुख जिल्ला अधिकारी मोहोनकृष्ण सापकोटा नभएको भए यसरी लेख्न पाईदैन थियो होला)
यसैकारण काकिले मेरै घरमा राखेर परिक्षा दिलाउन मेरो आमाबुवासँग सल्लाहा गर्नु भएछ । म पनि परिक्षा भरी त्यतै रहने वातावरण बनाउन पर्ने भयो । त्यहिबेला बाट मैले मेरो बहिनि पाएको महशुस गरेको हुँ । यसपछिका तिहारहरु लगातार सँगै बिताईयो । हरेक बर्षको तिहारमा साईलि बहिनिको हातबाट टिका लगाउन थाँले । साईलि बहिनि नहुँदा कान्छि बहिनि आएर भएपनि मेरो त्यसबेलाको तिहार खालि भएन । पछि म काठमाडाँै पुगेँ । त्यहाँ कान्छि बहिनिले तिहार रमाईलो पारी दिईन ।
समय बित्दै जाँदा साईलि बहिनिले खोटाङको खार्मी र कान्छि बहिनिले सोलुको काँकु बिहे गरे । उनिहरुको बिहे अलिक अगाडि नै भएपनि किरात राई संस्कार अनुसार सबै वाग्दत्त सकिएको थिएन । यसैबर्षको मंसिरमा यो कार्य सक्न हामीहरुले माईतिको हैसियतले बिहे सकाएका थियौँ ।
बिहे सकिएको केही समयपछि बोबो (काका) माईलि छोरी कमलासँग दिक्तेल आउनु भयो । पहिलै देखि दग्दी ज्वरो तथा स्वासप्रस्वासमा समस्या ग्रस्त ज्यान थियो । एक्कासी माघ ४ गते बेलुकी गम्भिर विरामी पर्नु भएपछि दिक्तेल स्थित फेमली केयर अस्पतालमा उपचार गराउने क्रममा उहाँको देहान्त हुन पुग्यो । यसपछि सब स्तब्ध ।
अहिले साईलि बहिनि विराटनगरमा कान्छि बहिनि दक्षिण कोरियामा छिन् । जेठि नाना र माईलि नाना आ–आफ्नै घरमा (काका) बोबोका दुईभाई छोराहरु लक्ष्मि र रुद्र विदेशमै छन् । बुहारी सीता एकजना घर बाकाचोल र एकजना बिना काठमाडौँमा बस्छन् । यतिबेला आफ्नो काम र व्यास्तताले हामीलाई कता कता पु¥याएपनि त्यो सम्बन्ध अझै जीवित नै छ । अझै हामी बाँचेकै छौँ । यस्तो परेको बेला साथ सहयोग दिने सबै दाजुभाई इष्टमित्र सबैलाई हार्दिक आभार व्यक्त गर्दछु । हामी शोकाकुल छौँ यसबेला मान्दैन मन तर हामी सबैलाई धैर्यधारण गर्ने क्षमता प्राप्त होस् । अन्तमा फेरी पनि काका कृष्णबहादुर राई अर्थात हुमेको धामीजेठा प्रति हार्दिक श्रद्धाञ्जली !
– भिम राई