संस्मरण : सम्झनामा रहेको मेरो प्रियसाथी कमलराज !

त्यस ताका पत्रकारितामा भर्खरै लागिएको थियो । खोटाङ बसेर शुरुगरिएको पत्रकारितामा के के नपुगेको आभास हुने नै भयो । जिल्लामा पत्रकार हुँ भन्दा यो कुन तहको कर्मचारी होला भन्ने प्रश्नहरुको खप्किपनि भेटिएकै हो । खरदार कि सुब्बा हो पत्रकार भन्ने बुझाई थियो आम मानिसहरुमा । यस्तो बेला भेटिएका जिल्लाका पत्रकार तत्कालिन प्रकाश साप्ताहिकका कार्यकारी सम्पादक दिपक पाण्डेको पहलमा नजानिदो पारामा पत्रकार भएको थिएँ म ।

तत्कालिन समयमा राजनीतिक मिसन बोकेको पत्रिका प्रकाश साप्ताहिकको पछि टंक राई सम्पादक बन्नु भएको थियो । म खोटाङ जिल्लाबाट जिल्ला संवाददाताको रुपमा काम गर्थे । त्यहिबेला अनन्य मित्र पंकज राईले उक्त पत्रिकाको डिजाईन गर्ने काम गर्थे । पछि प्रकाश साप्ताहिक पछि उनै टंक राईको नेतृत्वमा खम्बुवान पत्र नामको म्योजिन मासिकरुपमा प्रकाशन शुरु भयो । यसको पनि खोटाङ सम्वादाताको रुपमा काम गर्ने अवसर प्राप्त भयो । यहि शिलसिलामा उनै पंकज राईसँग जोडिएको मेरो भेट मित्र कमल राईसँग भेट भयो । उहाँपनि खम्बुवान पत्रको डिजाईनमा हुनु हुन्थ्यो । पत्रकार पंकज र कमल भएपछि म पनि राम्रै पत्रकारितामा हेलिएको थिएँ ।

जिल्लामा बसाई भएपनि बेला बखत सम्पर्क भईरहने । त्यहि बेला जिल्लामा पत्रकारिताको भोक निकै जाग्यो । शुरुमा एउटा भित्ते पत्रिका ‘दर्पण पाक्षिक’ शुरु गरियो । खोटाङ जिल्लाबाट प्रकाशन हुने रुपाकोट साप्ताहिकको कार्यकारी सम्पादक भएर काम गरियो । रेडियोमा व्यस्त बनियो । साथीहरुसँग बेला बेला भलाकुसारी भईरहन्थ्यो ।

जब २०७० सालमा काठमाडौँ जाने निधो गरेँ । काठमाडौँ पुगेपछि फेरी उहि दोस्तहरुसँग भेटघाट र गफगाफहरु हुने नै भयो । सौर्य दैनिकको जिल्ला रिपोटरका रुपमा काम गरेको र उहि सौर्य दैनिकमा पंकज राई र कमल राई मेरो सबैभन्दा निकट थिए । काम गर्ने क्रममा सँगै दिनहरु बिताउन थालियो । सौर्य दैनिकमा निकै लामो समय काम गर्ने क्रममा थियौँ । पछि कमल जीहरुले अर्को दैनिक पत्रिका शुरु गर्नु भयो । प्रभाव दैनिक । प्रभाव दैनिक शुरु भएपछि यसको कार्यकारी सम्पादकका रुपमा कमलराज जी रहनु भयो । सम्पादक कमल श्रेष्ठ हुनुहुन्थ्यो । यसमा डेक्समा बसेर काम गर्नेगरी फेरी जोडिने अवसर प्राप्त भयो । यसपछिका सँस्मरणहरु छन् ।

पत्रकारको जीवन न हो । ‘हट वाईफ, कोल्ड राईस’ कमलजी को शब्दमा यसरी ब्याक्खा हुन्थ्यो । डेक्समा बसेर गरिने दैनिक पत्रिकाको काम बेलुकी ४.०० बजेबाट शुरु गर्नुपर्ने । रातको ११÷१२ बजेसम्म अनिवार्य फाईनल गरेपछि मात्र अफिसबाट निस्कनु पर्ने सारै गारो हुने नै भयो ।

यति मात्र होईन कमल जी अति व्यस्त हुने व्यक्ति । उहाँको कामको कुरा नगरौँ । उहाँको आफ्नै साप्ताहिक पत्रिका खास खबर निकाल्नु पर्ने । अन्य साप्ताहिकको समेत कामको जिम्मा उहाँसँग थियो । पछिल्लो समयमा उहाँको रप्तार यति धेरै थियो कि त्यो रफ्तारमा अरुले काम गर्नै गारो थियो ।

प्रभाव दैनिकको कार्यालय धुम्बराहीमा बेलुकी भेटभएपछि पहिलो काम नजिकैको होटलामा गएर चिया खाने काम हुन्थ्यो । त्यहीबाट कामको मेसो शुरु भएपछि डेक्समा बस्ने समाचारहरु हेर्ने, रिपोटरहरुले पठाएको समाचारलाई काँटछाँट गर्ने मेसोमा बसेपछि एकदमै रमाईलो वातावरण बनाउनु हुन्थ्यो कमल जी । समाचार लेख्दा लेख्दै कहिले काँही गतेबार नै बिर्सेर हैरान । यस्तो बेला ‘आज के बार हो सर ?’ भनेर सोधेमात्र पनि उहाँको रमाईलो उत्तर आउँथ्यो ‘आज विहानैबाट फलानाबार हो. नी’ अनि हाँस्थ्यौँ हामी ।

उहाँ धुम्रपान र मद्यपान केहीपनि नलिने । तर लिन भने राम्रै प्रेरित गर्ने व्यक्ति हो । चिया खानेठाउँमा चिया र चुरोटको पारखीबिच पनि हाँसी हाँसी बस्ने बानी नै परिसकेको थियो । चुरोट खानेक्रममा भेटियो भने उहाँ आफै भने नसल्काएको चुरोटलाई नाकमा अडाएर वास्नाको स्वाद लिएर मजाले रेला गर्नु हुन्थ्यो ।

काम गर्ने शिलसिलामा २०७२ सालको भूकम्पको गएको दिन अविस्मरणीय क्षण बनेको छ । दिउँसो ११ बजेतिर भूकम्प गएपछि सबैभन्दा पहिलो कल मलाई गर्दै खबर सोध्ने व्यक्ति थिए । कमल जी ! प्रभाव दैनिकको ठुलो क्यामेरा लिएर फोटो फिचरका लागि काठमाडौँ भरी कुद्ने अवसर दिने कमलजी नै हो ।

दिनभरी कुदेर बेलुकी पराकम्पको डरसहित डेक्समा बस्दा जहिले एक बोक्तल पानी राखेर भूकम्प चेक गर्ने उपाय खोज्नु भएको दुईकमलको विचमा बसेर काम गर्नुको मजा अहिले पनि ताजै छ । जहिल्यै पत्रिकाको पहिलो पेजका लागि घोत्लिनु पर्ने भएपनि उहाँ आएपछि समाचारहरुको सात करङ भाँचिने गरी सम्पादन गर्ने क्षमता उहाँमा थियो । वैदेशिक रोजगारलाई मिसन बनाएको प्रभाव दैनिकको वार्षिक उत्सवको बेलाको छुट्टै रमाईलो पनि सम्झना छ ।

काठमाडौँको बागबजारको चिया पसलमा बसेर चिया र दुनोट खाएको समयदेखि संविधान सभाले नया संविधान दिनेबेला रातभर भोलिको ताजा समाचार कुर्नुपर्ने समयको ताजा संस्मरण रहेका छन् ।

एकरातको घटना अहिलेपनि झलझली छ । बेलुकी अवेला सम्म हामी पत्रिकाको कार्यालयमा रहयौँ । खास गरेर सबै पेज सकिएपनि मुख्य समाचारको पर्खाईमा रहेको हामी कुर्दा कुर्दै रातको दुई बजे छ । रातको समय अब खाना खाने कहाँ ? समस्या भयो । तर मित्र कमलजीले हौसाउनु भयो । लु एक ठाउँ राती जतिबेला गएपनि खाना पाईने ठाउँछ जाने हो ? भोकले रनन.. हामी नाई भन्ने अवस्था छँदै थिएन । उहाँले सरासर चाबाहिल चोक नजिकै रातको होटलमा लैजानु भो । आहा त्यहाँ रातभर खाना बेच्दा रहेछन् । त्यही गएर खाना र झोल पदार्थ खाएर अफिस नै फर्केर कुर्सीमा सुतेको त्यो रात । हैट सम्झना नै त हो ।

यस्तै घटनाहरु अरुपनि छन् । सम्झनामा रहेको अर्को किस्सा पनि रहेको छ । एक बेलुकी उहाँ र म दुवैजना राती काम सकेर लखतरान भएर निस्केका थियौँ । उहाँसँग मोटरसाईकल थियो । रातको १÷२ बजेको समय हुन सक्छ निन्द्राले निकै सारो पारेको थियो । हामी दुवै उहाँको बाईकमा चढ्यौँ । रातको समय खुल्ला सडक सरर दौडिएको बाईकमा दुवै निन्द्रा नै त नभनौँ तन्द्रामा परिए छ । जानुपर्ने हामी चाबाहिल मोटर साईकल त नया बसपार्क पो पुगेछ । त्यहाँ पुगेर आकाशे पुल देखेपछि पो थाहा भो ।

यस्ता यस्ता धेरै किस्साहरु छन् । तर पछिल्लो समय मैले काठमाडौँ छाडि आएँ । त्यो सँगै साथीहरुपनि छुटे । पंकज राई पोर्चुगल पुगे । कमलराज राई प्रभाव दैनिकको सम्पादक हुनु भयो । जिल्ला फर्केसँगै नभेटिएको साथीलाई गएको मंसिरमा एक रात उहि प्रभाव दैनिकको कार्यालयमा भेट्न पुगेको थिएँ । मिठो चियासँगै गफ गरेर छुटेका हामी । त्यसको केही महिनापछि सामाजिक सञ्जालमा जे देखेँ । म कसरी विश्वास गरौँ ।

अहिले पनि मलाई विश्वास लागेको छैन । उहि काठमाडौँमा घुम्दै होला कमल सर ! भन्नुहोस त कहिले आउने माक्पाली सर ! भन्नु होला फोनमा । म्यासेन्जरमा आएर भिडियो कलमा गाउँको खबर सोध्नु होला जस्तो लाग्छ । तर यी सब भ्रम रहेछ । साँच्चै मिल्ने साथीको नाममा श्रद्धाञ्जली लेख्न अफ्ठ्यारो हुँदो रहेछ । तरपनि यो दुस्साहस गरेँ । माफ गर्नुस कमल सर ! इतिहाँसमा बाच्नु होस बाँचिरहनु होस । अलविदा !

– भिम राई, खोटाङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार