खोटाङ जिल्लामा प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको पछिल्लो नतिजा अनुसार बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको अग्रता रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय खोटाङका अनुसार प्रतिनिधीसभामा गठबन्धन दलको तर्फबाट नेकपा माओवादी केन्द्रको रामकुमार राई पासाङ ७१ मतले एमालेको विशाल भट्टराई भन्दा अगाडि रहेका छन् ।
हाल ३ हजार ११९ मतगणना गर्दा रामकुमार राईले १ हजार ४ सय ३१ र एमालेका विशाल भट्टराईले १ हजार ३६० मत प्राप्त गरेका छन् । यस्तै प्रदेश तर्फ प्रदेश (क) तर्फ बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका उम्मेदवार बीरवलकाजी राईले ४,७०६ मतगणना गर्दा एमालेका पाँचकर्ण राईलाई २६२ मतान्तरमा अग्रता हासिल गरेका छन् । बीरबलकाजी राईले १७४९ मत पाउँदा पाँचकर्ण राईले १४८७ मत पाएका छन् ।
यस्तै प्रदेश (ख) तर्फ बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भुपेन्द्र राई २४० मतले एमालेका राम दंगाल भन्दा अगाडि रहेका छन् । जम्मा २९२० मत गणना गर्दा भुपेन्द्र राईलाई १५०१ मत प्राप्त भएको छ । भने दंगाललाई १२६१ मत प्राप्त भएको छ ।