खाेटाङबाट प्रतिनिधिसभामा बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार पासाङले के गरे ?

वि.सं. २०४१ सालबाट राजनीति शुरु गर्नुभएका रामकुमार राई ‘पासाङ’ आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत खोटाङबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकार, खानेपानी, सिचाइँ तथा उर्जामन्त्री पासाङ बाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुनुभएको हो ।

वि.सं. २०६४ सालमा भएको पहिलो संविधानसभा सदस्यको निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट खोटाङ क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सभाषद बन्नुभएका पासाङ वि.सं. २०७४ सालमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रदेशसभा (ख)बाट निर्वाचित हुनुभएको थियो । खोटाङको साकेला गाउँपालिका–२ रतन्छामा वि.सं. २०२५ वैशाख–१४ गते जन्मनुभएका पासाङ वि.सं. २०४९ सालबाट भूमिगत राजनीतिमा क्रियाशील हुनुभएको थियो ।

तत्कालीन नेकपा (माले)को विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिक यात्रा शुरु गर्नुभएका पासाङ खम्बुवान राष्ट्रिय मुक्ति मोर्चामा वि.सं. २०४९ देखि ०५८ सालसम्म क्रियाशील रहनुभएको थियो । वि.सं. २०६० सालबाट खम्बुवान माओवादीसँग एकीकरण भएपछि पासाङले माओवादीमा रहेर विभिन्न जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

पार्टी भूमिगत हुँदा खोटाङ, भोजपुर, सङ्खुवासभा र उदयपुरको जिल्ला इन्चार्जसमेत सम्हाल्नुभएका पासाङले करिब ३८ वर्षको राजनीतिक अनुभव बटुली सक्नुभएको छ । भूमिगत अवस्थामा खोटाङको साप्सुखोलामा नेपाली सेनासँग भएको दोहोरो भिडन्तमा सेनाको गोली लागेर घाइतेसमेत हुनुभएका पासाङ जिल्लामा निष्ठावान तथा भ्रष्टाचारबिरोधी नेताका रुपमा चिनिनुहुन्छ ।

वि.सं. २०६२/०६३ मा सैन्य विभागको बिग्रड कमाण्डरसमेत हुनुभएका पासाङले जिल्लाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ । भर्खर ढलानको काम सकिएको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने फोक्सिङ्टारस्थित सुनकोशी नदीको निर्माणाधीन मोटरेबल पक्की पुल पासाङकै पालामा योजना परेको हो ।

दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष पासाङले १ नं. प्रदेश सरकार, खानेपानी, सिचाइँ तथा उर्जा मन्त्रालयबाट ७४ वटा नयाँ योजनाका लागि रु आठ करोड २६ लाख ९० हजार बजेट विनियोजन गर्नुभएको छ । प्रदेशबाट आएको योजनाका लागि उपभोक्ता समितिसँग सम्झौता गरेर निर्माणको काम शुरु गरिएको प्रदेश खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालय खोटाङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार