को हुन् बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार वीरबलकाजी राई ?


खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा २०२४ साल असार–२४ गते जन्मेका वीरबलकाजी राई नेपाली राजनीतिका लामो रेशको घोडा हुन् । बुबा धनशेर राई र आमा बलिशोभा राईको कान्छा छोरा वीरबलले कानूनका स्नातक तथा राजनीति शास्त्रमा एमए गरेका छन् ।

वि.सं. २०४१÷०४२ सालबाट विद्यार्थी राजनीति शुरु गरेका उनी चम्पावती माध्यामिक विद्यालय बुइपामा तत्कालीन अनेरास्ववियु एकताको पाँचौमा पहिलो पटक सङ्गठित भएका थिए । गाउँकै पञ्चकन्या प्रावि छेवा कट्टीमा प्राथामिक तहको अध्ययन गरेका राईले २०४३ सालमा चम्पावती मावि बुइपाबाट एसएलसी उत्तिर्ण गरेका थिए ।

हाल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य तथा खोटाङ जिल्ला सह–इन्चार्जको जिम्मेवारीमा रहेका राईले नेपाल ल क्याम्पस काठमाडौँबाट आईएल र बिएल उत्तिर्ण गरेपछि वकालत पेशा अङ्गालेका थिए । क्याम्पस तहमा समेत अनेरास्ववियु एकताको पाँचौँमा सङ्गठित सदस्य भएर काम गरेका राई तत्कालीन नेकपा माले र नेकपा माक्र्सवादीबीच २०४७ सालमा एकता भइ निर्माण भएको तत्कालीन नेकपा एमालेमा सङ्गठित भएर काम गर्न थालेका हुन् ।

नेकपा एमाले खोटाङ काठमाडौँ सम्पर्क मञ्चको सदस्य हुँदै सचिव र अध्यक्ष समेत रहेर काम गरेका थिए । २०५५ साल भन्दा अगाडि नै नेपाल बार एशोसियसनका केन्द्रीय कार्यकारणी परिषदको सदस्य भइसकेका राई पुरानवेदन अदालत काठमाडौँका बार सदस्य समेत भइसकेका छन् ।

खोटाङ काठमाडौँ सम्पर्क मञ्च हुँदै सगरमाथा अञ्चल सम्पर्क कमिटीको कोषाध्याक्ष हुँदै क्रमशः सचिव, उपाध्याक्ष, अध्यक्षसम्मको जिम्मेवारी कुशलतापूर्वक सम्माहालेका रार्ई यसपटक खोटाङ जिल्लाको प्रदेश (क) बाट बाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार रहेका छन् । लामो समय नेकपा एमालेको राजनीति गरेका राईले पछिल्लो समयमा एमालेको नेतृत्वको स्वेच्छाचारी प्रबृत्तिको विरुद्धमा लागे । उनकै भाषामा भन्ने हो भने ‘एमालेले सिद्धान्त, विचार तथा दृष्टिकोण सबै तिलाञ्जली दिइ सक्यो ।’
विशेष सम्पर्क समन्वय(74 जिल्ला भरिको)समितिका अध्यक्ष राई खास गरेर सामुहिक काम (team work) लाई मान्नु हुन्छ । हाल पनि सम्पर्क समन्वयकाे अध्यक्ष समेत रहेका राईले आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी किन ? भन्ने विषयमा समेत स्पष्ट छन् । आफ्नो उम्मेदवारी बारेमा राईले भने, ‘यस अघिका जनप्रतिनिधिहरुले गरेको राम्रो कामको निरन्तरता र खराब कामहरुको समिक्षासहित सुधार गर्न मेरो उम्मेदवारी हो ।’
आफू कानूनको विद्यार्थी भएकाले प्रदेशसभामा गएर आवश्यक कानून निर्माण गर्ने आँट आफूसँग रहेको बताउँदै राईले भने खोटाङ जिल्लाको समग्र विकासका लागि म लगायत गठबन्धनको टिमलाई नजिताइ सम्भावना छैन । चुनावको मैदान रहेका रार्ई आफ्नो निर्वाचन क्षेत्रमा गर्नुपर्ने कामको लिष्ट निकै लामो रहेको बताउँछन् ।

भौतिक पूर्वाधारको कामहरु, सामाजिक तथा आर्थिक विकासका लागि गर्नुपर्ने कामहरु उनको प्राथामिकताको कामहरु हुन् । सारा खोटाङगे जनताको सपना जस्तै आफ्नो पनि सपना रहेको बताउँदै राईले भने सबै साथ सहयोगले मात्र हाम्रो समाज रुपान्तरणको दिशामा लैजान सकिन्छ ।

‘अरु उम्मेदवारले के गर्छन् थाहा छैन । तर, म भने जनताको सेवक हुन उम्मेदवार भएको हुँ’ उनले भने ‘यसैले आगामी मङ्सिर–४ गते हुनगइरहेको निर्वाचनमा आफूलाई कलम चुनाव चिन्हमा मतदान गर्न अपिल गर्दछु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार