भिम राई
खोटाङ जिल्लाको सदरमुकाममा केही दिन अगाडि एउटा लघु चलचित्र प्रदर्शन गरियो । जिल्ला प्रहरी कार्यालय खोटाङले तयार पारेको “आत्म हत्या नगरौँ, बाचौँ र बचाऔँ” नामक लघुचलचित्र प्रदर्शन गरियो । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरिक्षक उमेश लम्सालको परिकल्पनामा निर्माण भएको लघुचलचित्रको बारेमा धेरै भन्नु पर्ने कुरै रहेन । विषय वस्तुहरु उठाईएका छन् । आत्महत्याको कारकहरु के के हुन सक्छन् ? भन्ने बिषयलाई समेट्ने प्रयास गरिएको छ । थोरै भएपनि कथालाई नमोडिएको भए अझै सुनमा सुगन्ध थपिन्थ्यो नै । भन्ने मनमा लागि रह्यो ।
शुरुमा चलचित्र निर्माणको परिकल्पना आफैमा एउटा महत्वपूर्ण छ । यद्यपी कथा र पटकथा निर्माणमा सोचे जस्तो नभएको पक्कै हो । यद्यपी चलचित्रको निर्देशन सन्जिब राईको मिहेनत निकै राम्रो छ । सिमित स्रोत र साधनका बिचमा निर्माण भएको चलचित्र हेर्न लायक नै छ । उठाईएको विषयहरु स्वभाविक जस्तै छन् । मुलभूत रुपमा चारवटा विषयलाई केन्द्रित गरिएको कथाहरुमा प्रहरीको भुमिकालाई प्रधान बनाईएको छ ।
शुरुमा पारिवारीक कारण आत्महत्या हुने कुरालाई चलचित्रले जोड दिएको छ । एउटा परिवारमा कुलतका कारण कसरी परिवारका सदस्यहरु माथी हिँसा हुन्छ र यसको परिणाम स्वरुप पिडितले कसरी आत्महत्यता गर्ने सम्मको अवस्थामा पुग्छन् । भन्ने देखाउन खोजिएका छन् । अर्को किशोर अवस्थामा कुलतमा लाग्दाको परिणामले पु¥याउने असरलाई देखाउने प्रयास गरिएको छ । विद्यालय तथा कलेजमा पुगेपछि किशोर अवस्थामा खराब कर्ममा लाग्नाले हुने समस्या देखाईएका छन् । यस्तै अर्को विषय वृद्ध वृद्धाका लागि छोरा छोरीले बेवास्ता हुने समस्या देखाईएको छ भने अर्को वैदेशिक रोजगारमा जाने यूवाहरुको परिवारमा आईपर्ने सामाजिक समस्याका रुपमा पारिवारिक विखण्डनको पिडालाई उठाईएको छ ।
यी सबै कथाहरु आफै एउटा पुरक विषय भएपनि एउटै डालोमा राखेर चलचित्र निर्माण गर्दा विषयहरु छरपस्टिए जस्तो दर्शकलाई लाग्न सक्दछ । सबैको केन्द्रमा प्रहरीको सक्रियता रहन्छ । प्रहरीले काउन्सिलिङ गरेर सबैलाई सचेत गराउन सक्दछ भन्ने चलचित्रको निष्कर्श दिन खोजिएका छन् ।
चलचित्रको खास भाष्य यति नै हो । तर यो लघुचलचित्र हेरिसकेपछि भने मनमा धेरै कुराहरु आउन सक्दछन् । शिर्षक नै “आत्म हत्या नगरौँ, बाचौँ र बचाऔँ” भन्ने भएपछि प्रश्नहरु अलिबढी नै हुन्छ । चलचित्रमा देखाईएका आत्महत्याको प्रतिनिधी कारण यी पनि हुँदै हुन । यस बाहेकका पनि कारण अवको समाजले खोज्नु पर्दछ की ? भन्नेतीर दर्शकहरुले सोच्नु पर्दछ ।
चलचित्र प्रदर्शन गर्ने कार्यक्रमको शुरुवातमै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक उमेश लम्सालले आत्महत्याको आंकडा र कारणहरु बताईरहँदा मनमा एउटा जटिल प्रश्न उठे । आखिर किन गर्छन मानिसले आत्महत्या ? अझै तथ्यांकहरुमा हेर्दा झनै जटिल प्रश्नहरु उठेका छन् ।
प्रस्तुत् तथ्यांकमा सबै भन्दा बढी गरिब परिवारका मानिसहरु आत्महत्या गर्छन् । यसमा दलित तथा जनजातीहरु धेरै पर्छन । जस्ता तथ्यांक सुनिरहँदा यसको कारण यी माथी चलचित्रमा देखिएका कारणमात्र होईन रहेछ भन्ने लाग्दछ । यसको प्रमुख कारण समाज नै हो भन्नुपर्ने अवस्थामा पुगिन्छ ।
गरिब कोही रहरले भएका हुँदैनन् । दलित जनजातीपनि रहरले भएका होईन । यो समाजको उत्पादन हो । अझै यो भन्दा अगाडि मानवअधिकार आयोगले संचालन गरेको एउटा अन्तरकृया कार्यक्रममा सुनाईएको तथ्यांकमा बढी जसो आत्महत्या गर्नेमा महिला अगाडि भन्ने पनि सुनिएको थियो । यी सबै प्रवृत्ति हेर्दा समाजको पनि केही न केही भूमिका छ भन्ने प्रष्ट छ ।
कसैलाई आत्महत्या सम्म गर्न बाध्य बनाउने विषयहरुको खोजि गर्न नसक्नु हाम्रो प्रमुख दोष हो । आफ्नो प्राण त्याग्न कसैलाईपनि सजिलो हुँदैन उसलाई बाध्य बनाउने विषयहरु हुन्छन् । ती विषयहरुको मिहिन हिसाबले हामीले अध्ययन गरेका छैनौँ । कारणहरु पत्ता लगाउन कोशिस गरिरहेका छैनौँ । प्रहरीले नै यो विषयलाई उठाएपछि अब सामाजिक अभियान्ताहरुले पनि यो विषयको गहन अध्ययन गर्न जरुरी छ ।
फलानाले आत्महत्या गरेछ । भन्ने खबर सुनेर उसलाई धिक्कार गर्ने चलन छ । मर्नेहरुलाई उल्टै गालि गर्ने हाम्रो समाजले मृत्युको कारण खोज्न थालेको छैन । हामी आत्महत्या न्युनिकरणको कुरा गरिरहेका छौँ । तर कारण खोजि गरेका छैनौँ । मर्ने त मरि गए बाँच्नेहरुलाई के शास्ती दिने भन्ने हाम्रो उदार मन रहेकाले पनि हामी आत्महत्याको कारण खोजि रहेका हुँदैनौ । तर समस्या आउनै नदिन त कारण अवश्य खोज्नै पर्छ । यसकालागी हामीले हाम्रो समाजलाई पढ्नै पर्छ ।
एउटा समाजमा बाँचेको मान्छे त्यही समाजले गरेको अपहेलना, छुवाछुत्, तिरस्कार तथा खिसिट्युरीका कारण पनि आत्महत्याको बाटोमा गएका कतिपय उदाहरणहरु देखिएका छन् । यसलाई हाम्रै समाजले तोड्नु पर्छ । विकल्पमा चलचित्रमा देखाए जस्तै काउन्सिलिङ कक्षाहरु त छदैँछ । प्रत्येक स्थानीय सरकारले अबको दिनमा मनोपरामर्शदाताहरुको व्यवस्था गर्नु पर्दछ । कानुनी आधारहरु भएमा दुरुत्साहन गराउनेलाई कारबाहीको भागिदार बनाउनै पर्छ ।
आत्महत्या आफैले आफुलाई सिध्याउने कार्य हो । यसमा कसैले हत्या गरेको भन्ने ठहर नहोला तर कानुनले आत्महत्या दुरुत्साहन व्यवस्थापनि गरेको छ । यसका बारेमा पनि हरठाउँमा प्रशिक्षित गर्दै लैजानु पर्दछ । त्यस्तै जिल्ला प्रहरी कार्यालय शुरु गरेको यस्तै अभियान सरकारको जिम्मेवार निकायले पनि दुरदराजमा रहेको घरपरिवार सम्म पु¥याएर सचेतनाको कार्यक्रम संचालन गर्न सकेमा यो समस्याको न्युनिकरण हुनसक्दछ । सबैले यी विषयमा अव बहस तथा अभियान संचालन गर्न ढिला नगरौँ ।