यसो गरे कसो होला ?

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बनाएका केही संरचनाहरु छन् । जुन अघिल्लो स्थानीय सरकारले निर्माण गरेको संरचना हो । यसका बारेमा केही समाचारहरु अघि नै मिडियाहरुले कभरेज पनि गरिसकेका छन् । पेन टावर देखि आँखा पोखरी सम्मको संरचनाका बारेमा लेख्नु लेखेका छन् भन्नु भनेका छन् । तर यसलाई सुधार गर्नतर्फ वर्तमान प्रतिनिधीहरुले कति चासो देखाएका छन् भन्ने बारेमा केही आएको छैन । राज्यको लगानी बालुवामा पानी जस्तै बनेको छ । नगरले गरेको खर्चबाट आम सर्वसाधरणले के पाए ? प्रश्न उठाउन शुरु गर्ने बेला भएको छ ।

शुरुमा कुरा गरौँ नुनथला माहुरेको आँखा पोखरीको । आँखा पोखरी बनेपछि दुुइचार महिना बाहेक पोखरीमा पानी छैन । पोखरीको संरचना छ तर सुक्काराम । जुन सरकारको पालमा बनेपनि यो नगरको सम्पति बनिसक्यो । अब त्यहाँ पानी भर्ने तर्फ सोचौँ । पोखरीको लागि आकाशे पानीको आशा नगरौँ । यसो गरे कसो होला ?

अर्को पेन टावर र रुरु तालको कुरा । पेन टावरमा खर्च समय अनुकुुल नभएकै हो । यो आलोचनाको विषय पनि बन्यो । कुरा काट्न सकिन्छ । गलत गरे त्यसबेलाको जनप्रतिनिधीले यो पनि भनौँला । तर अब के त्यो संरचना त्यसै लडाईदिने हो । भत्काईदिने हो त ? त्यसो त बुद्धिमानी हुँदैन । यसको पनि व्यवस्थापनमा लागौँ । टावरलाई केही सुधार गरौँ र यसमा चढ्ने घुम्ने मानिसहरुलाई निश्चित शुुल्क तोकौँ । रुरु तालमा नियमित पानी श्रोत खोजौँ र ताललाई हेर्न लायक बनाउँ । बोटिङको व्यवस्था गरौँ । यसबाट पनि निश्चित रकम टिकटकालागि तोकौँ यसबाट पनि नगरमा निश्चित राजश्व जम्मा हुुनेछ । यसो गरे कसो होला ?

अर्को नगरकै पहलमा बनेको रत्नपार्क स्थीत चिल्ड्रेन पार्कको कुरा । राज्यको निकै ठुलो लगानीमा बनेको यो भवन र पार्कमा अहिले केही व्यापारीहरुको स्टलहरु छन् । यो निकै राम्रो कुरा हो । यसबाट भाडा वापत उठेको रकम पनि नगरको आम्दानीको श्रोत हो । यसबाट कति रकम नगरको खातामा वा राजश्वमा जम्मा भयो हिसाब त आउला नै यसको बारेमा पनि सार्वजनिक सुुनुवाई पनि होला । तर बाँकी बालबालिकाहरुलाई खुल्ला गर्ने कहिले ? सोचौँ । ती माथिका हलहरु खालि बसिरहेका छन् । संरक्षणको अभावले भत्किन थालेका छन् । यसलाई मर्मत गर्नु पनि त पर्छ नै । अझ यो बालमन्दिरको नाममा भएको जमिन हो । यसमा बनेको संरचनामा बालबालिकालै कसरी रमाउन सक्ने बनाउने थप योजना बनाउँ । बाँकी रह्यो खाली भएको हलहरु किन भाडामा गएन ? सोचौँ । विकल्पहरु होलान ? सरकारी कार्यालयहरुलाई भाडामा दिएपनि उपयुक्त नै हुँदा हुन् । अझै नजिकै किरात चोकमा नेपाल प्रहरीको विट व्यक्तिको घरमा बसिरहेको छ । प्रकृयामा गएर त्यहिठाउँमा नेपाल प्रहरीलाई भाडामा दिए केही हुुन्थ्यो पो की ? यस्तै नगर प्रहरीको व्यवस्था भएपछि यहि ठाउँमा कार्यालय व्यवस्थापन गर्न पाएपनि हुँदा हुुन । यसो गरे कसो होला ?

नगरपालिकाले स्थानीबय समुदायको श्रमदान सहित हाटडाँडा मझुवा डाँडा सम्म फूूलै फूूलको पहाड बनाने कार्यक्रम ल्याएको छ । यसमा पनि नगरकै लगानी हुने पक्का छ । साँच्चै फूूलै फूूलको पहाड बनेपछि त्यहाँ घुम्न जाने पर्यटकहरुबाट केही आम्दानी लिन सकिन्थ्यो की ? केही कम शुुल्क लिएर नगरको आम्दानी बढाउन सकिएला । यसो गरे कसो होला ?

यस्तै बन्दै गरेका धेरै संरचनाहरु छन् । जहाँ मानिसहरु खुशी साथ पैसा तिर्न या भेटि चढाउन मन्जुर हुने छन् । यसका बारेमा बहसपनि गरौँ र कामपनि गरौँ । जुन नगरपालिकाको मुुख्य आम्दानी हुने ठाउँहरु छन् । यसलाई सदुुपयोग गर्ने तर्फ सोच्न ढिला नगरौँ । यसो गरे कसो होला ?
– भिम राई

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार