स्थापना भएको ८० बर्षपछि बल्ल कक्षा – १० को पढाई शुरु, भर्याङ मुनी हुन्छ पढाई

खोटेहाङ । खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिकामा ८० बर्ष अगाडि स्थापना भएको विद्यालयमा भर्खरै कक्षा– १० संचालनमा आएको छ । खोटेहाङ गाउँपालिकाको वडा नम्बर ४ वडका दियालेमा १९९२ साल भदौ २ गते स्थापना भएको तत्कालिन भाषा पाठशालामा यसै शैक्षिक सत्रबाट मात्र माध्यामिक तहको कक्षा – १० को पढाई शुरु भएको हो ।

तत्कालिन जहाँनीय राणाकालिन प्रधानमन्त्री श्री ३ जुद्ध शमसेर राणा प्रधानमन्त्री हुँदा नेपालमा संस्कृत भाषा पढाउनका लागि खोटाङमा भाषा पाठशालाहरु खोलिएका हुन् । हालको खोटाङ जिल्ला भित्र पर्ने दुुइवटा पाठशालाहरु वडकादियालेमा १९९२ सालको भदौ महिना २ गते र खार्पामा मंसिर २ गते क्रमश स्थापना भएको भनाई सुनेको भाषा माध्यामिक विद्यालय वडकाका व्यवस्थापन समितिका अध्यक्ष प्रदिप आचार्यले बताए ।

उनले तत्कालिन समयमा आर्थिक रुपमा सम्पन्न र ब्राम्हाण परिवारलाई संस्कृत भाषा पढाउन स्कुल खुलेको हुन सक्ने बताएका छन् । ‘गरिब परिवारमा जन्मेका हाम्रो आफ्नै छिमेकी हजुरबालाई समेत स्कुल कहिले खोलियो थाहा छैन ।’ उनले भने, ‘खासमा यहाँ सम्पन्न परिवारका छोराछोरीमात्र पढाईथ्यो रहेछ । विचरा हजुरबा १९७५ सालमा जन्मेपनि उनले थाहै पाएनन् ।’

उसो त विद्यालय स्थापनाकालको कुनैपनि कागजात अहिले सुरक्षित छैन । विद्यालयका संस्थापक को को हुन ? स्पष्ट विवरण अहिले भेटिन्न । विद्यालयका प्रधानध्यापक राजु खड्का अनुसार यहाँको पाठशाला ओझा र तिमल्सिना पुर्खाहरुले चलाएका हुन् । पछिल्लो समय तत्कालिन गुरु को थिए ? भन्ने सम्म जानकारी नभएको समयमा डा. बाबुराम तिमिल्सिनाले यसका केही अभिलेख आफुसँग भएको जानकारी दिएको खड्का र आचार्यको भनाई छ ।

विद्यालयमा रहेको केही अभिलेख अनुसार भने तत्कालिन समयका स्थानीय पदमप्रसाद तिमिल्सेना (कविराज), आदीभक्त ओझा, गणेश प्रसाद ओझा, उमाकान्त तिमिल्सेना, लोकनाथ तिमिल्सेना लगायतले पहल लिएको उल्लेख छ । केही समय अगाडि खोटाङ बजार स्थित पोख्रेलपाटीबाट वडका शिवालयमन्दिरमा साररिएको भनिएको पाठशालाको इतिहाँस समेत असपस्ट नै रहेको छ ।

कक्षा १० सम्म पढाई शुरु भएको विद्यालयमा हाल १ सय ६९ जना विद्यार्थी अध्ययनरत रहेका छन् । दुुइवटा पक्कि र ३ वटा कच्चि भवन रहेको विद्यालयमा अहिले कक्षा कोठाको अभाव रहेको छ । कक्षा कोठाको अभावमा विद्यार्थीहरु भ¥यांङ मुनि तथा पुस्ताकलय राखिएकै ठाउँमा पढ्न बाध्य छन् ।

खानेपानीको चरम अभाव रहेको उक्त विद्यालयभएको ठाउँमा रातारात पानी जम्मा गर्ने र विद्यार्थीलाई खुवाउने गरिएको प्रधानाध्यापक खड्काले बताए । उनले प्रत्येक कक्षा कोठमा खानेपानीको धारा बनाईएको र विद्यालय आफ्नै खानेपानी रिजर्भ ट्यांक र हिलटेकहरुको व्यवस्ता समेत गरिएको जानकारी दिए ।

विद्यालयको सुधारका स्थानीय अभिभावक प्रदिप आचार्य निरन्तर तेस्रो चोटीको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेको विद्यालयमा ११ जना शिक्षक र एक कर्मचारी गरि १२ जनाको दरबन्दि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार