खोटाङ/ गणतन्त्रको स्थापना पछि पहिलो पटक भएको स्थानीय तहको निर्वाचन २०७४ मा खोटाङ जिल्लाको अधिकांश वडाहरुमा युवाहरुले वडाअध्यक्ष जिते । उनिहरुले उर्जाशिल समाज बनाउन पाँचबर्ष लगातार जनतको सेवामा लागे । विकास निर्माणको काममात्र नभई स्थानीय तहको संरचनागत निति नियम निर्माण र योजना तर्जुमा सम्म गर्न भ्याए । पाँचबर्ष पछि फेरी २०७९ मा दोस्रो पटक स्थानीय तहको निर्वाचनमा फेरी केही युवाहरु दोहोरिए केही भने दोहोरिएनन् । नदोहोरिएका युवाहरुले भने राजनीतिसँगै आफ्नै लयमा फर्किएर व्यवसाय शुरु गरेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पुरानो वडाअध्यक्षका रुपमा चारजना बाहेक दोहोरिएनन् । नदोहोरिएका युवाहरुले आफ्नै लय समातेर व्यवसायलाई निरन्तरता दिन थालेका छन् । उनिहरुले राजनीतिलाई निरन्तरता दिनकै लागि व्यवसाय शुरु गरेको बताउँछन् । नगरपालिकाको वडा नम्बर ५ का वडाअध्यक्ष भएका निर्मल राई होटल व्यवसायमा लागेका छन् । दिक्तेल बजारको शिरमा रहेको मुडेडाँडामा लेकवेसी हो स्टेको नामको होटल निर्मल राई र पञ्चुशेर राईले चलाई रहेका छन् ।
यस्तै वडा नम्बर १३ का भिम राईले आफ्नो पुरानै लय समातेर मासु पसल संचालनमा ल्याएका छन् । दिक्तेल बजारमा अन्तरेको मासु पसल खोलेका उनि आफैमा दाजुभाई मध्येको अव दुर्लभ भईसकको अन्तर हुन् । यस्तै २०७९ को निर्वाचनमा उम्मेदवार नै नभएका वडा अध्यक्ष हुन् वडा नम्बर १२ का विकास राई । उनि अहिले राजनीतिसँगै समाजसेवामा फर्किएका छन् ।
२०७९ को निर्वाचनमा उम्मेदवार भएर सफलता नपाएका वडा नम्बर ११ का रामचन्द्र राई गाउँघरमै व्यस्त छन् । नेपाली कांग्रेसको राजनीतिमा रहेका उनि भर्खरै विवाह बन्धनमा बाँधीएका छन् । खोटेहाङ गाउँपालिकाको वडा नम्बर २ वाप्लुखाका तत्कालिन वडा अध्यक्ष दिपेन थुलुङ राजनीतिमा क्रियाशिल हुन पुगेका छन् । यस्तै ऐसेलुखर्क गाउँपालिकाका वडा नम्बर १ राखाका झनकुमार राई खेति किसानमा रहेका छन् । एसेलुखर्ककै वडा नम्बर ७ का फुलकमल राई पुरानै काममा फर्केका छन् ।
नेता भएपछि काम गर्नु हुँदैन भन्ने मान्यतालाई यी पूर्व वडाअध्यक्षहरुले तोडेका छन् । आफै व्यवसायी बनेर अर्थउपार्जनका साथमा समाजसेवा र राजनीतिलाई उनिहरुले अगाडि बढाउन सकिन्छ भन्ने उदाहरण बनाएका छन् । राजनीतिक दाउपेचका लागि गफ हाँकेर बस्नु भन्दा सिर्जनशिल हुनु राम्रो भएकाले व्यवसाय शुरु गरेको पुर्व वडाध्याक्ष भिम राईले सुनाए । ‘कामगर्दा कोही सानो हुँदैन, मैले पहिले पोल्टीर्फम चलाएर कुखुराको मासु बेचेकै हो । अहिले फरक सुँगुरको मासु बेच्छु’ उनले भने ।
लेकबेसी हो स्टेका संचालक निर्मल राईले भने आफ्नो रुचिको व्यवसाय नै होटल ब्यवसाय भएको बताउँछन् । ‘होटल व्यवसाय भनेको अरुको सुविधाकालागि हो । अरुलाई सेवा गर्ने अवसरपनि भएकाले म होटलतिर लागेको हो ।’ जनसम्पर्क र समाज सेवाका लागि याृे नै उपयुक्त लागेको बताउने निर्मल राजनीतिमा समेत सक्रिय रहेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै अर्का कार्यपालिका सदस्य गंगा वि.क. उनको आफ्नै पुरानो व्यवसाय कृषि पेशाको अलवा फलामको उद्योग नै खोलेर बसेका छन् । लोपहुँदै गएको फलामको सामाग्री निर्माण गर्ने आरण शुरु गरेर उनले अर्को नमुना कामको शुरुवात गरेका हुन् । परम्परागत आरणहरु हराउँदै गएको बेला उनको यो कोशिसले थप उर्जा दिएको छ ।
- भिम राइ