खोटाङ
फागुन २६, शुक्रबार । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलबाट भोजपुरको सिमाना चखेवा भञ्ज्याङ जोड्ने सडकको कालोपत्रे तथा पुल निर्माणको काममा चरम ढिलासुस्ती पाईएको छ । करिब १० किलो मिटर कालोपत्रे गर्न बाँकी रहेका भाग र विभिन्न ठाउँहरुमा भईरहेको पुल निर्माणको काम चरम रुपमा ढिलो भई रहेको हो ।
खोटाङ जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको नेतृत्वमा भएको अनुगमनका क्रममा भोजपुरको सिमासँग जोडिने भाग सेखुवा आसपासमा कालो पत्रेको काम अत्यन्तै सुस्त गतिमा अगाडि बढेको पाईएको छ । अनुगमनका क्रममा निर्माणको कामको जिम्मा लिएका मैनाचुली निर्माण सेवाका प्रतिनिधी सुरेश अधिकारीले समेत काममा केही ढिला भएको स्विकारेका छन् ।
अनुगमनका क्रममा अहिले भईरहेको कछुवागतिको कामको अलवा काममा गुणस्तर समेत नरहेको अनुगमनका क्रममा पुगेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तिर्थराज भट्टराईले जानकारी दिनु भयो । त्यहा हाल प्रयोग भईरहेको बालुवामा पुरै माटो मिसिएको पाईएको छ । यस्तै सडकलाई ग्रावेल गर्न ल्याएको सामग्री समेत काम नलाग्ने देखिएको प्रमुख आचार्यले जानकारी दिनु भयो ।
यस्तै २०७३ साल देखि शुरु भएको पंखु खोलाको पुलको पनि छेक छन्द उस्तै रहेको छ । केही थान कामदार घाम तापेर बसिरहेका यो योजनाको काम लगभग स्थगित जस्तै रहेको देखिएको छ । योजना स्थलमा एक बोरो सिमेन्ट वा एक थान डण्डि समेत नभेटिनु दुखद रहेको प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाईले बताउनु भयो । अनुगमनको क्रममा पुग्नु भएको प्रमुख जिल्ला अधिकारीले निर्माण कम्पनीका प्रतिनिधीलाई कुनैपनि बहानामा काम रोकिनु नहुने निर्देशन गर्नु भएको छ । ‘अब यो वा त्यो बहानामा काम रोकिएमा कारवाहीको दायरामा ल्याईने छ । ’ प्रमुख जिल्ला अधिकारी सेढाईले भन्नु भयो ।
यस्तै विभिन्न ठाउँमा बन्दै गरेको पुलहरुको अवस्था उस्तै रहेको छ । मेवा खोला र छेपेखोलाको पुलको काम अगाडि बढिरहेको भएपनि यसलाई अझ बढी तदारुकताका साथ काम अगाडि बढाउन आवश्यक रहेको अनुगमनमा सहभागि टोलिले आग्रह गरेको छ । केही महिना भित्रै काम सक्ने गरी लागेको यी स्थानहरुमा बर्षाद शुरुवात हुनु पुर्व काम सक्न समेत आग्रह गरिएको छ ।
अनुगमनमा जिल्ला समन्वय समिति, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रशासन कार्यलय तथा विभिन्न राजनीतिक दलका प्रतिनिधी, मध्ये पहाडि लोकमार्ग सडक आयोजनाको प्रतिनिधी तथा समाजसेवि व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।