नेपाल र नेपाली हिमाललाई माया गर्ने ओम होंङ गिलको मानवीय सहयोगको एक दशक

काठमाडौं । कोरियाका चर्चित पर्वतारोही हुनुहुन्छ, क्याप्टेन ओम होंङ गिल । उहाँले नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्न थालेको एक दशक पुगिसकेको छ । यो अवधिमा उनको नाममा स्थापित ओम होंङ गिल ह्युमन फाउन्डेसनमार्फत नेपालको विभिन्न स्थानमा १५ विद्यालयको अत्याधुनिक भवन निर्माण सम्पन्न भइसकेका छन् ।

फाउन्डेसनकै सहयोगमा ती विद्यालयहरुले अन्य सहयोग पनि प्राप्त गर्दै आइरहेका छन् । यसै वर्षदेखि फाउन्डेसनले नेपाल पर्वतारोहण संघ (एनएमए) सँगको सहकार्यमा नेपालको पर्वतारोहण क्षेत्रमा पनि काम गर्न थालिसकेको छ । यसको पहिलो प्रयास स्वरुप अन्नपूर्ण हिम शृंखलामा करोडौं रकमको लागतमा उद्दार केन्द्रको स्थापना गर्ने काम सञ्चालन भइरहेको छ ।

यी सहयोगका मुख्य अभियन्ता क्याप्टेन ओम होंङ नेपाल र हिमालसँगको आफ्नो सम्बन्धका कारण यो सेवा क्षेत्रमा निरन्तर लागि परेको बताउँनुहुन्छ । ‘सायद म अघिल्लो जन्ममा हिमाल थिए । यो जन्ममा सन् १९५० मा सगरमाथाको आरोहण सुरु गरेपछि हिमालसँगको सम्बन्ध सुरु भयो’, आफ्नो फाउन्डेसनले नेपालकामा काम सुरु गरेको एक दशक पुगेको उपलक्ष्यमा बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा क्याप्टेन ओम होंङले भन्नुभयो, ‘मैले हिमाल चढ्दा मलाई जिउँदै फर्काएर ल्याउने नेपाली दाजुभाईहरुले गर्नुभएको सहयोगका कारण नेपालमा केही गरौं भन्ने सोंच आएको हो । त्यो सोचले काम सुरु गरेको आज १० वर्ष पुगेको छ ।’

हालसम्म आठ हजारभन्दा अग्ला १६ वटा हिमालको सफल आरोहण गरिसक्नुभएका क्याप्टेटन ओम होंङले आफू यो अभियानबाट सन्तुष्ट रहेको सुनानुभयो । ‘यी कुनै पनि अभियान मैले आफ्नो नामका लागि गरेको हैन । सुरुवातमा नेपाली बालबालिकाहरुको भविश्यलाई हेरेर विद्यालयको भवन निर्माण कार्य सुरु गरेको थिए’, उहाँ भन्नुहुन्छ, ‘आज उनीहरुको कारण म आफैलाई खुसी पाउँछु ।’

फाउण्डेशनले हालसम्म सोलुखुम्बुको पाङ्बोचे र गोली, धादिङको थर्पु, रुपन्देहीको बिष्णुपुरा र बनकसिहा, कास्कीको बिरेठाँटी, धादिङको कल्लेरी, धनुषाको शान्तिपुर, म्याग्दीको अन्नपूर्ण गाउँपालिका, संखुवासभाको सेदुवा, बर्दियाको जनतानगर, ताप्लेजुङको फुरुम्बु, गोर्खाको मान्द्रे, काभ्रेको बालुवा र रोल्पाको सिम्पानीमा विद्यालय भवन निर्माण पूरा गरिसकेको छ ।

क्याप्टेन ओम होंङले नेपालमा आफ्नो यो सहयोग अभियान अझै निरन्तर रहने बताउनुभयो । ‘मैले नेपालको हिमाल आरोहण गर्दादेखि नै यस्ता धेरै घटना मसँग जोडिएका छन् । जुन दिनदेखि हिमाल चढ्न थाले त्यस बेलादेखि नै नेपाल र हिमाललाई छाड्न सकेको छैन । आज पनि म तपाइहरुको माझ मै छु’, नेपालको एउटा सहयोग अभियाका लागि एउटा हिमाल आरोहणको अभियान सम्झने ओम होंङ भन्नुहुन्छ, ‘नेपालमा सहयोगको यो अभियान अझै निरन्तर रहने छ ।’

फाउन्डेसनले नेपालमा सहयोग अभियान सुरु गरेको १० वर्ष पुगेको उपलक्षमा बुधबार काठमाडौंमा पत्रकार सम्मेलनसहित विभिन्न कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा पूर्वशिक्षा मन्त्री गंगालाल तुलाधरले नेपालमा फाउन्डेसनले गरेको कामको प्रशंसा गरेका थिए । फाउन्डेसनकी कार्यक्रम व्यबस्थापक निलम थापा गुरुङले पछिल्लो १० वर्षमा संस्थाले गरेको कामको अडियो–भिजुअल प्रस्तुती गर्नुभएको थियो । साथै, फाउन्डेसनको सहयोग प्राप्त विद्यालयका प्रतिनिधि र विद्यार्थीहरुले पनि आफ्नो अनुभव राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार