खोटाङ
माघ, ११ बुधबार । खोटाङ जिल्लाका विरामीलाई भनेर दाताहरुले दिएको एम्बुलेन्सहरु मर्मत गर्न नसक्दा समस्या भएको छ । ६ बर्ष अगाडि खोटाङ सेवा समाज युकेले जिल्लाका लागि भनेर एकसाथ दिएको ७ वटा एम्बुलेन्सहरु मध्ये ३ वटा मर्मत संभारको अभावले थन्किएका हुन् ।
खोटाङ सेवा समाज युेकले सन २०१७ मा उपलब्ध गराएको एम्बुलेन्स मध्ये ऐसेलुखर्क, लामाखु (दिक्तेल रुपाकोट मझुवागढी न.पा) र सिम्पानी (खोटेहाङ)मा रहेको एम्बुलेन्स विग्रिएर थन्किएको छ । ऐसेलुखर्कको ग्यारेजमा भएको एम्बुलेन्स मर्मत खर्च बढी लाग्ने भएकाले त्यतिकै रहेको ऐसेलुखर्क गाउँपालिका प्रमुख गिरेन राईले जानकारी दिनु भयो । करिब ५ देखि ६ लाख रुपैया मर्मतमा लाग्ने भएकाले हाल विचाराधिन अवस्था रहेको छ उहाँको भनाई रहेको छ ।
यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ९ निर्मली लामाखुका लागि उपलब्ध भएको एम्बुलेन्स ३ बर्ष अगाडि सिराहाको कञ्चनपुरमा दुर्घटनामा परेपछि उतै रहेको एम्बुलेन्स संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिलनचन्द्र राईले जानकारी दिनु भयो ।
उता खोटेहाङ गाउँपालिका ८ सिम्पानीका लागि उपलब्ध भएको एम्बुलेन्स पनि विग्रिए र बसेको करिब २ बर्ष भएको पालिका प्रमुख उदिम बहादुर राईले जानकारी दिनु भयो । मर्मत खर्चकै अभावले थन्किएर रहेको एम्बुलेन्स मर्मतको पहल भईरहेको उहाँको भनाई रहेको छ ।
जन्तेढुँगा गाउँपालिका चिसापानी, दिप्रुङ चुईचुम्मा डाडागाउँ, केपिलासगढी गाउँपालिका बाक्सिला र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बुईपामा रहेको एम्बुलेन्स भने अहिले सम्म संचालनमा रहेको छ । खोटाङ सेवा समाज युकेले दिएको ७ वटा एम्बुलेन्सको अलवा बाँकी ९ वटा एम्बुलेन्स पनि जिल्ला भित्र रहेका छन् ।
बाराहा पोखरीले गाउँपालिकाले आफ्नै पहलमा एम्बुलेन्स खरिद गरेर संचालनमा ल्याईरहेको पालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिनु भयो । भुगोल ठुलो रहेको र बाटोको स्तरन्नोती नहुँदा एउटामात्र एम्बुलेन्सले नपुग्ने उहाँले सुनाउनु भएको छ ।
यस्तै साकेला गाउँपालिका सँगपनि आफ्नै एम्बुलेन्स रहेको छ । जिल्ला सदरमुकामसँगै जोडिएका पालिकामा रहेको एम्बुलेन्स जहिल्यै दुरुस्त राख्नुपर्ने मान्यताका साथ राखिएको पालिका प्रमुख रविप्रकाश राईले जानकारी दिनु भयो ।
उता नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको तर्फबाट खोटाङ जिल्लाको ३ वटा वडाहरुलाई भनेर उपलब्ध गराएको एम्बुलेन्स भने दिक्तेल बजारको रत्नपार्क बिग्रिएर बसेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ५ लफ्याङको जिम्मामा रहेको एम्बुलेन्स विग्रिएर बसेको लफ्याङका वडा अध्यक्ष दिनेश घिमिरेले जानकारी दिनु भएको छ ।
यस्तै भारतीय वेल्फेयर सेन्टरको एम्बुलेन्स पनि बिग्रेर बसेको चालक प्रेमबहादुर राईले जानकारी दिनुभयो । सामन्य मर्मत गर्दा संचालनमा ल्याउन सकिने भएपनि हालसम्म मर्मत गर्न नसकिएको उहाँको भनाई रहेको छ ।
उता हलेसी तुवाचुङ नगरपालिकामा भने अहिले एम्बुलेन्स सेवा छैन । केही बर्ष अगाडि भारत सरकारको सहयोगमा एउटा एम्बुलेन्स उपलब्ध भएको भएपनि हाल बिग्रिएर काम नलाग्ने अवस्थामा पुगेको स्थानीय चक्र राईले जानकारी दिनु भयो । नगरपालिका भरी एम्बुलेन्स नभएकाले हालै खरिद प्रक्रिया अगाडि बढाई सकेको नगर प्रमुख बिमला राईले जानकारी दिनु भएको छ । उहाँका अनुसार २÷३ महिना भित्र एम्बुलेन्स आईसक्ने छ ।
जिल्ला सदरमुकाममै रहने गरी नेपाल रेडक्रस सोसाईटि खोटाङ शाखाको एम्बुलेन्स रहेको भएपनि उक्त एम्बुलेन्स पनि हाल बिग्रेर ग्यारेजमा रहेको छ । केही समय अगाडि काभ्रेको धुलिखेलमा दुर्घटनामा परेपछि हाल मर्मत कार्य भईरहेको रेडक्रस खोटाङका सभापति ज्ञानेन्द्र जोशीले जानकारी दिनु भयो ।
बाँकी ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, जिल्ला अस्पताल खोटाङ, जन्तेढुँगा गाउँपालिका, दिप्रङ चुईचुम्मा, बाराहा पोखरी, दिरुम नपा बुईपा, केपिलास गढी गाउँपालिका र साकेला गाउँपालिकामा हाल एम्बुलेन्स चलिरहेको सम्बन्धित पालिकाका प्रमुख तथा जिम्मेवार व्यक्तिहरुको भनाई रहेको छ ।