खोटेहाङका विद्यालयहरुमा स्मार्ट बोर्ड र घेराबार

Dipak
खोटेहाङ गाउँपालिकाले सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री र सुरक्षित बनाउन विद्यालयका लागि सूचना प्रविधि (र्आसिटि) सामग्री हस्तान्तरण गरेको छ । ‘समावेशी, स्वावलम्बी र समृद्ध’ खोटेहाङ गाउँपालिका निर्माणको अभियान अन्तर्गत पालिकाले खोटेहाङका सबै सामुदायीक विद्यालयहरुलाई प्रविधि हस्तान्तरण तथा केही विद्यालयहरुलाई विद्यालय घेराबार (कम्पाउण्ड) कार्यक्रम उपलब्ध गराएको हो ।
गाउँपालिका भित्र रहेका विद्यालयहरुलाई प्रविधि हस्तान्तरण कार्यक्रम अन्र्तगत स्मार्ट बोर्ड, प्रिन्टर, ल्यापटक तथा लेमिनेशन मेसिन उपलब्ध गराईएको छ । यस्तै पालिका भित्रका ३ वटा माध्यामिक तह र ५ वटा आधारभुत तहका विद्यालय परिसरमा घेराबार (कम्पाउण्ड) गरिएको शिक्षा शाखाले जनाएको छ ।
विद्यालयलाई सुरक्षित बनाउन घेराबार लगाउने कार्यक्रम र प्रविधिमैत्री बनाउन विभिन्न किसिमका विद्युतीय सामग्री वितरण गरेर ‘समावेशी, स्वावलम्बी र समृद्ध खोटेहाङ’ बनाउने नारालाई सार्थक बनाउने प्रयास गरिएको पालिका अध्यक्ष उदिम बहादुर राईले बताउनु भयो । पालिकाको समग्र शिक्षा प्रणालीलाई प्रविधिमैत्री बनाउने अभियानमा पालिका निरन्तर लागिपरेको भन्दै उहाँले, “अब शिक्षकहरू पाठ्यपुस्तकमा मात्र सीमित रहेर शिक्षण क्रियाकलाप सफल हुन सक्दैन । त्यसैले समयको माग अनुसार शिक्षकहरूले थप मिहिनेत गर्दै आफूलाई अपडेट गर्दै प्रविधिमैत्री सिकाइ विधि अपनाउन पूर्ण रूपमा तयार हुनुपर्छ ।’ भन्नु भएको छ ।
पालिका उपाध्याक्ष रुपेश राईले अन्य क्षेत्रमा लगानी गर्ने प्रशस्त सम्भावना हुँदाहुँदै पनि खोटेहाङको शैक्षिक विकासलाई पहिलो प्राथमिकतामा राखेका बताउनु भयो । उहाँले भननु भयो, ‘हाम्रो कार्यकालको सुरुवातदेखि नै शिक्षामा गरिएको लगानीकै निरन्तरता स्वरूप आज यो कार्यक्रम सम्पन्न भएको हो । अबको शिक्षा अनिवार्य रूपमा प्रविधिमैत्री हुनुपर्छ भन्ने हाम्रो मान्यता छ ।’
कार्यक्रममा सामाजिक विकास समिति संयोजक श्री बसन्त राईज्यूले गाउँपालिकाले शिक्षा क्षेत्रमा ठुलो बजेट लगानी गरेको बताउनु भयो । यस लगानीको सार्थक र उचित प्रतिफल प्राप्त गर्न सम्पूर्ण शिक्षक तथा प्रधानाध्यापकहरू अब थप जिम्मेवार र प्रतिबद्ध भएर लाग्नुपर्ने उहाँको भनाई रहेको छ । अवको शिक्षा प्रतिस्पर्धात्मक रहेकाले काम चलाउ गर्ने दिन गएको बताउँदै उहाँले शिक्षक, अभिभावक, विद्यार्थीहरुको इमान्दार प्रयास भएमा मात्र स्थानीय सरकारले गरेको यी प्रयत्नहरु सफल हुने बताउनु भयो ।
पालिकाले विद्यालयमा सूचना प्रविधि (आईसिटि) सामग्री वितरण तथा विद्यालय कम्पाउन्ड घेराबारा कार्यक्रमका लागि कुल बजेट रु. १,६५,००,०००÷– (एक करोड पैसट्ठी लाख) विनियोजन गरेको थियो । जस अनुसार सातवटा माध्यामिक विद्यालय १५ थान र एघारवटा आधारभुत विद्यालयलाई ११ थान गरी जम्मा २६ वटा स्मार्ट बोर्ड हस्तान्तरण गरिएको छ ।
यसैगरी दशवटा माध्यामिक विद्यालय र एघारवटा आधारभुत विद्यालयलाई प्रत्येक विद्यालयमा एक÷एकवटाका दरले २९ वटा प्रिन्टर, पाँचवटा मा.वि. र १५ वटा आ.वि.लाई एक÷एक थान ल्यापटप र पाँचवटा मा.वि. र १५ वटा आ.वि.लाई एक÷एक थान लेमिनेसन मेसिन उपलब्ध गराईएको हो ।
सामग्री हस्तान्तरण पूर्व विद्यालयका प्रधानाध्यापकहरुलाई सामाग्री प्रयोग बारे सूचना प्रविधि अधिकृत दिपक गौतम र कम्प्युटर अधिकृत सुदिप राईले प्रशिक्षण प्रदान गर्नु भएको थियो । खोटेहाङ गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रम खोटेहाङ शिक्षा शाखाको बन्दोवस्तीमा भएको हो । सुरक्षित घेराबारा र आधुनिक प्रविधिमैत्री सामग्रीहरूले विद्यार्थीहरुको सिकाइ प्रक्रियालाई थप सुरक्षित, प्रभावकारी र अन्तरक्रियात्मक बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने शिक्षा शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार