भाग्यको साथ रोहित शर्मालाई, कीर्तिमानमा पनि अघि


एजेन्सी । भारतीय क्रिकेटर रोहित शर्मा अहिले जीवनकै उत्कृष्ट फर्ममा छन् । भारतले विश्वकपको उपाधिमा दाबेदारी प्रस्तुत गर्न सक्नुमा उनको योगदान प्रमुख रहेको आँकडामा स्पष्ट देखिन्छ ।

उत्कृष्ट ब्याटिङ गरिरहेका रोहित प्रतियोगितामा सबैभन्दा भाग्यशाली ब्याटसम्यान साबित भएका छन् । ७ पटक ब्याटिङ गर्न आएका उनले ५ खेलमा जीवनदान पाएका छन् । फिल्डरको गल्तीको फाइदा उठाउँदै उनले उक्त ५ पटकमा कुल ३ सय ६९ रन जोडेका छन् ।

रोहितले यस विश्वकपको खेलिएको ७ खेलमा ४ शतक प्रहार गरिसकेका छन् । एउटै विश्वकपमा धेरै शतक प्रहार गर्ने उनी दोश्रो खेलाडी बनेका छन् । यसअघि श्रीलंकाका कुमार संगाकाराले सन् २०१५ को विश्वकपमा चारवटा शतक प्रहार गरेका थिए ।

त्यस्तै एउटै विश्वकमा ५ सय भन्दा बढि रन बनाउने कीर्तिमान बनाउने उनी दोश्रो भारतीय खेलाडी बनेका छन् । यसअघि सन् १९९६ र २००३ को विश्वकपमा भारतका महान ब्याटसम्यान सचिन तेन्दुलकरले यस्तो कीर्तिमान कायम गरेका थिए ।

यसबाहेक रोहितले सन् २०१५ को विश्वकप देखि अहिलेसम्म गरी ४ वर्षको अवधिमा १९ वटा शतक प्रहार गरेका छन् । यो अवधिमा भारतीय कप्तान विराट कोहलीले पनि त्यतिनै शतक प्रहार गरेका छन् ।

आक्रामक ब्याटिङ गरिरहेका रोहितले एकदिवसिय अन्तर्राष्ट्रियमा बढि छक्का प्रहार गर्ने कीर्तिमानमा पनि आफ्नो नाम लेखाएका छन् । गएराती भएको बंगलादेश विरुद्धको खेलमा ५ छक्का प्रहार गरेका रोहितको २ सय ७ इनिङमा २ सय ३० छक्का पुगेको छ ।

उनले महेन्द्र सिंह धोनीको २ सय ९६ खेलमा २ सय २८ छक्काको कीर्तिमान तोडका हुन् । यो सँगै रोहित एकदिवसिय अन्तर्राष्ट्रियमा सबैभन्दा बढि छक्का प्रहार गर्ने भारतीय खेलाडी बनेका छन् ।

समग्र एकदिवसिय अन्तर्राष्ट्रियमा भने यो कीर्तिमान पाकिस्तानका शाहिद अफ्रिदीको नाममा रहेको छ । उनले ३ सय ६९ इनिङमा कुल ३ सय ५१ छक्का प्रहार गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार