संघीय सरकारको बेवास्ता गरेको फोक्सिन्टार पुल बनाउन तातियो खोटेहाङ गाउँपालिका

खोटेहाङ । संघीय सरकारले खोटाङ र उदयपुर जोड्ने फोक्सिन्टार पुलका लागी आवश्यक बजेट नछुट्याएपछि खोटेहाङ गाउँपालिकाले जनस्तरबाट पुल सुचारु गर्न पहलकदमी लिएको छ । स्थानीय सरकार, नागरिक समाज तथा अन्य सरोकारवालाहरुसँग सहकार्य गरेर हिउँद बर्षा चल्नेगरी पुल संचालन गर्ने तयारी गरिएको हो ।
खोटेहाङ गाउँपालिकाको पहलमा खोटेहाङ गाउँपालिकाको सभाहलमा बसेको सर्वदलिय सर्वपक्षिय बैठकले तराईसँग सिधा जोडिने नाकामा पुल मर्मत गर्न छिमेकी पालिकाहरुसँग समन्वय समेत गर्ने निर्णय गरेको छ । भेलाले गाउँपालिका अध्यक्ष उदिम बहादुर राईको संयोजकत्वमा १५१ सदस्यीय पुल निर्माण पहल समिति गठन गरेको छ ।
पुल निर्माण पहल समितिले माथिल्लो तहको सरकारहरुसँग डेलिगेसन जाने तथा पुल पुनःनिर्माणका प्रकृयाहरु बुझ्ने छ । पुल नहुँदा खोटाङ जिल्लाका नागरिकले भोग्नु पर्ने शास्ती र पुलको आवश्यकताका विषयमा संघीय सरकारले बेवास्ता गरेमा स्थानीय सरकार पहल र नागरिकको तहबाट आर्थिक संकलन अभियान नै चलाएर रै भएपनि पुल संचालन ल्याउने तयारी रहेको संयोजक पालिका अध्यक्ष राईले जानकारी दिनु भएको छ ।
संघीय सरकारले खोटाङ्गे नागरिकहरुलाई तराईसँग विच्छेद गरेर नाकाबन्दी गर्न खोजेको भन्दै संयोजक राईले सम्पुर्ण सरोकारवालाहरुले यसका बारेमा आवश्यक पहल गर्न अनुरोध गर्नु भएको छ । ‘सरकारले बेवास्ता गर्ने हो भने सम्पुर्ण पालिकावासी जनप्रतिनिधी, कर्मचारी, शिक्षक, विभिन्न पेशा व्यावयसायीहरुबाट चन्दा संकलन गरेरै भएपनि पुल संचालनमा ल्याई छाडिनेछ ।’ उहाँले भन्नु भयो,‘सबैले एक महिनाको तलब तथा सेवा सुविधा जम्मा गर्न सकियो भने पुल कसो नबन्ला ?’
यस्तै जनताको प्रत्यक्ष सरोकारसँग जोडिएको फोक्सिन्टार पुलका बारेमा पटक पटक कुरा राखिएको भएपनि संघीय सरकाले बेवास्ता गरेर बजेट नै नराख्नु दुखद भएको गाउँपालिका उपाध्याक्ष रुपेश राईले बताउनु भयो । उहाँले नागरिकप्रति जिम्मेवार हुनुपर्ने सरकार खोटाङ्गे जनताप्रति भने उदासिन देखिएको सरकारले पक्षपात पूर्ण व्यवहार गरेको बताउनु भयो ।
‘संघीय सरकारले सक्दैन भने हामी स्थानीय सरकारको पहलमा आम नागरिकहरुसँग अपिल गरेर हाम्रो पुल आफै बनाउँछौँ ’ उहाँले भन्नु भयो ‘सबै भन्दा पहिले संघीय सरकारलाई भन्ने हो । यदि भएन भने स्थलगत अध्ययन तथा प्राविधिक सर्भेक्षण गरी कति लाग्ने हो ? छिमेकी पालिका तथा सरोकारवाला सबैसँग आर्थिक सहयोग संकलन गरेर पुल बनाइन्छ ।’
प्राविधिक मुल्यांकन नभईसकेको भएपनि करिब १५ करोडको लागत अनुमान गरिएको उपाध्याक्ष राईको भनाई रहेको छ । सबै भन्दा अगाडि लागत सर्भेक्षण निकाल्न टोलि जाने र सोही अनुसार अन्य कामको पहल लिईने उहाँले बताउनुु भयो ।
खोटाङ जिल्लालाई तराईसँग जोड्ने छिटो र सिधा मोटरबाटोका नाकाको रुपमा रहेको सुनकोशी नदिको फोक्सिन्टार पुल दुईबर्ष अगाडि आएको भिषण बाढीले भत्काएको हो । उदयपुरको रौतामाई गाउँपालिका र खोटेहाङ गाउँपालिकाबो बिचमा रहेको पुल नबन्दा खोटाङका छ वटा गाउँपालिका र दुईवटा नगरपालिकाको नागरिक मारमा परेका छन् । केपिलासगढी, ऐसेलुखर्क, रावावेसी, साकेला, दिप्रुङ चुईचुम्मा र खोटेहाङ गाउँपालिका तथा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकाका नागरिकहरुलाई गाईघाट धरान विराटनगर जस्ता तराई आवत जावत गर्न तथा उपभोग्य सामग्रीहरु आयात निर्यात गर्न समस्या भएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार