
भिम राई
खोटाङ जिल्लाको सदरमकुाम दिक्तेल पहाडि क्षेत्रको सानो शहर । कुनै बेला सदरमुकाम हुँदा गुल्जार थियो दिक्तेल । अहिले मान्छेको आवतजावतमा आएको कमिले बजार प्राय धिमागतिमा चलिरहेको छ । शहरीकरणको प्रभाव बढ्दै गएपनि व्यापारिक हिसाबले अहिले सुस्त छ ।
दिक्तेल बजार वरिपरि बच्चा पढाउन बसेका परिवारहरुमात्र नरहने हो भने दिक्तेल बजार शुन्य हुने अवस्थामा रहेको छ । अहिले मालपोत, नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउन बाहेक बाहिरका मानिसहरु कमै दिक्तेल बजार आउने गर्दछन् । सरकारी कामकाज बाहेक अन्य कुनै सुविधा लिनका लागि दिक्तेल आउने मानिसहरु प्राय हुँदैनन । दिक्तेल बजारमा दैनिक करिब चारदेखि पाँचसय मानिसहरु बजार बाहिरबाट आउने गरेको खोटाङ यातायात प्रा.लि.का काउण्टर इन्चार्ज अमिर अधिकारी बताउँछन् । अधिकारीका अनुसार ऐसेलुखर्क, बाक्सिला, खोटेहाङ, साकेला, पाथेका लगायतका ठाउँहरुबाट बस मार्फत र खार्मी, बुईपा, ऐसेलुखर्कबाट बुलेरोबाट दिक्तेल बजार आउने गरेका छन् ।
यसबाहेक दिक्तेल बजार वरिपरिका गाउँहरुबाट सानो अटो तथा भ्यानहरुमा समेत मानिसहरु आउने गरेका छन् । यस्तै नीजि सवारी साधन मोटरसाईकल प्रयोग गरेर पनि दिक्तेल आउनेहरु रहेका छन् । यद्यपी बजारमा मानिसहरुको चलखेल हेर्दा सामन्य नै रहेको छ । यसको अलवा टाढाको शहरबाट खोटाङ आउने र जाने यात्रुहरुलेपनि दिक्तेल बजारमा मानिसको अलिअलि घुलमेल बढाउने गरेको छ ।
दिक्तेल बजारको रत्नपार्क किरातचोक क्षेत्र बाहेकका स्थानहरुमा कमै नया मानिसहरु देखा पर्ने गरेका छन् । हाल सबैभन्दा बढी सुनसान देखिने बजार क्षेत्र सल्लेरीटोल आसपास रहेको छ । यस क्षेत्रमा नया मानिसहरु कमै देखिनु यातायातको पहुँच बढ्नुपनि हो भन्ने स्थानीय व्यापारीहरुको भनाई रहेको छ । किनमेल गर्नका लागि वरिपरिका बाहेक नया मान्छेहरु त्यहाँ हम्मेसी नपुग्ने स्थानीय व्यापारी सुमन श्रेष्ठले बताए । रेडिमेड फेन्सि स्टोर चलाएर बसेका श्रेष्ठका अनुसार नया ग्राहक नआएको धेरै भयो ।
यस्तै कुनै समय मानिसको व्यापक घुँइचो हुने हाटडाँडा क्षेत्र अहिले सुनसान जस्तै बनेको छ । शनिबार र बुधबार हाट लाग्ने दिनभन्दा अरु दिन खास मानिसहरुको चहलपहल कम हुने गरेको छ । होटल व्यवसाय धरासायी हुँदै गएको छ । यसक्षेत्रमा आवाशिय होटलहरु समेत खुलेका छैनन् । कँही कहीँ सामन्य चिनजानका आधारमा वास वस्ने बाहेक व्यवसायीक लजहरु यस क्षेत्रमा खुलेकै छैन । बिहान बेलुकी केही मर्निङवाकमा जाने सर्वसाधरणहरु बाहेक मानिसहरुको आउजाउ एकदमै कम रहेको हाटडाँडामा होटल व्यवसाय गर्दै आएका मनोज राईले बताए । खोटाङ जिल्लाको पाँचवटा गाउँपालिकाबाट प्रवेश गर्ने नाकाको रुपमा रहेको हाटडाँडा क्षेत्रमा सरकारी कार्यालयहरु नहुनु भएका कार्यालयहरु समेत जनसम्पर्क रहने किसिमको नहुनुले पनि यस क्षेत्रको व्यापारमा समस्या रहेको उनको बुझाई रहेको छ ।
कुनै समय बैँकचोकको रुपमा चर्चित रहेको शंखधर शाक्ख्वा चोकपनि अहिले मलिन रहेको छ । त्यस क्षेत्रबाट बैँकहरु सरेपछि अहिले त्यस क्षेत्रको व्यापारीक कारोबार पुराना ग्राहकहरुको पर्खाइमा बित्ने गरेका छन् । यो सँगै दिक्तेल बजारको मुख्य केन्द्रका रुपमा मानिदै आएको बैँकचोकको कथापनि उस्तै हुन पुगेको छ । दैनिक व्यापारका दृष्टिले सामन्य रहेको यसक्षेत्रमा रहेका केही होटल तथा लजहरुले मानिसहरुको चलखेल भएको देख्न पाईन्छ ।
यस्तै बजारको पुरनो बेसक्याम्प तथा मानवअधिकार चोक अहिले सदरमुकामको अलि बढी मानिसहरुको भेटघाट तथा कारोबार हुने क्षेत्रका रुपमा रहेको छ । सदरमुकाममा रहेको बैँकका शाखा कार्यालयहरु अहिले त्यस क्षेत्रमा केन्द्रित रहेका छन् । प्राय बैँकिङ कारोबार गर्ने मानिसहरुका कारण बेसक्याम्प क्षेत्र अलि बढि ओहोरदोहोर गरेको देख्न पाईन्छ । वित्तिय कारोबार सहित मेडिकलहरु संचालित क्षेत्र भएकालेपनि यस क्षेत्रमा मानिसहरुको अलि बढि चाप हुनु स्वभाविक देखिएको स्थानीय व्यापारीहरुले बताउँछन् ।
कुनैबेला खुट्टा हाल्ने ठाउँ नपाईने दिक्तेल बजारको रत्नपार्क पनि भनेजस्तो व्यापारिक क्षेत्रका रुपमा विकास भएको छैन । मानिसहरु आउने जाने बाटोमात्र बनेको यस क्षेत्रमा किनमेलका लागि आउने भनेको वरपरकै मानिसहरु हुन् । गाडीको चाप र मध्यपहाडि लोकमार्गले छोएको किरातचोक मानिसहको चापका हिसाबले केही बजार जस्तो भएपनि व्यापारिक हिसाबले न्युन नै रहेको स्थानीय किराना पसल संचालक विष्णु श्रेष्ठको अनुभव छ । ‘मानिसहरु आउछन् जान्छन्’ उनले छोटोमा भने, ‘गाडिमा सरर आउँछन् । फुत्त निस्कन्छन् । आफ्नो झोलि तुम्बा बोकेर गनतव्य कता हो त्यता कुद्छन् । व्यापारीहरुले त हेर्ने र बस्ने त हो ।’
सरकारी विदा बाहेकका दिनहरुमा अलिकति बजार ज्स्तो लाग्ने भनेको प्रशासनिक क्षेत्र रहेको भवनगैरा हो । केही होटल र लजहरु रहेको यस क्षेत्रमा राजनीतिक नेता, कार्यकर्ता, कर्मचारी, सेवालिन आउने मानिसदेखि पत्रकारहरुको टोली रहने भएकाले मानिसहरुको सामन्य चलखेल देखिने गरेका छन् ।
गाउँबाट शहरमा केन्द्रित हुने प्रचलनसँगै गाउँ रित्तो हुँदै गएको बेला दिक्तेल बजारमा बालबच्चा पढाउन आउने कलिला विद्यार्थीका अभिभावकहरुले दिक्तेल बजारको व्यापार धनिदै आएको देखिन्छ । यहाँ भएको सामुदायीक तथा नीजि विद्यालयका विद्यार्थीका अभिावकहरु नबस्ने हो भने बजारको व्यापार सुनसान हुने व्यापारीहरुको अनुभव छ ।
व्यापार बढ्नकालागि मानिसहरुको जमघट हुनु पर्दछ । जमघट वा आवत जावत बढ्नलाई मानिसहरुले उपयोग गर्ने सेवा प्रवाह विश्वासीलो हुन आवश्यक छ । थप आकर्षण गर्नकालागि आवश्यक पूर्वाधारहरु बन्नु पर्दछ । सेवादिनेहरुले सुलभ तरिकाले उपलब्ध गराउने र सेवालिनेहरुमा आत्मविश्वास जगाउन सकेमा मात्र दिक्तेल बजार गुल्जार हुन सक्दछ ।
जसकालागि यहाँका राजनीतिककर्मी, उद्योगी, व्यापारी, शिक्षक, कर्मचारी, बुद्धिजिवि, संचारकर्मी, सुरक्षाकर्मी, नागरिक समाज लगायतका आममानिसहरु जिम्मेवार हुन आवश्यक रहेको छ ।










