
शनिबार, ५ पुस ।
खोटेहाङ गाउँपालिकामा दुईदिने साहित्यीक उत्सव सकिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाको उपस्थितिमा साहित्यीक उत्सव तथा विभिन्न विषयहरुमा विमर्श सहित कार्यक्रम समापन भएको हो ।
कार्यक्रमको पहिलो दिन विद्यालय स्तरीय खुल्ला कविता प्रतियोगिता तथा बालमनोविज्ञान सम्बन्धि विमर्श भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीले बालसाहित्यको विषय प्रवेश गराउँदै शुरु भएको कार्याक्रममा खोटेहाङ गाउँपालिका भित्रका विद्यालयहरुका विद्यार्थीहरुको सहभागितामा भएको बाल साहित्यका २० जना विद्यार्थीहरुले कविता प्रतियोगितामा भाग लिएका थिए ।
यस्तै बालमनोविज्ञानका बारेमा खोटेहाङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष इन्द्र नाराथुङ्गेको सहजीकरणमा विमर्श भएको थियो । दिननाथ भगवती माध्यामिक विद्यालयका प्रधानध्यापक कुमार पराजुली र चर्चित कवि तथा साहित्यकार कविता राईले बाल मानो विज्ञान सम्बन्धि विमर्श गरेका छन् ।
यस्तै कार्यक्रममा खुल्ला कविता वाचन कार्यक्रम समेत भएको छ । दोस्रोदिन राणा विरोधी आन्दोलनका नेता रामप्रसाद राई स्मृति पार्कमा राष्ट्रिय तथा स्थानीय कविहरुले आफ्नो रचना सुन्ने सुनाउने कार्यक्रम गरेका छन् । कवि विमल निभाको उपस्थितिमा भएको सुन्ने सुनाउने कार्यक्रममा कविहरु, कविता राई, आस्था कोपिला, भोगेन एक्ले, धनप्रसाद सुवेदी, केशव कार्की, भानु सापकोटा लगायतका कविहरुले रचना वाचन गरेका छन् ।
कविता सुन्ने सुनाउने कार्यक्रम पश्चात किरात मुन्धुम दर्शन र जोसमनी सन्त दर्शनका विषयमा विमर्श भएको छ । मुन्दुम अध्येता भोगिराज चाम्लिङले मुन्दुम दर्शनसँग सम्बन्धित कार्यपत्र पेश गर्नु भएको छ । उहाँको कार्यपत्र माथी कवि तथा साहित्यकार नरेन्द्र निर्विकार राईले टिप्पणी गर्नु भएको छ ।
यस्तै लेखक तथा वाम विश्लेषक हरि रोक्काले बँसाई सराई र यसको प्रभावको विषयमा कार्यपत्र पेश गरेका छन् । खोटाङ जिल्लामा बढ्दो बँसाई सराईको प्रभाव र यसलाई न्युनिकरणको विषयमा कार्यपत्र पेश भएपछि खोटाङ जिल्लाका समाजशास्त्रका विद्यार्थी तथा समाजसेवि टंक थापा र शैक्षिक अभियान्ता सुर्य राईले कार्यपत्रमाथी टिप्पणी गरेका थिए ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभा, सदस्य सचिव धनप्रसाद सुवेदी, जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई, जन्तेढुँगा गाउँपालिका अध्यक्ष अरुणा देवि राई, लेखक तथा राजनीतिक विश्लेषक हरि रोक्का, प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्यहरु, विभिन्न तहका बौदिक व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम भएको थियो । खोटेहाङ गाउँपालिका अध्यक्ष उदिम बहादुर राई, उपाध्याक्ष रुपेश राई लगायतले मनत्व्य राखेको कार्यक्रमको सभापतित्व खोटेहाङ प्रज्ञा प्रतिष्ठानका उपाध्याज्ञ देवराज सापकोट र सचालन रोशन पौडेलले गरेका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँको सहकार्य तथा खोटेहाङ गाउँपालिकाको आर्थिक व्यवस्थापनमा खोटेहाङ गाउँपालिकाले खोटाङ साहित्य उत्सवको आयोजना गरेको हो ।









