दिक्तेल रुपाकोट मझुवागढी नगरापालिका वडा नम्बर २ सोल्मा स्थित हिमालय माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक मित्रबहादुर दाहाल खत्रीले पेन्सन निस्कदै गर्दा विद्यालयमा अक्षयकोष निर्माण गरेका छन् । पूर्व प्रधानाध्यापक खत्रिले विद्यालय छाड्दै गर्दा आफ्नो बुवा–आमाको नाममा अक्षयकोष खडा गरिदिएका हुन् ।
उमेरहदका कारण गत मंसिर १९ गतेबाट सेवा निवृत्त भएका खत्रिले आफ्नो बुवा गंगाबहादुर दाहाल खत्रि र आमा सिद्धकुमारी दाहाल खत्रीको नाममा अक्षयकोष स्थापना गरेका छन् । हालको हिमालय माध्यामिक विद्यालय तत्कालिन निमावि हुँदै गर्दादेखि शिक्षण गर्दै आएका खत्रीले विद्यालयमा पचास हजार रुपैया बराबरको अक्षयकोष राखेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरापालिका वडा नम्बर १० पाथेका बाट शिक्षण पेशा शुरु गरेका खत्रिले हिमालय निमावि हुँदै सोल्मा सरुवा भई आएका थिए । हिमालय निमाविलाई माविमा स्तरन्नोती गराउँदै सहयाक शिक्षक देखि प्रधानाध्यापकको भुमिका सम्म रहेर सेवा अवधि पुरा गर्नु भएको खत्रीले करिब ३६ बर्ष शिक्षण सेवामा आफुलाई समर्पित गरेका थिए ।
लामो समय देखि स्थानीय विद्यालयमा सेवा दिएका गुरुलाई आज बुधबार एक समारोह बिच विदाई गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सप्तमणी राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष ध्रुवविक्रम राई, शिक्षक अभिभावक संघ, लगायत स्थानीय अभिभावक, विद्यार्थी तथा सहकर्मी शिक्षकहरुले उनलाई विदाई गरेका हुन् ।
विद्यालयमा रहँदाका बखत उनले गरेको योगदानलाई कदर गर्दै आगामी दिनमा समेत सामाजिक उत्तरदायित्व बहन गर्ने प्रेरणा दिन विद्यालयको तर्फबाट विदाई कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा भर्खरै सम्पन्न भएको नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका विद्यालर्थीलाई बधाई ज्ञापनको कार्यक्रम समेत रहेको थियो ।










