जालपा । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १२ जालपाले आफ्नो वडा पंक्षी लाटोकोसेरो तथा हुचिल संरक्षणको छैँठौ बार्षिक उत्सव मनाएको छ । २०७५ सालको माघ १८ र १९ गते गरेको लाटोकोसेरो तथा हुचिल संरक्षण राष्ट्रिय महोत्सवको स्मरण गर्दै वडा कार्यालयले आज शुक्रबार उत्सव मनाएको हो ।
किसानको जीवन सहज बनाउने उल्लु अर्थात लाटोकोसेरोको संरक्षण तथा प्रर्वद्धन गर्ने अभियानको निरन्तरता स्वरुप उत्सव मनाईएको वडा अध्यक्ष दानबहादुर राईले जानकारी दिनु भएको छ । २०७५ सालमा प्रकृतिको साथी नामक संस्थाको आयोजना र जालपा वडाकार्यलयको संयोजनमा उल्लु अर्थात लाटोकोसेरो संरक्षणका लागि राष्ट्रिय महोत्सव गरिएको थियो ।
राष्ट्रिय महोत्सवको अवसरमै वडा कार्यालयले यसको अपनत्व लिदै लाटोकोसेरो अर्थात हुचिललाई वडापंक्षीका रुपमा घोषणा गरिएको हो । वडा पंक्षीका रुपमा उल्लुलाई मानिएपछि यस क्षेत्रमा यसको संरक्षण बढेको छ ।
संरक्षण अभियानको यहि निरन्तरता स्वरुप गरिएको उत्सवका अवसरमा विद्यालय स्तरीय वत्तृत्वकला र चित्रकला प्रतियोगिताको आयोजना गरिएको छ । स्थानीय जालपा माध्यामिक विद्यालय र ज्योति माध्यामिक विद्यालयले सह–आयोजना रहेको कार्यक्रममा लाटोकोसेरो अर्थात हुचिलको बारेमा चर्चा परिचर्चा गरिएको छ ।
औपचारिक कार्यक्रमको शुरुवातमा जालपा माध्यामिक विद्यालयका प्रधानध्यापक दिलबहादुर राईले लाटोकोसेरो अर्थात हुचिलको बारेमा एक कार्यपत्र पेश गर्नु भएको छ । लाटोकोसेरो अर्थात हुचिल यसलाई चलनचल्तिको भाषामा उल्लु तथा स्थानीय दुमी भाषामा पप्पौ भनिदै आएको छ ।
यसका गुण तथा विशेषताहरुको बारेमा कार्यपत्रमा चर्चा गरिएको छ भने वत्तृत्व कला प्रतियोगितामा विद्यार्थीहरुले समेत यसका बारेमा विभिन्न कोणबाट चर्चा गरेका छन् । सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधी तथा राजनीतिक दल, टोल विकास संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको कार्यक्रममा वरिष्ठ अन्तरराष्ट्रिय चित्रकार अष्ट्रेलियन नागरिक रेमण्ड जोन मार्डेनको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमको वत्तृत्वकला प्रतियोगिता तर्फ जालापा माध्यामिक विद्यालय र ज्योति माध्यामिक विद्यालयका सहभागि विद्यार्थीहरु मध्ये निता विस्वकर्मा पहिलो, मेलिना राई दोस्रो, चिमाल राई तेस्रो र कन्चन राईले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
विभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रम सहित भएको उत्सवका अवसरमा साना साना विद्यार्थीहरुको सहभागिता चित्रकला प्रतियोगिता भएको थियो । वरिष्ठ चित्रकार विदेशी नागरिक रेमन्ड जोन मार्डेनले चित्रकलाको अवलोकन तथा निर्णय गरेको चित्रकला प्रतियोगिताको पुरस्कार समेत मार्डेनले वितरण गर्नु भएको छ ।
प्रकृतिका साथी संस्थाका राजु आचार्यले उत्सवको अवसरमा प्रतियोगी प्रतिभालाई पुरस्कार प्रदान गर्न आठ हजार रुपैयाँ सहयोग उपलब्ध गराउनु भएको कार्यक्रम ‘‘वातावरणीय सन्तुलनमा लाटोकोसेरोको महत्व बुझौँ, किसानको साथी लाटोकोसेरोको संरक्षणमा हातेमालो गरौँ’’ भन्ने मुलनाराका साथ सम्पन्न भएको हो ।
वडा अध्यक्ष दानबहादुर राईको अध्यक्षतामा भएको वार्षिक उत्सवको संचालन ज्योति माध्यामिक विद्यालयका प्रधानध्यापक गुणराज श्रेष्ठले संचालन गर्नु भएको हो ।