– भिम राई
तीन कित्ता खेतमा अलैँचीको विरुवा लगाएका वाप्लुुखा शंकुलुङका सुरधन राईलाई गाउँमा खनिएको सडकले निरास बनायो । उमेरले हाल ७३ बर्ष पुुगेका सुुरधन जुन बेला अलैँचीको बजार सुनेर निकै ठुलो उत्साहका साथ खेतिमा होमिएका थिए । आफ्नो भएका खेतहरुमा अलैँचीको विरुवा धमाधम लगाई रहेका थिए । कोही कोही ठाउँमा उत्पादन समेत दिन थालि सकेको थियो । त्यहिबेला गाउँमा विकास आईपुुग्यो सडक विस्तारको । खोटाङ बजार पामाखाम सडक विस्तारको आयोजनाले गाउँघरको खेत, बारी, पाखा, भित्ता, वन, जंगल फाँड्दै आयो । यहि मेसोमा विस्तार हुँदै जाँदा सुरधन राई जस्तै सयौँ किसानहरुको खेतियोग्य जमिन पनि प¥यो ।
खोटाङ बजारबाट शुरु भएको सडकले वडका दियाले, सावा कटहरे, वाप्लुखा र लिकुवापोखरी हुँदै आफ्नो दुरी पार गर्छ । यो दुरीभित्र रहेको खेतियोग्य जमिन धेरैका परेका छन् । यस मध्ये निरास नै बनाउने गरी आफ्नो तीन कित्ता खेत नै खाईदिएको गुनासो सुरधन राईको रहेको छ । अलैँचीको भाउ बढ्दै गएको सुन्दा उनको मुटु कटु कुटु खान्छ । गाउँ छिमेकका साथीभाईहरुले ८, ९ मन अँलैचि बेचे रे भनेको सुन्दा सडकलाई सराप्न मन लाग्छ । उनले त्यहिबेला आफ्नो बलबुत्ताले भ्याएसम्मको १० हजार विरुवा आफ्नो तीन कित्ता खेत मासेर लगाएका थिए । ‘त्यो बेला अलि ढिला थाहा भो भन्दै बढो जाँगरका साथ अलैँचीको विरुवा किनेर रोपेको थिँए । तर सडकले खाईदियो ।’ सडक विस्तारको क्रममा विरुवा मासिने भएपछि सार्न खोजेको सम्झदै उनले भने, ‘पहिले रोपेको जस्तो त के हुनुु ? कोही फोस्रियो, कोही म¥यो ।’
सुरधन राईले यसरी आफ्नो लामो कुरा एक सासमा सुनाए । यो सुनाइ रहँदा उनको आँखा र आत्ममा वैचनी छाईरहेको थियो । उनले थप सुनाए, ‘सडकले खेत पुु¥यो, भत्कायो, अलिअलि बाँकीपनि रहयो तर के गर्ने आलो माटोमा अलैँचीको खेति लाउनै सकिएन । यतिकै रह्यो ।’ सुरधन राई जस्तै राहाङताङ इन्द्रहाङ राई, सुरेश राई जस्ता सबै गाउँलेहरुको पिडा पनि उहि छ । सावा कटहरे, वाप्लुखा र लिकुुवापोखरीका धेरै किसानहरुले यो पिडाको मल्हम खोजि रहेका छन् ।
यस्तैबेला खोटेहाङ गाउँपालिका कृषि शाखाको प्राविधिक सहयोगमा स्थानीय हेन्खामा बहुुद्धेश्यीय कृषक समुहले आधुनिक अँलैचि खेति सम्बन्धि एकदिन तालिम संचालन गरेको छ । त्यो तालिममा सुरधन राई र उनी जस्तै कृषकहरुलाई बोलाईएको थियो । तालिममा पुुगेका उनिहरुले एकदिन अँलैचि पढेका छन् । अँलैचिको पनि जात हुँदो रहेछ भन्ने थाहा पाएका छन् । अहिले सम्म फलेको अलैँची भगवान भरोसामा रहेको थाहा पाएका छन् । परम्परागत ढर्रामा गरिने गोडमेल र प्राविधिक हिसाबले गरिने गोडमेलका बारेमा थाहा पाएका छन् ।
तालिममा पुुगेपछि भने सुरधन र उनि जस्तै किसानहरुमा फेरी एकपटक जाँगर आएको छ । परम्पराले धानेको अँलैची खेति भन्दा आधुनिक प्रविधि अपनाएर गरिने खेतिले आफुहरुलाई फाईदा पुुग्ने कुरा विस्वस्त बनेका उनिहरुले फेरी खेति लगाउन तयार रहेको सुनाउँछन् । ‘अब त सडकले पुरेको माटोपनि परिपक्व भईसक्यो अब फेरी खेति गर्ने हो ।’ सुरधनले सुनाए, ‘अब पहिलेको जस्तो रोपिदैन । अब हाम्रो ठाउँ र माटो सुहाँउदो विरुवा खोज्ने हो । जल, जमिन, हावापानी सुहाउँदो विरुवाको खोजि गरेर फेरी एक पटक रोप्ने हो ।’ उनकै स्वरमा अरु गाउँलेको पनि स्वर मिसिएको छ ।
यति कै रोप्दा बर्षेनी अलिअलि चामल खान त पाएका छौँ । साँच्चै प्रविधि र प्रकृतिसँग मिल्ने खेति गर्दा कसो नहोला त ? हामी त उत्साहित छौँ । एक स्वर छ किसानको ।