– जीवन जीवन्त
पथरी, मोरङ (हाल बुढानीलकण्ठ)
टेम्के–तुवाचुङ प्रतिष्ठानको वार्षिक कार्यक्रममा सहभागी हुन ‘स्रष्टा पद यात्रा’ समूह २०८० साल चैत्र ९ गते शुक्रबार दुधकोसीको कञ्चन जलराशीमा दृश्य–स्नान गरी जयरामघाटबाट खोटाङ जिल्लाको सदरमुकामतिर उकालियो । हलेसी–दर्शनलाई थाती राखेर खोटाङ यातायात प्रा. लि.को भोल्भो मिनिबस यात्रीसमूहलाई पेटभरि राखेर दिक्तेल बजार पुग्न हतारिँदै थियो । म त्यसै समूहको सदस्यका रूपमा बसको पछिल्लो सिटमा यात्रारत थिएँ । प्रतिष्ठान र पद यात्रा समूहका सूत्राधार नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले बाँयातिर कुहिराले छपक्कै ढाकेको डाँडो देखाउँदै भन्नुभयो,
‘‘तुवाचुङ यही हो, यसको सिधापर टेम्के पर्छ । यिनै दुई डाँडाको नाम समेटेर हामीले ‘टेम्के–तुवाचुङ प्रतिष्ठान’ नामकरण गरेको हौँ ।’’
मैले मनमनै विचारेँ, ‘टेम्के र तुवाचुङले किराती सभ्यताको रखबारी गरिरहेको रहेछ ! बिचमा मझुवागढीलाई साक्षी राखेर रिमाचुङ (टेम्के डाँडा) र तुवाचुङ खासखुस गरिरहँदा रहेछन् ।’ तुवाचुङलाई फकिँदाको सिकार बनाउने भन्दै हामी रिमाचुङको शिखर चुम्नतिर नै लम्कियौँ । यात्राको दोस्रो दिन दिक्तेलका कार्यक्रम सकेर तेस्रो दिनको योजनामा रिमाचुङको यात्रा पर्न गयो ।
कुहिराले छपक्कै छोपेको चखेवा भङ्ज्याङबाट किरात पदमार्गमा हाम्रो पैदल यात्रा सुरु भयो । टेम्के चुलीमा किरात गणतन्त्र टावर बनाउने योजनासहित गोपाल किरातीसमेतले बनाएको बेसक्याम्पबाट स्रष्टा पद यात्राका अध्यक्ष, हाम्रा अभिभावक शितल गिरीज्यूको स्वास्थ्यले अघि बढ्न साथ दिएन । उहाँसँग केही साथीहरू रहनुभयो बाँकी अन्य टेम्केको उकालो उकालिन थाल्यौँ । भोजपुर र खोटाङका आदिम भूमिको साक्षी टेम्के चुली रिमाचुङका रूपमा शदियौँदेखि ठडिएको ठडिएको छ । यसले आदिम किराती सभ्यताको रखबारी मात्र गरेको छैन गणतन्त्र नेपालको स्थापना र समाजवादको नेपाली आधारभूमि निर्माणमा साक्षीको भूमिका पनि निर्वाह गरेको छ । यसै सन्दर्भमा गोपाल किरातीले भनेका छन्, ‘‘टेम्केमा भव्यतम् किरात गणतन्त्र टावर निर्माण सम्पन्न भएरमात्र समाजवादी क्रान्तिको झन्डा सम्भव छ’’ (अनलाइन अबर, असार २०७२) । त्यसैले ३०१० मिटरको उचाइमा गणतन्त्र टावर बनाउने योजना अघि बढेको थियो ।
नेपाल सरकारले पहिचान गरेको एक सय पर्यटकीय गन्तव्यमा टेम्के डाँडा र मुन्दुम पदमार्ग पर्छ भन्ने कुरा त मलाई पहिल्यै थाहो थियो तर यसको प्रत्यक्ष सौन्दर्यबोध गर्न पाइएको थिएन । कवि ज्ञानमणि नेपालले ‘‘ट्याम्केदेखि हिमाल पर्वततलक् पश्रेर लामू गरि ÷ बस्याको छ मयाम पर्वत ठुलो दोश्रो हिवालै सरि’’ भनेर गरेको काव्यिक वर्णनले यसतर्फ झन् आकर्षित गरेको थियो । एउटा काल्पनिक आख्यान संसार बनेर जमेको मेरो हृदयको काव्यिक चित्र यस यात्रामा क्रमशः पग्लिँदै थियो । त्यहाँबाट देखिने सौन्दर्यको वर्णन चाहिँ आदरणीय रामविक्रम थापा र कृष्णबहादुर बुढाथोकीको शब्द वर्णनमा नै सीमित बनायो, मोरो कुहिरोले । उहाँहरू भन्दैहुनुहुन्थ्यो ः खोटाङ सदरमुकाम दिक्तेल र भोजपुर सदरमुकामदेखि क्रमशः ५० र ५५ किलोमिटरको समदूरीमा यो टेम्के डाँडा रहेको छ । यहाँबाट सर्वोच्च शिखर सगरमाथा, मकालु, कञ्चनजङ्घा, गौरीशङ्करलगायत दर्शनबढी हिमालय सौन्दर्यलाई एउटै आँखाभित्र अटाउन सकिन्छ ।’’ हामी चाहिँ बाक्लो कुहिरो र चिसो हावाबिच उपन्यासकार जीवन जीवन्तको चरैवेति उपन्यासको पहिलो सार्वजनीकरण गरी खोटेहाङका रोशन पौड्याल, भगवतीप्रसाद शर्मा, भानुभक्त सापकोटालगायतका साहित्यिक मनहरूसँग केही काव्यिक भावना साटासाट गरी फर्कियौँ ।
इतिहासकारहरूले करिब १६औं शदाब्दीतिर किराँतीहरूले काठमाडौं उपत्यकाबाट धुलिखेल हुँदै सुनकोशी, दूधकोशी, तमोर, अरुणपूर्वदेखि सबै भू–भागमा क्याम्प खडा गर्दै लगे र टेम्के आसपास क्षेत्रमा पनि किराँतीहरूले शासन सुरु गरे भनेर लिखित इतिहास बनाउने प्रयास गरेको भए पनि रिमाचुङले तुवाचुङको आदिम सभ्यता बिर्सेको छैन । भाइ हेप्छाकुप्छाले खेतीपाती गरेको अनि तियामा, खियामा दिदीबहिनीले तान बुनेर किराती सभ्यता अघि बढाएको साक्षी केवल रिमाचुङ मात्र छैन है, मझुवागढीलाई सोधे उसले पनि देखाइदिन्छ तीन चुला र चिन्डोको आदिम प्रमाण, माथिबाट रूपाकोटको उच्च शिरले पनि यसको साक्षी बोकिरहेको छ । साप्सुखोलाको पानीमा यसैको प्राग्इतिहास निरन्तर बकिरहेकै छ । यसको प्रमाण टेम्के डाँडामा गएर बिहानको उदाउँदो घामलाई सोधे हुन्छ, बेलुकाको अस्ताउँदो सूर्यलाई सोधे पनि बताइदिन्छ । मङ्सिरे पूर्णिमामा आएर सोधे अस्ताउँदै गरेको घाम र उदाउँदै गरेको जुनले पनि एकै स्वर त्यही कुरा बकिदिने छन् ।
किराती सभ्यता प्रकृति, श्रम र मूल्यको सभ्याता हो, आदर, सत्कार र समपर्णमा यो बाँचेको छ । हामीसँगै जानुभएका सात दशक पार गरिसक्नुभएका आदरणीय साहित्यकार मदन राई लामाखुलेको उत्साहमा कुनै कमी नआउनुमा यसै सभ्यताको देन छैन भनेर कसले भन्न सक्छ र ? उहाँको अग्रसरतामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष उमेश कठायतलगायतका स्थानीय मनहरूले दिनभर हाम्रो प्रतीक्षा गरेको प्रमाण मात्र होइन, लालीगुराँसका कलात्मक फूलमाला, रोटीतरकारी, चियाचमेनासहितको आत्मीय सत्कारमा आदिम किराती गुण निरन्तर बगिरहेको छ । काठमाडौँबाट सामान्य किसिमले घुमफिरका लागि गएको हाम्रो टोलीका लागि गरिएको सत्कार त्यहाँको सामान्य नियमित नियत होला तर हाम्रा लागि त्यो अपार थियो । त्यसका लागि स्रष्टा मनले शब्दगुच्छा अर्पण गर्न बाहेक अरू के नै गर्न सक्छ र, हार्दिक आभार प्रकट गर्दै बिदा लियौँ ।
साँझ नेर्पा आइपुग्दा वडा नम्बर ६ का वडाध्यक्ष माधव राईलगायतका स्थानीय मित्रहरूले खानासहित देखाउनुभएको सत्कारको व्यवहारले पनि किराती सभ्यतालाई माथि माथि उचारिहेको थियो । त्यहाँ साकेला भाकामा नाचगान गरी सदियौँदेखि बाँचेको सभ्यतामा हामी पनि मिसियौँ ‘‘… ए नि लै लै हो, बरी लै लै’’ । त्यहीका खोलानाला, छहराझरना, उकालीओरालीमा गुञ्जिरहेको मिठो लोकभाकामा हामीले दोहोरी पनि गायौँ । ‘‘गाई जौबारीमा, कान्छ्यीउ, फेरि पन आऊ है यै चौतारीमा’’ भन्दै झम्कप्रसाद सरले स्थानीय मनबाट र बालचन्द्र मिश्र सरले पदयात्रीहरूको मनबाट दोहोरी गाउनु भयो । यो धनप्रसाद सुवेदी सरको जन्मथलो मात्र थिएन, उहाँको बाल्यकाल, किशोरकाल र युवावस्थाका धेरै समय व्यतित भएको ठाउँ हो, त्यसैले उहाँका साथ र सहयोगले हामीलाई धेरै सहज भइरहेको थियो । त्यसमा विनोद आचार्य, भीम राई, कृष्ण गुुरुङ , भोगेन्द्र राई एक्लेलगायतका स्थानीय सहहृदयी मन पनि हामीसँग थिए ।
आधा रातसम्म नाचगान गर्दा पनि दिनभरि हिँडेको हाम्रो टोली थाकेको थिएन । राती नै भए पनि हामी भुलभुले दुधकुण्ड देवधाम नघुमी फर्कन सकेनौँ । भुलभुले देवधामको भ्रमणले मेरो मन सभ्यता बिस्तारको फराकिलो कुण्डमा जाल हान्न थाल्यो । मेरो जन्मभूमि मोरङ जिल्लाको पथरी पनि किरातहरूको क्रिडाभूमि नै हो जहाँ लिम्बुवान् र खुम्बुवान् धाननाच र साकेलामा मितेरी गाउँछन् । भुलभुले देवी पथरीमा एउटा आस्था र आकर्षणको केन्द्र पनि हो । यहाँ आएको थाहा पाएर पथरीमा मेरा मित्र इन्द्र राईले ‘‘हाम्रो पुर्खाको थलो पुग्नु है’’ भनी म्यासेज गरेका थिए । मैले सोधिपठाएँ, ‘‘कहाँ हो र तिम्रो पुर्खाको थलो ?’’ ‘‘नेर्पा’’ उनले छोटो जवाफ दिएका थिए । आज म उजको पुर्खाको थलो पुगेको थिएँ तर त्यसअघि नै उनका पुर्खाको सभ्यता फैलिएर पथरी पुगिसेकेको रहेछ ! अनि पो थाहा भयो– ‘पथरीको भुलभुले देवी यहीँबाट गएको किराती सभ्यताको बिस्तार रहेछ ।’ ‘‘इन्द्र साथी, आज म तिम्रो पुर्खाको थलो आइपुगेको छु तर तिम्रा पुर्खाले उहिल्यै तिम्रा सभ्यता हामी भएतिर लगिसकेका रहेछन् ।’’ यो कहाँसम्म बिस्तार भएको होला ? विनोद आचार्यजीले भन्नुभएको थियो, ‘‘टेम्के डाँडाबाट आकाश खुलेको बेला इलाम, ताप्लेजुङ, धनकुटा, तेह«थुम, संखुवासभा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्ब आदि जिल्ला मात्र होइन सिक्किम, दार्जिलिङ, कालेम्पोङ, सिलिगुढी, भुटान लगाएतका सहरहरू पनि देख्न सकिन्छ ।’’ यहाँबाट जुन ठाउँ देख्न सकिन्छ ती ठाउँ अहिले किराती सभ्यताको स्थल हो । मोरङबासी मनहरूका गीतगुञ्जन किराती गुञ्जन रहेछ । अनि पो गाडीको यात्राभरि पुर्बेली भाकामा गीत गाइएछ, मस्त नाचिएछ । यस सभ्यता र संस्कृतिको क्षितिज धेरै फराकिलो भइसकेको रहेछ ।
हो रहेछ, किराती सभ्यताको जन्म मात्र होइन बिस्तारको साक्षी पनि यही टेम्के डाँडा नै रहेछ । अहिले पनि पारुहाङले त्यही डाँडाबाट समग्र किराती सभ्यताको रखबारी गरिरहेको रहेछ, अनि पो यो शदियौँदेखि अजर र अमर रहेछ । यसलाई न त समुद्रपारको साम्राज्यले छुन सक्यो न त आन्तरिक विस्तारवादी राजनीतिले निल्न सक्यो । आज नेपालको आदिम सभ्यताको खानी बनेर यो विश्वसामु चम्किरहेको छ । आज साप्सु खोलाको पानीमा मात्र होइन, रावा, तावा, मेवा, दिखुवा, सावाखोला, दुधकोसी, सुनकोसी, अरुण, तमोरका पानीमा यसैको स्वाद मिसिएको छ, विश्वास नलागे खुवालुङमा पुगेर हेरेहुन्छ ।
दिक्तेल आसपासका मझुवागढी, देवीस्थान कालिका भगवती, रूपाकोट, भुलभुले, महुरेगढी, साप्सुधाप, मेरुङडाँडा, सहदेवगढी, गुप्तेश्वर, सिद्धेश्वर गुफा आदि ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरू किराती सभ्यताकै आविस्कार होइन भनेर कसले भन्न सक्छ र ? हलेसी महादेवको गुफामा र टेम्केको डाँडामा गएपछि थाहा हुन्छ, किरातीहरू कति उदार मनका प्रकृति हुन् भनेर । हिन्दु र बौद्धहरूलाई पनि उत्तिकै सत्कार गरेर किराती सभ्यता बाँचिरहेकै छ । राई, क्षत्री ब्राह्मण, दलित, नेवार, तामाङ, मगर, गुरुङ, सन्यासी, शोर्पा आदि जातजातिहरूले आआफ्नै सभ्यता र संस्कृतिमा रम्न पाएको यस पवित्र भूमिमा चिराइतो, मजिठो, ठुलोओखती, पाखनभेद, नागबेली वनकरेला, मुसेकरेला, सतुवाजरा जस्ता जडिबुटी, दुम्सी, मृग, सालक, मुनाल, घोरल जस्ता जीवजन्तु, अनेक थरिका लालीगुराँग, हिमाल, पहाड र तराईको सुरम्य दर्शन भएकाले पो ब्याकुल माइलाको गीतिहृदयमा गुञ्जिएछ, ‘‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली ।’’
रात छिप्पिसक्दा पनि सकिएको थिएन सभ्यता जन्माउने भूमिको रसास्वादन । भोलिपल्ट नै फर्किनुपर्ने समयको छेकबारले घेर्दै ल्याएको थियो । कवि अभय श्रेष्ठको मुन्दुम मार्ग परिक्रममा गर्ने अधुरो इच्छा मात्र होइन भीम राईलाई मेरो उपन्यास चरैवेति उपहार दिने सानो काम पनि बाँकी नै रह्यो । हजारौँ वर्षको सभ्यता यात्रालाई एउटा जीवनको छोटो यात्राले नाप्न कहाँ सम्भव हुन्छ र ?
मनभरि ‘‘…फेरिपन आऊ है यै चौतारीमा’’ भाका गुञ्जिरहेको छ । अन्त्यमा कवि सुरेश राईको कविताबाटै बिदा लिएँ ः
ट्याम्के डाँडाको शिरबाट
आफ्नो हत्केलामा चिउँडो राखेर
जब घाम पश्चिमतिर हेर्दो हो
तब के–के देख्दो हो ?
देख्दो हो
हतारहतार दोकान खोल्दै गरेको
लहरै दिक्तेल बजार
मझुवागढी र बाम्राङका बस्तीहरू
नागबेली मध्यपहाडी बाटो
देख्दो हो बतासले
दिखुवा खोलाको बाफ उठाएर
तानेको एक सर्को हुक्का
र फ्याँकेको रूपाकोट डाँडातिर
जिस्कँदै एक गोला बादलको रिङ ।