यात्रा पूर्वकका, सोच पूर्वको, मानिस पूर्वको यति भएसी नेपालको पूर्वी पहाडी जिल्लाहरुको बारेमा केही भन्नै पर्ने भो । फागुन २६गते बिहानै खोटाङको सदरमुकाम दिक्तेलबाट हाम्रो यात्रा प्रारम्भ हुन्छ । यात्राका लागि विशेष संयोग जुरेको छ एउटा पूर्वेली ‘चम्पाबेली फूल फूल्यो’ बोलको गीतको म्युजिक भिडियो निर्माण ।
हिँड्न अघिल्लो दिन हामीले पुग्नै पर्ने स्थानहरुको एकिन गर्न निर्माण टिमसँग भएको सल्लाह अनुसार ताप्लेजुुङको मुक्कुुम्लुुङ (पाथीभारा) पुग्नै पर्ने मुख्य स्थानका रुपमा मानियो । यति भईसकेपछि त्यहाँ पुुग्ने बाटोका बारेमा बुझ्नै पर्ने भो । सोधखोज गर्ने क्रममा भेटिनु भएका जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बाटोका बारेमा सहज पार्नु सुनाउनु भयो बाटोको कथा ।
दिक्तेलबाट चखेवा जाने, चखेवाबाट भोजपुर, भोजपुरबाट अरुण तरेर धनकुटा पाख्रीवास, पाख्रिबासबाट दायाँ लागेर तेह्रथुमको संक्रान्ति बजार, सक्रान्ति बजारबाट पाँचथरको जोरसाल, जोरसालबाट ताप्लेजुुङको सदरमुकाम फुुङलिङ, फुुङलिङबाट सुकेटार विमान स्थलको छेउहुँदै काफ्ले पाटी (सानोफेदी) । काफ्ले पाटीमा सबै सवारी साधन छाडेर पैदल उकालो करिब २ घण्टामा ठुलो फेदी पुगिन्छ । त्यही बास बस्ने र भोलि बिहानै पैदल ३ घण्टा हिँडेपछि बल्ल पुगिन्छ पाथीभारा ।
एकाध घण्टाको कुराकानी पछि आएको निष्कर्ष थियो यो । हामी त्यहि कुराकानीका आधारमा तयारी भएका थियौँ । हाम्रो म्युजिक भिडियोका लागि नपुगि नहुने ठाउँमा पर्ने पाथीभार र यसको आसपासमा सबै दृष्य कैद गर्न चाहन्थ्यौँ । यसैले हाम्रो टिम परिचालित हुँदै थियो । बिहानै ४.०० बजे नै हिँड्ने तयारीका साथ २५ गते छुटेका थियौँ ।
२६ गते बिहानै हामी म लगायत गायक गण्डकी चाम्लिङ, कलाकार तथा भ्लगर उमा चाम्लिङ, व्यवस्थापक जीवन ज्योति राईको टोलि २६ गते विहान ६.०० बजेमात्र भेट्न हिँड्न सफल भईएछ । कारण उमा चाम्लिङ बहिनि २५ गते नै पाहुना लागेकी आउन ढिला गरिन् ।
बिहान ६.३० मा हिँडेको हाम्रो टोली खोटाङ र भोजपुरको सिमानामा मात्र रोकियो । हामीले भोजपुर टेकेको उपलक्ष्यमा चिया र थुक्पा खाने निधो ग¥यौँ । केही थान फोटो खिच्ने कार्य भयो । एक समय प्रेस सेन्टर नेपालको प्रदेश स्तरिय साधरण सभा गरिएको ठाउँ । काठको मुढोका मुढामा बसेर थुक्पा खानुको मजा अनुुभव गरियो । सामन्यत ः भोजपुरमा खाना खाने समय हुने भएपनि मैले धनकुटामा गएर खाना खाने उर्दि गरि टोपलेँ । साथीहरुले नमान्ने कुरै भएन । हामी हाँकीयौँ उतै । जति दौड्यो उति भोकले च्याप्दै लगेको महशुस सबैलाई हुने नै भो । यसैबीचमा भोजपुरको देउराली नजिकै जीवन ज्योति र बहिनि उमाले सुन्तला आफ्नै लगानीमा किनेछन् । हामीलाई जम्मा ४ दाना दिएर अगाडि लागे । तर जीवन जीको ड्राईभ स्लो भयो । उमा बहिनि आफैमा सेलिब्रेटी भ्लग बनाउने मान्छे । बाइकको पछाडि बसेर भिडियो खिचेको खिचेकी छिन् । हामीले उछिनेर हिँड्यौ ।
धनकुटामा खानाखाने शर्त अनुसार दौडिएका हामी अरुण नदिको पुल तर्दै गर्दा लखतरान भईसकेका थियौँ । अरुण नदिको लेगुवाघाटमा पुुगेर म आफैले, ‘गण्डकी कमरेड भोक लाग्यो कि ? यतै पो खाना त खाउँ क्यारे’ भनेँ । उहाँ मुुसुक्क हाँस्दै ‘खाउँ’ भन्नु भो तर पछाडिका साथीहरुको पत्तो छैन । ‘जे जसो भएपनि धनकुटा तरि सकियो त’ मैले रेला गर्दै खाना पाईने होटल सोधेको एकजना दिदिले अगाडि देखाईन् । तर त्यहाँ ५ मिनेट कराउँदा पनि मानिस छैनन् ।
यो होटलमा भात बेचिदो रहेछ भन्ने सम्म थाहा पाएर म अर्को होटल खोज्न निस्के । हेर्दै जाँदा लेगुवाघाट त भोजपुर र संखुवासभा छुटिने ठाउँपो रहेछ । बाटोको नक्साले यहि भन्यो मैले नी एक तस्विर खिचे । यस पछि यसो हेरेको नजिकैको होटलमा खाना मिठो पाईदो रहेछ । तर ति दिदिले उतै किन हामीलाई पठाईन् ? सायद गरिखाउन् भन्ने होला । तर ढंग भा पो !
जसो तसो साथीहरु आईपुुग्नु भयो र हामीले खाना माग्यौँ । म अघिल्लो ३÷४ दिन देखीको खाना भन्दापनि अरुकुरा खाएकाले होला ग्यास्ट्रीकले रुचेन । तरपनि खाईयो । गण्डकी चाम्लिङको जम्मा म पछाडि बस्ने खलासी त हो । गफ गर्दागर्दै सकियो । उहिले बाउ बाजेहरुले धरान नुन लिन झरेको लेगुवाघाट, अक्करे भिर, अहिले सरर.. रोड कालोपत्रे भएछ । यहि सम्झदै निस्कियो पाख्रीवास ।
हाम्रो अघिल्लो दिनका गाईड सन दाईले पाख्रीवास बजारबाट देब्रे सिदुवाको बाटो भन्नु भएकै थियो हामीले पनि उसै ग¥यौँ । पाख्रीवासमा एकछिन उभिएर हे¥यौँ । उमा बहिनिले एउटा उनिको टोपि किन्न भ्याउनु भएछ । हामी भने अगाडि दौडिरहेका थियौँ । एक्कासी कस्तो निन्द्रा लाग्यो भने भाते निन्द्रा । भात खाने बितिक्कै हिँडेको झम झम … ।
कमरेड, निन्द्रा लाग्यो हौ ? मैले भनेँ, ‘मलाई नी त्यस्तै भयो’ गण्डकी चाम्लिङ भन्छन् । ‘एकछिन पछाडिको साथीहरुलाई पर्खौँ’ म भन्छु । घ्याच्च मोटर साईकल रोकिन्छ । हामी फुत्त झर्छाैँ । निन्द्रा हटाउन ल्वाङ सुकमेल चपाउनु पर्छ रे भन्ने सुनेको म त्यहि खोज्न थाल्छु । कमरेड गण्डकी अघि रोडको डिलमा झार पलाएको पाखामा घुर्न पो थालेछन् । मलाई अच्छा लाग्यो । फ्रेस हुनलाई यसरी सुध्नै पर्छ । मैले बोलाइन । बरु अलि तलको घरमा गएँ, फर्के आँए ।
पछिका साथीहरु आईपुग्नु भयो । जीवन ज्योतीपनि निन्द्रामा जस्तो देखिन्थ्यो तर म ठिक छु भन्ने उसको हिम्मत राम्रो लाग्यो । उमा बहिनिको के कुरा गर्नु र ! मोवायलमै व्यस्त । भिडियो खिच्ने, त्यसको इडिट गर्ने, आफ्नो पेजमा आएको लाईक कमेन्ट हेर्ने, नया कुरा के आयो होला खोज्ने यसो हुँदा हुँदैपनि कमरेड गण्डकी घुरेको भिडियो उहाँले खिच्नु भ्याउन भो ।
यसपछि हामी तेह्रथुम लाग्यौँ …. ।