किकोस
खोटाङ, १४ मंसिर । खोटाङको जालपा स्थीत ज्योति माविका साथीहरुलाई अझै उज्योलो बनाउन ‘ज्योतिका साथीहरु’ले अभियान चलाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १२ स्थित ज्योति माध्यामिक विद्यालयमा अध्ययन गर्ने अनाथ, असाहय तथा विपन्न विद्यार्थीलाई सघाउन अभियान शुरु गरिएको हो ।
स्थानीय अभिभावक तथा पुर्व सांसद टंक राईको अगुवाईमा करिब पाँचबर्ष अगाडि यो अभियानको शुरुवात गरिएको थियो । सन २०१९ जनवरी १२ बाट शुरु गरिएको अभियानमा देशभित्र र बाहिर रहेका अभियान्ताहरु साथी बनेका छन् ।
मासिक एकसय (१००।–) रुपैयाँ ज्योति बाल विकास केन्द्रको खातामा हस्तान्तरण गर्नेगरी शुरु गरिएको अभियानबाट संकलित रकमले ज्योति माविमा अध्ययनरत असाहय, अनाथ तथा विपन्न विद्यार्थीलाई सहयोग प्रदान गरिदै आएको छ । विद्यालयका प्रधानाध्यापक गुणराज श्रेष्ठका अनुसार ज्योतिले आठ जना विद्यार्थीलाई निशुुल्क शिक्षा दिदै आएको छ ।
निशुल्क अध्ययन गरिरहेका मध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ का कक्षा १० मा अध्ययनरत विजय राई, ऐसेलुखर्क गाउँपालिका ७ का कक्षा ९ मा अध्ययनरत रविन राई, ऐसेलुखर्क ७ माक्पाकै कक्षा ८ मा अध्ययनरत तारामणी राई, रहेका छन् । यसैगरी हलेसी तुवाचुुङ नगरपालिकाका ७ हलेसीका ३ जना कक्षा ६ का जीवन राई, कक्षा ५ का टिवन राई र कक्षा ४ का इमान राई तथा हलेसी तुवाचुुङ १० अर्खौलेका कक्षा २ मा अध्ययनरत योगेश राईले ज्योति माविमा खाना, खाजा, आवास तथा आवश्यक सम्पुर्ण शैक्षिक सामग्री तथा पोशाकहरु समेत निशुल्क पाई रहेका छन् । यस अघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ का चन्द्रकला राई भने एसईई उतिर्ण गरेर गईसकेकी छन् ।
निशुल्क अध्ययनरत विद्यार्थीहरुको शैक्षिक अवस्थापनि आशा लाग्दो रहेको विद्यालयले जनाएको छ । उनिहरु कक्षामा सँधै राम्रो स्थानमा आउने विद्यार्थीहरु रहेको प्रअ श्रेष्ठले जानकारी दिनु भयो । ‘ज्योतिका ज्योतिहरु भनेकै उनिहरु नै हुन्’ प्रअ श्रेष्ठको भनाई रहेको छ ।
जालपा स्थित पुरानोगाउँमा रहेको ज्योति माध्यामिक विद्यालय सरकारी दरबन्दीका हिसाबले प्रावि मात्र हो तर स्थानीय समुुदायले यसलाई माध्यामिक तहसम्म संचालन गरेका छन् । खोटाङ जिल्लाको उत्तरीभेगमा पर्ने जालपा नमुना गाउँका रुपमा विकास गर्ने क्रममा सरकारी विद्यालयलाई अंग्रेजी माध्यामबाट पढाउँदै अंग्रेजी पढाउने अभिभावकहरुको भोक मेटाउन शुरु गरिएको हो ।
समय अनुकुल अभिभावकहरुले आफ्ना छोराछोरीलाई अंग्रेजी विषयमा जान्ने बनाउने लोभमा सरकारी स्कुल बाट नीजि बोर्डिङहरुमा विद्यार्थीहरु कुदाउन थालेपछि जालपालीले यो जुक्ति निकालेका हुन् । सरकारको निश्चित दरबन्दीका शिक्षकहरुमाथी स्थानीय अभिभावकहरुले थोरै रकम संकलन गरेर संचालन गरेको विद्यालय कुनै बोर्डिङमा कम छैन ।
यस विद्यालयमा आउने विद्यार्थी केवल जालपाकै मात्र हुँदैनन् । छिमेकी गाउँमात्र होईन छिमेकी पालिकाको समेत यहा विद्यार्थीहरु रहेका छन् । ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुुङ नगरपालिका, केपिलासगढी गाउँपालिका लगायतका विद्यार्थीहरु ज्योतिमा रहेका छन् ।