चैत २० मंगलबार / कलाकार समाज काठमाडौले जिल्लाको सबै पालिकामा नृत्य तथा गायन क्षेत्रका नया प्रतिभाको खोजि गर्ने भएको छ । जिल्लामा रहेको १० वटै स्थानीय तहमा गएर नृत्य तथा गायनमा रुचि हुने नया प्रतिभाको खोजि गर्दै खोटाङ जिल्लाबाट अब्बल कलाकार उत्पादन गर्न लागिएको हो ।
खोटाङ जिल्लामा घर भई काठमाडौँमा कला र संगीत क्षेत्रमा संघर्षरत कलाकारहरुको साझा संस्था खोटाङ कलाकार समाजले जिल्लामा रहेको प्रतिभाहरुको सम्मान गर्न यो कार्यक्रमको आयोजना गर्न लागेको जनाएको छ । खोटाङ्गे भनेपछि यसैपनि कला क्षेत्रमा लगनशिल हुन्छन भन्ने मान्यता जबरजस्त स्थापित भईसकेकाले आफ्नो उत्तराधिकारी खोज्न अग्रज कलाकारहरु लागि परेको कलकार समाजका अध्यक्ष रुपकुमार राईले जानकारी दिनुभयो ।
खोटाङ जिल्लाको दक्षिण क्षेत्रबाट प्रतिभाहरुको खोजि गर्न प्रतियोगिताहरु संचालन गरिने आयोजकले जनाएको छ । कलाकार समाजले नयाबर्ष २०८० सालको शुरुवाती संगै खोटाङ जिल्लाको बाराहा पोखरीबाट अभियानको थालनी गर्ने छ ।
कलाकार समाजले हरेक पालिकामा कार्यक्रमको संयोजन गर्नेगरी सम्पर्क व्यक्ति समेत तोकेर तालिका सार्वजनिक गरेको छ । कार्यक्रमको तालिका अनुसार बाराहापोखरी गाउँपालिकामा २०८० साल बैसाख ५ र ६ गते प्रतियोगिता हुनेछ ।
यसैगरी जन्तेढुँगामा बैसाख ६ र ७ गते, खोटेहाङ ७ र ८ गते, दिप्रुङ ९ र १० गते, साकेला ११ र १२ गते, केपिलासगढी १२ र १३ गते, ऐसेलुखर्क १३ र १४ गते, रावावेसी १४ र १५ गते हलेसी तुवाचुङ नगरपालिका १५ र १६ गते कार्यक्रम संचालन हुनेछ । यसैगरी सबै भन्दा अन्तिम बैसाख १६ र १७ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कार्यक्रम सकिने छ ।
हरेक पालिकामा पहिलो दिन अडिसन राउण्ड र दोस्रोदिन फाईनल राउण्डको प्रतियोगिता रहने आयोजक कलाकार समाजले जनाएको छ । यसैगरी प्रतियोगिता गराउनका लागि बाराहापोखरीमा हाँस्यकलाकार पार्वन राई, जन्तेढुँगामा गायीका मिना राई, खोटेहाङमा गायक जसदिप राई, दिप्रुङ चुईचुम्मामा गायक रोशन राई (पालुवास्टार) , साकेलामा विनोद खम्बु, केपिलासगढीमा संगीतकार अनिल कोयी राई, ऐसेलुखर्कमा गायक विक्रम राई, रावावेसीमा नृत्य निर्देशक अनिल थुलुङ, हलेसीतुवाचुङमा दिपेश राई र दिक्तेल रुपाकोट मझुवागढीमा गायीका मेनुका राईलाई सम्पर्क व्यक्तिका रुपमा तोकेको छ ।
कलाकार समाजले प्रतियोगिताको पहिलो दिन गायन तथा नृत्य दुवै विधाको अडिसन गराउने र दोस्रो दिन फाइनल गराउने जनाएको छ । त्यसैगरी प्रतियोगीतामा आफ्नै गाउँपालिका तथा नगरपालिकाबाट मात्र भाग लिन पाउने, प्रत्येक पालिका तथा नगरपालिकाबाट प्रथम र द्वितीयलाई मात्र पुरस्कृत गराईने, गायन विधामा प्रतियोगी आफैले आफूले गाउने गीतको म्युजिक ट्रयाकको व्यवस्था आफैँ गर्नुपर्ने, र नृत्य विधामा प्रतियोगीले आफूले नृत्य गर्ने गीत आफै व्यवस्था गर्नपर्ने नियम उल्लेख गरेको छ ।
प्रत्येक प्रतियोगीले आफ्नो नागरिकता वा जन्मदर्ताको प्रमाणपत्र पेश गर्नुपर्ने र प्रत्येक पालिकामा प्रथम हुने पालिका प्रतिभा उत्कृष्टलाई जिल्ला प्रतिभा प्रतियोगितामा सहभागी गराईने कार्यक्रम आयोजकले राखेको छ ।