नमस्ते ! म लिलाहाङ राई ।
मेरो घर यहिँ परतिर हो ।
म प्रत्येक दिन यहाँको सुक्खा डाँडामा रोपिएको चिया बगानमा पानी फिट्ने गर्छु ।
मलाई अबको पाँचबर्ष पछि यो डाँडाहरु हरियाली भएको हेर्न मन छ ।
मलाई यो डाँडा सिँगार्ने अवसर प्राप्त भएको छ ।
सुखले भनौँ या दुःखले म निरन्तर यहि काम गरिरहेको छु ।
मेरो काम यी चिया रोपिएका खैराते डाँडालाई हरियाली बनाउने हो ।
यी माथीका कुरा उनै लिलाहाङ राईले मनमनमा व्यक्त गरेका बोलि हुन् । केही दिन अगाडि खोटाङ जिल्लाका प्रतिनिधीसभा सदस्य माननीय रामकुमार राई पासाङसँगको यात्रामा जाँदा भेटिएका युवा हुन् उनि । उमेरले १६÷१७ बर्षका जतिका देखिने लजालु स्वभावका यी भाईले साकेला गाउँपालिकाले लगाएको चिया बगानमा पानी लगाउँदै थिए । एउटा ठुलो पायपबाट चियाको बोटहरुमा पानी छिटि रहेका उनलाई हामी त्यहाँ जानु र नजानुको कुनै प्रवाह थिएन ।
खोटाङ जिल्लाको सदरमुकामबाट बिहान मध्यपहाडी लोकमार्गको बाटो पछ्याउँदै हिँडेका हामी दुईजनाको यात्रा निर्मलीडाँडाको पेलुङमा पुगेर एकछिन विसाएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दिनेश कठायतका बुवाको रमाईलो गफ सुनेर निस्केका हामिले केही पर पुगेर जनयुद्धका शदि कमरेड एकताको आमासँग भेट्न पुगेका थियौँ । सामन्य भलाकुसारी गरेर हिँडेको हाम्रो यात्राले ४८ किलो मिटरको यात्रा चखेवामा विश्राम लिएको थियो । जानु पर्ने थियो खोटेहाङ गाउँपालिकाको वाप्लुखा तर जाँदै थियौँ भोजपुरको बाटो ।
चखेवामा केही समय अलमलिएपछि टेम्केलाई दाईने पारेर हामी भोजपुरको पाटोबाट हाँकियौँ । हाँकिदै जाँदा भोजपुरको पान्धारे बजार र तावाभञ्ज्याङको सिमानामा पुगेर फेरी केही छिन रोकिएका थियौँ ।
त्यही तावा भञ्ज्याङमा सुक्खा डाँडालाई मजाले गरा मिलाएर रोपिएको चियाको बोटहरु देखेपछि कसो कसो विसाउन पुगियो । एउटा डाँडामा शहिद स्मृति पार्क बनेको रहेछ । जनयुद्धकालिन खोटाङ जिल्लाका ७२ जना र कर्मचारी आन्दोलनका क्रममा मृत्यु वरण गरेका १ जना गरि ७३ जना शहिदहरुको नाममा बनेको स्मृत पार्कमा बसेर फोटो नखिच्ने कुरै भएन । फोटो खिचियो । यो सँगै त्यहि नजिकै धमाधम पानी छिट्दै थिए लिलाहाङ ।
गफ गर्ने मनशायले नजिकै पुग्दा उनि भने लजाउँदै तर्किन खोजे । उनि पानीमै व्यस्त थिए । उनको नाम सोधेको मात्र के थिएँ तर्कदै लिलाहाङ राई भन्दै अर्कोतिर पानी तान्न थाले । केही न केही सोध्ने हुटहुटि थियो । तरपनि उनि मौन जस्तै बसेर एकशुरमा पानी लगाईरहे पछि केही फोटो खिच्ने बाहेक केही कुरा गर्नै सकिएन । तरपनि उनको मनको भाव मजाले बुझिने किसिमको झल्किरहेको थियो ।
वरिपरि साना साना जुरेडाँडाहरु छन् । सबै डाँडाहरुमा चिया लगाईएको छ । सबैतिरको चिया बचाउन उनको ध्याउन्न छ । उनकै लगनशिलताको आधारमा चियाको बोटहरु बाँचे अबको ५ बर्षमा यहाँ हरियाली छाउने छ । माननीय ज्युले भन्नु भयो । ‘यो ठाउँ मुन्धुम ट्रेलको शुरुवाती ठाउँ हो । यसबाट मुन्धुम पदमार्गको शुरुवात भएर टेम्के निस्कने चखेवा भञ्ज्याङ झर्ने र उहि मुन्धुम ट्रेलको बाटो समातेर साल्पा सिलिचो पुग्ने हो ।’
हामीलाई हतारो भईसकेको थियो बाँकी गफ बाटैमा गरौँला भन्दै हामी त्यहाँबाट वाप्लुखा तर्फ अगाडि बढ्यौँ । बिचमा मेरो मनमा अनेक तर्कना आउन थाल्यो । यसको परिकल्पना गर्ने परिकल्पनाकार झंकार जीको मनमा कस्तो होला ? सायद मेरै जस्तो परिकल्पना भएमा यो ठाउँ मुन्धुम ट्रेलका लागि टि–गार्डेन हुनेछ । माननीय ज्युले भने जस्तै यहाँ ठुलो ताल बन्नेछ । त्यसमा बोटिङमा सवार मानिसहरु रमाई रहेका हुने छन् । नजिकै रेम्बो ट्राउट माछा पालिएका छन् । नजिकै कालिज पालिएका छन् । यसो परतिरको गाउँमा माहुरीको मह खान पाईने छ । तालको नजिकै होम स्टेमा कफि खाँदै अबको ५ बर्षपछि तावाताल र मुन्धुम टि–गार्डेनमा बसेर रमाईलो गरिने छ ।
सम्झेको यति…।
बाकीँ तस्विरहरु :–