भिम राई
संयोगवस नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधीसभा सदस्य माननीय रामकुमार राई पासाङसँग तीन दिन सँगै घुम्ने अवसर मिल्यो । कार्यक्रमहरु औपचारिक थिए । साकेला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र खोटेहाङ गाउँपालिकामा २००७ सालका क्रान्तिका नायक रामप्रसाद राईको पूर्ण कदको शालिक अनावरण ।
हामी माननीयसँगै तीनजनाको टोलिमा थियौँ । मित्र अरुण चाम्लिङ कमरेड पासाङको सचिवालयका सचिव । म भने घुमन्ते । काम त आ–आफ्नै प्रकृतिको हुने नै भयो । हामीले तय गरेका यात्रासँग केही वर्गिय कुराहरु जोडिएका थिए । केही श्रमजीविका कथाहरु सुन्नु थियो । अझै अरु केही नया भेटिन्छ कि ? भन्ने कौतहुलता र मेरालागि भने सम्बन्धहरुको नविकरण विस्तारका कामहरु ।
यसै मेसोमा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको याम्खा पुगियो एक विहानै । मोटर साईकलमा दौडिरहेको बेला पासाङ कमरेडले एकछिन यता निस्कौँ है भन्ने प्रस्ताव राख्नु भयो मैले नाई भन्ने कुरै थिएन । अरुण जिले घ्याच्च बाईक रोक्नै प¥यो । रोक्नु भयो । अघिल्लो दिन त्यहि बाटो जाँदा कमरेड पासाङले चिनाउनु भएको घर मैले भुलिसकेको थिए छु । बाईक रोकिन साथ हामी झ¥यौँ बाटोमुनि माटोको छाना भएको घरतीर । बाटैमुनी पर्दो रहेछ इन्द्रमणी घिमिरेको घर । त्यता सामन्य नमस्कार आदान प्रदान पछि माननीय तल्लोघर तर्फ लाग्नु भो । पछ्याउँदै झर्नु त छँदैछ ।
तल्लो घरमा भेटिईन एकजना ७७ बर्षिय आमा । आमा नमस्कार ! म रामकुमार राई पासाङ भन्दै माननीयले बोलेपछि आमा मलिन हुँदै बाबु नमस्कार कहिले आयौ ? बाट संवाद शुरु भयो । यस बेला पो झल्यास्स भईयो उहाँ त शहिदको आमा पो हुनुहँुदो रहेछ ।

यानुका घिमिरे । उमेर २००२ सालमा जन्मेकी अहिले ७७ बर्ष पुगिन् । पारिवारीक हिसाबले ७ जना छोराहरु जन्माएकी आमा । उनले धेरै बोलिनन् । तर मनले धेरै ओकल्यो । अनुहार सबैभन्दा जगजगी बोलि रहेको थियो । माननीयसँग सन्चो विसन्चोको कुरा भयो । तर उनको भावले बोलि रहेको थियो । ‘मेरो छोरा बाँचेको भए तिमिहरु जस्तै आमा ! भन्दै बोलाउँदो हो ।’ सामन्य भलाकुसारी भएपछि माननीय राईले ‘आमा अब हामी जान्छौँ है’ भन्नु भएको थियो । आमाको मलिन अनुहारमा अझै भावहरु उर्लन थाल्यो । उनले केही नभनी भनिन् ‘मलाई त शम्भुले रुवायो नानी’ मैले भाव बुझिन । उनले थपिन ‘खै ल्याएर कोठामा थुनेर राखेको छ । बाहिर राखिदिन पाए सारै खुशी हुने थिँए ।’ उनले थपिन् ‘यहि माथी सडकमा मेरो छोरा उभिरहेको हेर्ने मेरो एउटा सपना छ ।’
माननीय ज्युले त कुरा थाहा पाउनु भयो । तर मलाई सकस थियो । मैले हेरिरहेँ आमाको माया छल्किएको त्यो आँखा, आउन लागेको तर रोकिएको बोली, चलमलाउन लागेको ओठ तर अवाक भएर एकोहोर आशावादी अनुहार ।
‘अब यसपालि जसरी पनि निकाल्नु पर्छ आमा’ माननीय पासाङले यति भनिसक्दा खुलि सक्यो । उहाँ तत्कालिन माओवादी जनयुद्धमा शहिद हुनुभएको कमरेड किरणको आमा हुनुहुन्छ भन्ने । उहाँको जेठा छोरा नै हुनु शम्भु घिमिरे । पेशाले निर्माण व्यवसायी हुनुहुन्छ । उहाँले नै आफ्नो माईलो भाई किरण अर्थात भिम घिमिरेको शालिक बनाएर ल्याउनु भएको रहेछ । उचित व्यवस्थापन गर्न नसकिएका कारण शालिक कोठामै थन्काईएको रहेछ । आमाका लागि शालिक बनाएर ल्याउँदा लागेको त्यो खुशी अहिले कोठा भित्रै लडाई राख्दाको यो पिडा सुनाउने ठाउँ नपाउँदाको क्षण ।
आमाको टिलपिलाएको आँखालाई छलेर केही अमिलिएको मनलाई भारी बनाउँदै प्रतिवद्धता व्यक्त गर्न बाहेक अरु न माननीय सँग न हामीसँग कुनै उपाय नै थियो र ? हामीले एका एक उहि रेडिमेड उत्तर दिदै आमालाई भन्यौँ ‘अब चाँडै सकेसम्म यसै बर्ष शालिकलाई बाहिर राख्ने वातावरण निर्माण गर्छौ आमा’ ।
यति भनेर बाटो लागेको हाम्रो टोलिमा अरुले के सोच्नु भयो होला मलाई थाहा छैन । तर मैले सोचि रहेँ यीनै आमाहरुका ती वीर छोराछोरीले आफ्नो जीवन दिएर आएको हो यो व्यवस्था । यो व्यवस्थाले आमाहरुलाई केही खुशीहरु दिएका होेलान् तर ती छोराछोरीसँगै हिँडेका अहिलेका हामीले आमाहरुलाई के दिन सक्यौँ ? उनिहरुले धेरै मागेका छैनन् । आमा यनुका घिमिरेले भने जस्तै ‘अब रोएर बसेर मेरो छोरा फर्किने छैन तर उसैको सम्झनामा सबैले देख्ने ठाउँमा मेरो छोरा उभ्याई देओ त्यति भए पुग्छ ।’ कति सरल माग छ । कति सजिलो माग छ । आमाहरुको इच्छा र चाहानाहरु कति कारुणिक र दर्द मिसिएका माग होलान् । यतापटि हामीले अब सोच्नै पर्छ । उनी त कमरेड किरण ( भिम घिमिरे) को मात्र आमा होईनन् । शम्भु, कृष्ण र कान्छोका मात्र आमा होईनन् । सिँगो यो परिर्वतनको पक्षमा लाग्ने योद्धाहरुको आमा हुन्, उनि शहिदको आमा मात्र होईन वर्तमान व्यवस्थाको समेत आमा हुन् । अब उनलाई किन सम्मान नगर्ने उनको भावनाको किन कदर नगर्ने ? प्रश्न छ ।
