संभावित वनको क्षति जोगाउन स्वंयसेवी समुहरु बनाईने


दिक्तेल
माघ, २५ बुधबार । जिल्ला वन क्षेत्र समन्वय समिति खोटाङले खडेरी तथा हावा हुरीको सिजन शुरु भएसँगै हुन सक्ने संभावित घटनाहरुको न्युनिकरणका लागि सचेतना अभियान चलाउने निर्णय गरेको छ । बुधबार जिल्ला वन डिभिजन कार्यलय खोटाङमा बसेको समितिको बैठकले संभावित वन डढेलो नियन्त्रणका लागि विभिन्न स्थानमा स्वयमसेवि उपसमुहहरु गठन गर्ने समेत निर्णय गरेको छ ।

जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको अध्यक्षतामा बसेको बैठकले करिब पाँच महिनादेखि पानी नपरेर बढेको खडेरीका कारण कृषि र वन लगायतमा नकरात्मक प्रभाव परिरहेको भन्दै वनक्षेत्रमा खडेरीको जोखिम बढेको जनाएको छ । यस्तो बेला सबैप्रकारका वन समुहरूले आगलागी हुन नदिन सर्बसाधारणलाई सचेत गर्ने गराउने तथा अग्नि नियण्त्रक रेखा बनाउन र डढेलो नियन्त्रणका लागि स्वयमसेवी उपसमूहरू गठन गर्न गराउन अनुरोध गरेको हो ।

यसै गरी बैठकले विशेष गरेर सडक लगायत भौतिक पूर्वाधार निर्माणका काम गर्दा वनलाई हानी भईरहेको ठहर गरेको छ । विना पूर्वतयारी जथाभावि ठुलठुला मेशिन तथा औजार प्रयोग गर्दा वनको हैसियत बिग्रने, भौगोलिक संरचनामा नै परिवर्तन हुने जस्ता कार्यहरुले वन विनास तर्फ गईरहेको बैठकमा सहभागिहरुले बताएका छन् । माटो कटिङ गर्दा, वन क्षेत्रको ढुङ्गा निकाल्दा पैरोको जोखिम बढेको, गिटी बालुवाको उत्खनन् र प्रयोग मापदण्ड अनुसार गरेको नपाईएकोले यसलाई नियमन गर्न आवश्यक रहेको समितिका अध्यक्ष राईले बताउनु भयो ।

स्थानीय स्तरमा रहेको विभिन्न किसिमका वनहरुमा सबै उस्तै समस्या रहेको प्रति इंकित गर्दै सबै किसिमका वनहरुले तत्काल मापदण्ड बनाएरमात्र यस्ता किसिमका ढुँगा, माटो, गिटी, बालुवा तथा विभिन्न किसिमका वन पैदावारको व्यवस्थापन गर्न बैठकले निर्णय गरेको छ । जिल्ला डिभिजन वन कार्यालयका प्रमुख सदस्य सचिव रहेको जिल्ला वन क्षेत्र समन्वय समितिमा स्थानीय तहको प्रमुख, जिल्ला प्रशासन कार्यालयको प्रतिनिधी, विभिन्न विषयगत कार्यलयका प्रतिनिधी, सामुदायीक वन उपभोक्ता समुह, तथा वन पैदावारबाट स्थापित उद्योगहरुको प्रतिनिधीहरु सदस्य रहने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार