खम्बुहाङको ११ औँ सन्तानलाई ठाउँ चिनाउने माखि कुकुरबाट माक्पा

– भिम राई

खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँ पालिकाको वडा नं ७ मा रहेको साविकको गाविस हो माक्पा । माक्पा प्राय चर्चामा नआउने गाउँ । यस पटक बढौ मजाले चर्चामा आयो । सामाजिक सञ्जालमा एउटा कुकुरको शालिक निर्माण गरिएको तस्विरले माक्पालाई एका एक चर्चामा ल्यायो । भीम उपाध्यय नाम गरेको फेसबुक एकाउण्टबाट सामाजिक सञ्जालमा कुकुरको शालिक सहित पोष्ट भएको फोटोले माक्पा भन्ने ठाउँको राम्रै परिचय दियो । सामाजिक सञ्जाल न हो राम्रा नराम्रा टिक्का टिप्पणीहरु आउने नै भयो । सोही अनुसारको प्रतिकृयाहरु आए । सामाजिक सञ्जालमा यस्ता टिप्पणीहरु आएपछि यसको ऐतिहासिक तथ्यहरुलाई सार्वजनीक गर्न आवश्यकता महसुस भएको छ ।

मेरा पत्रकार मित्र दमन राईले शनिबार राती उहि सामाजिक सञ्जाल प्रयोग गरेर म्यासेन्जरमा सोधनी गर्नु भयो । ‘हैन दाई माक्पामा भएको कुकुरको शालिकको तस्विर भाईरल भैराछ त ! कुरा के हो ?’ यसपछि थाहा भो माक्पामा भएको मेरो पुर्खाको साथी माखी कुकुरको शालिकले पनि चर्चा पाएको रहेछ । यो सकरात्मक नै हौ कुरा तर धेरैले यसको ऐतिहासिक वास्तविक तथ्यहरु थाहा नपाउँदा गलत टिप्पणीहरु आएका रहेछन् । भ्रमहरु छरिएछन् । स्वभाविक हो सबै तथ्य नजानेपछि मानिसहरुलाई विभिन्न नजरअन्दाज गर्ने छुट छ ।

कुरा यस्तो छ । यस ठाउँमा करिब २३ पुस्ता अगाडि दुमी राईका पूर्खाहरु आएर वसोवास गरेको पाईन्छ । खम्बुहाङका ११ औँ सन्तान गान्पा र रतेपा दुई दाजुभाईले माखि कुकुरको बाटो पछ्याउँदै आएका थिए । ( चतुरभक्त राई ईसिलिम बर्ष ३ अंक ४) खोटाङ जिल्लाको हाल केपिलासगढी गाउँपालिका ४ साविक बाक्सिला सिम्पानी दुम्कीलुबाट दुमी पुर्खाहरु माखि कुकुरलाई पछ्याउँदै आएका हुन् । त्यसबेला समय शिकारी समय थियो । मिथकीय जस्तो लाग्ने त्यसबेलाको घटना अहिले सुनिजानेका मात्र हुन् ।

वंशावली अनुसार गान्पा र रतेपाका बाबु मधुआपा हुन् । उनिहरु त्यस क्षेत्रमा अन्य दाजुभाई भन्दा अलि निम्छरो ठहरिएका होलान् र नै शिकार खेल्नका लागि रावाखोला फेदी दारेगौँडा (हालको सप्तेश्वर) तर्फ नियमित आउने गर्थे । यसरी शिकार खेल्न आउँदा सँधै उनिहरुसँग माखी कुकुर साथै हुने गर्दथ्यो । एकदिन शिकार खेल्ने क्रममा आफ्नो साथमा आएको कुकुर एक्कासी हरायो । निकै बेर सम्म प्रतिक्षा गर्दा समेत कुकुर नआएपछि गान्पा र रतेपा अन्यौलमा परे । साँझ पख कुकुर आयो दुवै खुशी भए । कुकुरलाई हेर्दा जीउभरी भेडा कुरो (एकप्रकार झार) टाँसिएको देखे । त्यसपछि उनिहरुले लख काटे । यो माखी जुन ठाउँमा पुगेर आयो त्यो ठाउँ साँच्चै उब्जनी हुने ठाउँ छ । अब त्यतै गएर आफ्नो सुतिथाती गर्नुपर्छ भन्ने सल्लाहा भयो । यसको भोलि पल्टै दुवै भाईले माखीलाई अगाडि लाएर हाल बसोवास गरेको ठाउँ आईपुगे । ठाउँ हेर्दा निकै राम्रो र आकषर्क समथर परेको भु–भाग देखेपछि यहि बसोवास शुरु गरेको पुर्खाहरुको भनाई रहेको छ ।

अर्को मिथ्थकपनि छ । गान्पा र रतेपाका बाजेहरु दुईभाई रुमरुप(वालु) र पालुम । पालुम कान्छा भएकाले बाबुले बनाएको घरमा बस्ने नै भए । दाजु रुमरुपले बाक्सिला सिम्पानी मै सानो झुप्रो बारेर बसेका थिए । उनको छोरा मधुआपा छोराहरु सानै हुँदा बिति गए । त्यसपछि गान्पा र रतेपाले दुःख पाएका थिए । यस मध्ये गान्पा कुबिमि ( अर्थात कुलधामी) थिए । उनि पनि भाईलाई मुलघर छाडेर निस्कनु पर्ने नै भयो । छुट्टै घर बनाएर उनि छुट्टिए । तर भाई गान्पाले दाजुले घर बनाएर छुट्टिएपछि उनकै घर ठिकमुनी घु¥यानमा अर्को घर बनाउने गर्दा रहेछन् । घर बनाएर दुईचार दिन बस्दै गयो । दाजुलाई किचकिच गर्दै दाजु घरमाथीबाट यसो गरिस उसो गरिस भन्ने गर्दा रहेछन् । एकदिन वाक्क भएपछि गान्पाले आफ्नो अर्दली (अन्चो) सँगै राखेर आफुले पालिरहेको माखि कुकुरलाई भनेछन् । ‘हेर माखी मेरो भाईले जहाँ गएपनि बसि खान दिएन । अब सबै कुरा सुँघेर पत्ता लगाउन सक्ने तैँ होस् । जा जुन ठाउँमा मान्छे बस्न लायक ठाउँछ । जुन ठाउँमा मिठो पानीको शक्ति छ । पत्ता लगाएर आईज ।’ ( सेन्दावा माखी ओ पे आ खमु खुस्तो खोयो जुना मुना आबेङुनो । ताम्बी आनी ङा मुरुनारु तुम्ना कोक्सा आमोता । लु खुचा खम्बी गोता मिनुनाम्चु मुना नुक्सा थाम्पु लुमा । स्वगुर्सा क्वाङ्कु लुमाका ह ।)

माखीले मालिक यो बचन सुन्नसाथ घरबाट निस्केर हिड्यो । बिहानै हिडेको माखि कुकुर रावाखोला तरेर हाल शालिक बनाइएको ठाडो बाटो (जस्लाई दुम्ली भनिन्छ) निस्केर तेर्सो लाग्यो । हाल भुमेथान भएको नजिकै पुगेर हातले खोर्सन थाल्यो । त्यही ठाउँमा गान्पाले आफ्नो भुप्रो बनाएर बसे । यसका नजिकै पानीको कुवापनि रहेकाले यो उपयुक्त ठाउँ बन्यो । सिम्पानीबाट गान्पाले माखि पछ्याउँदै आएपछि रतेपाले पनि बाटो पैलाउँदै आए । फेरीपनि दाजुकै घरमुनी अर्को घर बनाएर बसे ।

गान्पाले सिम्पानी घर छाड्दाको कथा अझै रोचक छ । रातदिन भाईले कचकच गरेपछि दाजु गान्पाले घरमा ठुलो दाउराको मुढो ल्याएर अगेनुमा जोड्छन् । नजिकै छिपेको बास्ने भालेलाई बाँधेर टन्नै चारो छरिदिन्छन् र उनि माखी पछ्याउँदै हिँडछन् । उता भाई रतेपा भने दाजुको घरमा आगोको धुवाँ आईरहेको, कुखुराको भाले बासीरहेको सुनेर ढुक्कै शिकार खेल्ने र बस्ने खाने गरिरहेका हुन्छन् । तर केही दिनपछि भाले बास्न छाड्छ । धुँवा निस्कन छाड्छ । यसपछि भने उनले दाजुको खोजि गर्छन । बोलाउँछन् । आफ्नो परिवार जस्तै प्यारो माखी कुकुरलाई कराउँछन् । कतै चालचुल नसुनेपछि झोरघारी बाटो पहिल्याउँदै दाजु बसेका ठाउँ माखिपा आई पुग्छन् ।

दुमी भाषी राईहरु मध्ये यस क्षेत्रमा बस्ने गान्पा र रतेपाको सन्तानहरुका लागि आफ्ना पुर्खाको आत्मिय साथी ‘माखी’को शालिक हो अहिले बनेको कुकुरको शालिक । गान्पा र रतेपा आएको करिब १२ पुस्ता पुरा भईसकेको छ । हाल यस क्षेत्रमा भएका हलक्सु, खारुबु, हजुरचु र वालक्पा चार पाछाका दुमीहरुको आस्था र विस्वास रहेको माखि कुकुरको शालिक नजिकै अहिले पनि माखी कुकुरको चिहान देख्न सकिन्छ । सुरक्षित छ । पुरातात्विक अध्ययन गर्न सक्दा अझै थप प्रमाणित हुने छ । यहि कथा र कैरनका आधारमा माखिबाट माखिपा हुँदै माकिपा र माकिपा बाट अहिले माक्पामा हामी आईपुगेका छौँ । एउटा माखिपा शब्दलाई माक्पा हुन १२ औं पुस्ता लाग्दो रहेछ भन्ने कुरा समेत तथ्यले देखाएको छ । सामाजिक सञ्जालमा जे जस्तो आयो सबैलाई सेवाखन्ने !

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार