हलेसी तुवाचुङ
बिहिबार, २३ असार । हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ बाहुनीडाडाँमा ‘जीवन र शिक्षामा दिगो सुधार’ भन्ने नाराका साथ दिगो तथा एकिकृत सामुदायीक परियोजनाले विभिन्न किसिमका सेवा सुविधा उपलब्ध गराउँदै आएको छ । नाजरिन परोपकार सेवा नेपाल अन्र्तगत हेल्पिङ ह्याण्ड्स जर्मनको सहयोगमा बाहुनी डाडाँको करिब २ सय घरपरिवारलाई परियोजनाले कृषि तथा शिक्षा क्षेत्रमा कामगर्दै आएको हो ।
प्रत्येक कृषकहरुलाई इच्छा अनुसार परियोजनाले पशुपालन तथा तरकारी खेति सम्बन्धी अनुदान उपलब्ध गराउँदै आएको छ । सुँगुरको पाठा, बाख्राको पाठा, भैँसी, लोकल कुखुरा तथा बोईलर कुखुराको व्यवसाय गर्न किसानलाई अनुदान उपलब्ध गराउँदै आएको कार्यक्रमका जिल्ला प्रमुख मनोज राईले जानकारी दिनु भएको छ ।
एक परिवारलाई पशुपालनका निम्ति रु ६० हजार रुपैयाँ बराबरको पशु चौपाय तथा कुखुरा उपलब्ध गराउँदै आएको राईले जानकारी दिनु भयो । उहाँका अनुसार सुँगुरको पाठा भए ६ वटा, बाख्रा ४ वटा, भैँसी भए एउटा कुखुरा २०० वटा वितरण गर्दै आएको छ । प्राथामिकताको आधारमा पहिलो चरणको वितरण कार्यक्रम सकिएको छ । दोस्रो चरणको काम शुरु भईसकेको पनि राईको भनाई छ ।
परियोजनाले विद्यार्थीहरुका लागी झोला, विद्यालयको पोशाक, विद्यार्थीलाई खाजा तथा अतिरिक्त कक्षा (ट्युशन) समेत पढाउँदै आएको राईले जानकारी दिनुभयो । कृषकहरुलाई आत्मनिर्भर बनाउन तरकारी खेति सम्बन्धी तालिम तथा विउ वितरण गर्दै आएको परियोजना जर्मन सरकारको सहयोगमा संचालन गरिएको हो । बाहुनीडाँडा छ वटा टोलमा कार्यक्षेत्र बनाएको संस्थाले आगामी ३ बर्ष सम्म विभिन्न किसमका कार्यक्रमहरु संचालन गर्ने छ ।