भिम राई
खोटाङ जिल्लामा पछिल्लो वर्षहरुमा आफुले आफैलाई मार्नेकाम (आत्महत्या) तिब्ररुपमा बढीरहेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङमा रहेको तथ्यांक हेर्दा अवस्था कहालि लाग्दो मात्र होईन डरलाग्दो छ । जिल्लामा गएको तीनबर्षको यताको मात्र तथ्यांक लिने हो भने आत्महत्या गर्नेको संख्या विकराल छ । जीवन देखि वाक्क मानेर रोजिएको मृत्युका अनेक कारणहरु रहेका हुन्छन् । मानवीय ईच्छा र चाहानाहरुको सन्तुलित व्यवस्थापन हुन नसक्नु मृत्युको मूल कारण हो । भने समाजले त्यस्तो मृत्युका कारण नखोज्नु अर्को दुखद समस्या हो ।
झट्ट हेर्दा आत्महत्या व्यक्तिगत कारणले हुने गरे जस्तो देखिएपनि यो मूलत सामाजिक कारणले हुने गर्दछन् । सामाजिक मनोपरामर्श दाताहरुको अभावले अकालमा धेरैले ज्यान गुमाउनु परिरहेको अहिलेको परिस्थिती हो । यसलाई बेलैमा गम्भिरतापूर्वक लिन नसकेमा परिणाम अझै भयावह हुन सक्दछ ।
हामीले आत्महत्याको मृत्युलाई दुत्कारछौँ । मृत्यु भईसकेकाहरुलाईै समेत गालि गर्न नछाड्ने हाम्रो चलन रहेको छ । तर मृत्युका कारणहरु खोजि गर्नेतर्फ हाम्रो नजर पुगिरहेको छैन । कसैको मृत्युको मूलकारण के हो ? भन्ने प्रश्नको उत्तर जब सम्म पत्ता लाग्दैन यसको न्युनीकरणको संभावना देखिदैन ।
खोटाङ जिल्लामा आर्थिक वर्ष ०७५/०७६ देखि हाल सम्मको तथ्यांकलाई हेर्दा हामीले २०२ जना खोटाङे नागरिक आत्महत्याका कारण गुमाई सकेका छौँ । तीन बर्षको अवधीमा यतिका मान्छेहरुले झुण्डिएर तथा विष सेवन गरेर आत्महत्या गरिसकेका छन् । यो रोकिने क्रम छैन ।
जिल्ला प्रहरी कार्यालयको अभिलेख अनुसार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्र आत्महत्या गर्नेको संख्या बढी देखिन्छ । करिब साँढे तीनवर्षमा यस नगरपालिका भित्रमात्र ५३ जनाले ज्यान गुमाएका छन् । सबै भन्दा कम तथ्यांक रहेको बाराहा पोखरी गाउँपालिकामा १० जनाले आत्महत्या गरेको देखिन्छ ।
अभिलेखमा रहेको विवरण अनुसार हेर्दा हलेसी तुवाचुङ नगरपालिकामा २१ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिामा २३ जना, रावावेसी गाउँपालिकामा १७ जना, खोटेहाङ गाउँपालिकामा २० जना, जन्तेढुँगा गाउँपालिकामा ११ जना, ऐसेलुखर्क गाउँपालिकामा २१ जना, साकेला गाउँपालिकामा १४ जना र केपिलास गढी गाउँपालिकामा जम्मा १२ जनाले गएको तीनवर्ष भित्र आत्महत्या गरिसकेका छन् ।
विशेषत जातीगत हिसाबले हेर्दा आदीवासी जनजाती समुदायका १२५ जनाको यहिकारणले मृत्यु भएको छ । दलित समुदायका ३४ जनाले आफ्नो जीवन समाप्त पारेका छन् । उमेर समुहका आधारमा हेर्दा ४० बर्ष नकाटेका यूवा तथा किशोर किशोरीहरुले यस्तो गलत काम गरेको पाईन्छ । १२३ जना पुरुष, ६२ जना महिला तथा १७ जना बालबालिकाले आत्महत्या गरेको तथ्यांकमा उल्लेख छ । अझै पछिल्लो समयमा किशोर किशोरीमात्र नभई बालबालिकाहरुमा समेत आत्महत्याको बढी सन्त्रास फैलिएकोछ ।
यी माथीको आंकडाले के देखाउँछ भने यो सामाजिक रुपमा फैलिएको एक किसिमको रोग हो । यसमा पनि बढी कुनै एक समुदायमा यसको बढी प्रभाव देखिनु भनेको हाम्रो सामाजिक लुवाई खुवाईपनि एक हो । आवेगमा गरिने निर्णय र आवेगमा ल्यााउन सेवन गरिने पदार्थ यसको एउटा कारण हो । मदिरा सेवन तथा अन्य लागुऔसधको प्रयोगले पनि समस्या फैलदो रहेको छ ।
यस्तै सामाजिक सञ्जालको दुरपयोगले पनि यो समस्यालाई प्रोत्साहित गरेको छ । बढ्दो सामाजिक सञ्जालको प्रयोग । सम्पर्क समान्वयले बढाएको महत्वकांक्षा र यसलाई परिपुर्ती गर्न सक्ने आर्थिक हैसियत नहुनुले पनि आत्महत्या बढाउनमा मद्यत पु¥याई रहेको छ । खासगरी किशोर किशोरी तथा बालबालिकामा यसको असर परेको हुन्छ ।
यस्तै सामाजिक विभेद अर्को कारण हो । कसैले सामाजिक हिसाबले विभेदहरु भईरहेको र गरिरहेमा जीवन जीउनु सार्थकता नभेट्दा यो विकल्प रोजेका हुन सक्छन् । यी र यस्ता खास कारणहरु मृत्युपछि हामाील मसिनो गरी केलाउन नसक्दा समस्या आईरहेका छन् । मानवीय आवश्यकता असिमित ईच्छा र आकांक्षाहरुको उपज आत्महत्याको बाटो सम्म मान्छे पुग्छ । यसलाई एउटा व्यक्तिको समस्याको रुपमा हामीले बुझि दिनाले यसको न्युनिकरण तर्फ हाम्रो ध्यान पुग्न सकेको छैन । यसलाई साझा समस्याका रुपमा जब हामीले स्विकार गर्दैनौ समाधानको बाटाहरु समेत भेटिने छैन । यसका लागि सम्बन्धित सरोकारवाला कार्यालयहरु त लाग्नु पर्छ नै । यसका अलवा सामाजिक अभियान्ता भनिएकाहरुले समेत चासो चिन्ता र जागरणका कार्यक्रमहरु तय गर्नुपर्ने देखिन्छ ।
आत्महत्या जस्तो घटनाले विकराल रुप लिन लागेको यो परिस्थितीमा गाउँ गाउँमा मनोपरामर्श दाताहरुको व्यवस्था गर्न जरुरी छ । गाउँ टोल वस्तिहरुमा रहेका सामुहिक संगठनहरु, आमा समुह, यूवा समुह किसान समुह वा यस्तै सामुहीक संगठनहरुमा सचेतनाको कार्यक्रमहरु संचालन गरिनु पर्दछ । आत्महत्या किन हुन्छ ? भन्ने कुराको खोजी गरिनु पर्दछ ।
कसैलाई आत्महत्या नगर भन्नु भन्दा अगाडि उसको परिवेश र परिस्थितीको आँकलन गरेर सामाजिक दायित्व निर्वाह गर्न सक्ने बनाउन पर्दछ । यसका लागि सामाजिक दायीत्व भएमा सामाजिक हैसियतले कानुनी दायीत्व भएमा कानुनीरुपमा समाधानको बाटाहरु खोजिनु पर्दछ ।
पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय खोटाङले यो अभियानलाई केही उजागर गर्ने प्रयास शुरु गरिसकेको छ । प्रहरी नायब उपरिक्षक उमेश लम्शालको परिकल्पना लघुचलचित्र बनेको छ । यसलाई प्रत्येक विद्यालय स्तर सम्म प्रदर्शनको मेसो मात्र मिलाउने हो भने पनि केही हद सम्म सामाजिक राहत मिल्न सक्छ ।
<span;>जिल्लाका सम्पुर्ण सरोकारवालाहरुको विचमा आत्महत्या समस्याको रुपमा आईसक्यो यसको समाधान कसरी खोज्ने भन्ने विषयमा छलफल तथा कार्ययोजना निर्माणका कामहरु तत्काल शुरुवात गर्नुपर्ने देखिएको छ ।
प्रत्येक स्थानीय तहले मनो परामर्शदाताहरुको व्यवस्था गरेर छलफल अन्तरकृया गोष्ठिहरु चलाउन शुरु गर्न सकेमा आत्महत्याको बढ्दो रेसियो कम हुन्छ । आत्महत्या सामाजिक समस्या हो । यसलाई सामुहिक हिसाबले नै समाधान खोजिनु पर्छ ।