भिम राई
अलि पर होलेसुङ राजाको दरबार रहेको डाँडा । चाम्लिङ पुर्खाहरुको विरासत रहेको किराती वस्ति । त्यही रहेछ बुङालुङ अर्थात ढुँगे बगैँचा (रक गार्डेन) । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरापालिकामा पर्ने बुङालुङलाई त्यस भेगका केही चाम्लिङ राईहरुले लुङटोबुङ पनि भन्ने गरेको पाईन्छ ।
केही समय अगाडि पत्रकारको टोली हलेसी पुगेपछि रक गार्डेन अर्थात बुङालुङ हेर्न जाने योजना बनेको थियो । सबैको साझा निर्णय ढुंगे बँगैचा हेर्न जाने मै पक्का भएपछि त्यहि ठाउँको प्रर्वद्धनमा लागी परेका हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईलाई छुटाउने कुरै रहेन । हामी बसेकै होटलबाटै प्रमुख राईलाई खबर गरियो ।
नगरप्रमुख इवन राईको सकरात्मक प्रतिकृयापछि टोली आफ्नो सामा सर्दाम सहित हुँईकिन्छ बुङालुङ (रक गार्डेन) तर्फ । अघिपछि गर्दै बुङालुङ पुगेपछि सबैको मन फुरुङ । जता ततै होचा र साना साना ढुँगाहरुको विभिन्न किसिमको आकृतिहरुको बँगैचा देखेपछि सबैका क्यामेरा र मोवाइलहरुमा धमाधम फोटोहरु कैद हुन थाल्छन् ।
स्थानीय चाम्लिङ राईहरुको भाषामा भनिएको बुङालुङ, हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईले सोचेको रक गार्डेन, खोटाङ जिल्लाका पूर्व जिविस सभापति एवं नेपाली कांग्रेसका नेता विष्णु राईले भनेको ढुँगे बगैँचा जस्ले जे भनेपनि प्रकृतिको यो एउटा अनुपम उपहार हो यो भुमि ।
पुर्वतिर त्रिधार्मिक हलेसी महादेवस्थान, डाँडाभन्दा अलिकति तल ककनीदेवीको मन्दिर । पश्चिम तिर होलेसुङ राजाको दरबार रहेको स्थान दुर्छिमको एउटा डाँडामा यस्तो कसरी बन्न संभव भयो होला ? सबैको मनमा जिज्ञासा उठ्ने नै भयो ।
बुङालुङ अर्थात ढुँगे बगैँचाको बारेमा मिथकीय हिसाबले भनिने र सुनिने गरिएका धेरै किंवदन्तिहरु छन् । जसमध्ये हिन्दु धर्मका अनुयायीहरुले हलेस् महादेव थानमा भएका महादेवलाई भस्मासुरले लखेटे । भस्मासुरले लखेट्ने क्रममा भाग्दा महादेवको पाइला ककनी माथीको डाँडामा प¥यो । महादेवको पाईला परेपछि त्याहाँ एका एक कलात्मक मसिना ढुंगाहरु उम्रिएको हो ।
यस्तै किराती मिथकमा यस डाडाँलाई बुङालुङ भनिन्छ । ढुंगैढुंगाको फूल भएको यो ठाउँलाई स्थानीय चाम्लिङ पुर्खाहरुले ‘बुङालुङ’ भनेर नामाकरण गरे । चाम्लिङ भाषामा ‘बुङा’ भनेको फूल र ‘लुङ’ भनेको बगैँचा अर्थात फूलको बगैँचा । यहाँको ढुंगा आफैमा फूल हो ।
किराती सभ्यतामा तोयामा, खियामा र रैछाकुलेबारे लामो कथा छ । यहि कथा भित्र रहेको मध्ये साफोप्ते (लाटोकोसेरो) ले खियामालाई खाइदिए । तोयामाले आफ्नी बहिनी खियामाको बहुत खोजि गर्छिन् । उनले नजिकै रहेको साफोप्तेलाई धेरै पटक विन्ति भाउ गार्दै सोधेपछि उनी आजित भएर सुनाउँछन् ।
तुवाचुङ डाँडाँबाट पश्चिमतिर देखाउँदै ‘ऊ पर हेर ।’ तोयामाले पश्चिमतिर हेर्दा अहिलेको ढुँगे बगैँचामा खियामाको सेतैसेतो हाडखोर देख्छिन् । बहिनीको हाडखोरलाई साह्रै माया गरिन् । उनले केही हाडखोर जम्मा गरेर बहिनिलाई नया जीवन दिईन र बहिनीको सम्झना स्वरुप ती ढुँगाहरुलाई सुरक्षित भईरहनु भनेर आशिस दिईन् ।
यी माथीका भनाईहरुमा सत्यता के कति भन्ने कुराहरु मान्नेले मानिदिए सम्म मात्र हुन सक्छन् । यद्यपी प्राकृतिक हिसाबले यसको अध्ययन अनुसान्धान हुन जरुरी रहेको छ । पुरातात्विक हिसाबले यसको महत्वकाबारेमा खोजिनु पर्दछ ।
विश्वको आकर्षणको केन्द्र बन्दै गएको त्रिधार्मिक स्थल हलेसी धामको नजिकै यस्तो प्राकृतिक स्थल पाउनु त्यस क्षेत्रका लागि मात्रै होईन सिँगो मुलुककालागि समेत महत्वपूर्ण रहेको छ ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको ककनी डाँडामा करिब १६० रोपनी सरकारी जग्गा मध्ये ५६ रोपनी क्षेत्रफल भित्र विशेष गुरुयोजनाका साथ बुङालुङ अर्थात रकगार्डेनको विकास गरिन लागेको रहेछ ।
घुम्दैजाँदा हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईका अनुसार प्राकृतिक चट्टानले बनेको ककनीको मन्दीरभन्दा केहीमाथि रहेकाले ककनीमा पुग्ने पर्यटकलाई रक गार्डेनमा ल्याउन सहज रहेको छ ।
ककनी डाँडालाई आकर्षकस्थल बनाउनका लागि प्राकृतिकरुपमै सजिसजाउ ढुंगालाई सजाउने, ढुंगाका बीचबीचमा सुहाउँदो फूल रोप्ने, ठाउँ–ठाउँमा ढुंगे गेट बनाउने, ढुंगे धारा निर्माण गर्ने, ढुंगा कुँदेर महादेवलाई भस्मासुरले लखेटेको दृश्य झल्काउने मूर्ती बनाउने, प्राकृतिक ढुंगालाई नचलाईकन कालो, सेतो र रातो ढुंगा मिश्रण गरेर फूलको आकृति बनाउने, विभिन्न कला संस्कृति झल्कने सजावट गर्ने तयारी गरिएको रहेछ ।
डाँडामा रहेका कुनै पनि ढुंगालाई नबिगारी÷नचलाई सजावटका काम गरिने सुन्दा निकै आनन्दको परिकल्पना गर्न पाईयो । मध्यपहाडी लोकमार्गबाट पैदल उकालो करिब ३० मिनेटमा पुग्न सकिने सो ठाउँमा स्थानीय घुमफिर र पिकनिक पनि जाने गरेका रहेछन् ।
बुङालुङ डाडाँमा पुगेका बेला खोटाङगे पत्रकारको क्यामेराले नगर प्रमुख राईलाई ताक्ने भयो नै । साथीहरुले केही केही प्रश्नसहित नगरप्रमुखको धाराणा लिए । कुराकानी भनौँ अन्तरवार्ताको प्याक अप भएपछि प्रमुखसँग गफिदै घुमियो । कुरै कुरामा बुङालुङमा भएका सबै लुङ(ढुँगा)मा देखिएका विभिन्न स्वरुपहरुको बारेमा कुरा राखियो । हुनपनि त्यहाँका प्रत्येक ढुँगामा नया किसिमका आकृतिहरु देखिन्छन् ।
धार्मिक आस्था राख्नेहरुको नजरबाट हेर्ने हो भने प्रत्येक देवी देवताहरुको मुर्ति जस्ता आकृतिहरु छन् । प्रत्येक ढुँगाहरुले बोलिरहेको जस्तो देखिन्छ । प्रमुख राईले सम्झना सुनाउनु हुन्छ । ‘पहिलो चोटी आउँदा यहाँका ढुँगाहरु बोलिरहेको पाएँ । त्यहि भएर संरक्षणको लागि योजना बनाएँ ।’ वास्तवमै त्यहाँका ढुँगाका फुलहरु बोलिरहँदा रहेछन् ।
झट्ट मलाई लाग्यो । त्रि–धार्मिक स्थला हलेसी धामको दर्शनमा आउने तिर्थयात्रीलाई यहाँसम्म ल्याउने र उनले चाहेको देवताको नाममा एउटा लुङ उनलाई छान्न लगाएर पुजा गराउन पाएमा रमाईलो हुँदो हो । उसले रोजेको देवतालाई उसैले संरक्षण गर्दा पुन्य प्राप्ती हुँदो हो । यसका लागि प्रचार गर्न पाए यसक्षेत्रको धार्मिक तथा पर्यटकीय विकास त भईनै जानेछ । अझै संरक्षण र संवद्र्धन समेत हुन सक्ने थियो । धार्मिक दर्शन र मान्यता अनुसार ब्रम्हाण्डमा ३३ कोटी देवीदेवताहरु हुन्छन रे ! ती सबै लोकमा रहने देवीदेवताहरुको साझा ब्रम्हाण्डका रुपमा यो बगैँचालाई विकास गर्न सके पक्कै राम्रो हुने थियो ।
आशा गरौँ अबको प्रचार प्रसार र व्यवस्थापन त्यता तर्फ उन्मुख हुने छ ।