हाम्रा घरेलु उत्पादनका मौलिक सिपहरुको संरक्षण गरौँ

भिम राई

‘सिप भए भोकले मर्नु पर्दैन’ भन्ने पुरानो उखानलाई अहिले व्यवहारमा लागु गर्न थालिएको छ । गाउँ गाउँमा खेर गईरहेका मकैको खोसेलाको पातबाट विभिन्न किसिमका सामग्रीहरु निर्माण भईरहेका छन् । चाउ चाउ र विस्कुटका खोलहरुबाट राम्रा राम्रा सामग्रीहरु तयार पार्ने कामहरु भईरहेका छन् । यो एउटा उदाहरणीय काम हुन् । हामीसँग भएको ज्ञान र सिपहरु विस्तारै हराउँदै जाँदा यी कुराहरु समेत लोप हुने अवस्थामा पुगेको बेला यो काम गर्न र यसलाई विक्रि वितरणको मेसोमा लैजाने बजार प्रबन्ध गर्न अहिले स्थानीय तहका सरकारहरुले पहलकदमी उठाएको सबै भन्दा खुशीको कुरो हो । अझै स्थानीय बेरोजगार महिला दिदिबहिनीहरुलाई यी सिप प्रदान गरेर व्यवसायीक हिसाबले अगाडि लैजाने व्यवस्था गरिनु स्थानीय सरकारले आफ्नो कर्तव्य पुरा गरेको देखिन्छ ।
हामीले अहिले यी सिपहरुपनि रहेछन् भन्ने अवस्थामा आईपुग्नु पूर्व ती सबै सिपहरु हामीसँगै थिए । हाम्रा अग्रजहरुसँग रहेका ती सिपको व्यवसायीकरण हुन नसक्दा लोपन्मुख भएका मात्र हुन् । आधुनिकतासँगै आएका सजिला माध्यामहरुका कारण यस्ता हाम्रा मौलिक परम्परासँग जोडिएका सामग्रीहरु हराउँदै गएका छन् । प्लास्टिकको बढ्दो प्रयोगले हाम्रो सम्पुर्ण सिपहरु विस्थापित हुन थालेका छन् । प्राकृतिक हिसाबले समेत अफाप सिद्ध भनिएको प्लास्टिक तथा रबरबाट बनेका सामग्रीहरुको व्यापाप प्रयोगकका कारण हाम्रो मौलिक सिप र सिर्जनाहरुको बजार घटेका छन् । बस्ने, खाने, हिँड्ने, सुत्ने सबै सामग्रीहरुको हाम्रो मौलिक बनावट थियो । ती सबै विस्थापित गरिएको छ ।
गाउँ घरमा डोको नाम्लो, ढाकर टोक्मा त अब विस्तारै हराईनै सकेको छ । डोकोलाई विस्तारै प्लास्टिकको धोक्राले आक्रमण गरिरहेको छ । ढाकर भन्ने सामग्री नाममा मात्र सिमित हुन पुग्यो । हलो ताछ्ने मान्छे गाउँमा विरलै भेटिन्छन् । अन्न राख्ने भकारी, भर्ने डालो, डोकोमा लगाउने बरियो नाम्लो अब बुन्न सक्ने जनशक्ती कतै कतैमात्र पाईन्छ । ठाउँ र भुगोलको आधारमा हुने सिपहरु सबै मासिन थालेको छ । खोलाको गडतिरमा बस्ने समुदायले बुन्ने माछामार्ने जाल, माछा थाप्ने ढडिया, बोक्ने फुर्लुङ अब कस्ले बुन्ला ? लेकाली भेगमा रहेको समुदायले राख्ने डेली, पुराना विजुवा धामीले बोक्ने भुने अब बुन्न सक्ने मानिस भेटिन्न । दैनिक प्रयोग हुने खुकुरी दाप, बनाउने चमारदाई व्यवसाय कस्तो अवस्थमा गुज्रिएका होलान् । यी सबै आधुनिकताको दौडमा लाग्दा विस्थापित भएका घरेलु सिपहरु हुन् । अबको स्थानीय सरकारले यी र यस्ता कुराहरुमा अझै गम्भिर बन्न सकेमा साँच्चै संँघीयताको कारण हाम्रो मौलिक सिपहरुको संरक्षण र व्यवसायीकरण हुने रहेछ भन्ने सन्देश जाने थियो । त्यस क्षेत्रमा आफ्नो योजना र कार्यक्रमहरुलाई केन्द्रित गर्नपनि अनरोध सहित शुभकामना ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार