होस गर है धनकुमार !

Dhan Bahadur

– तेज कुमार राई
फोटो खिच्नलाई क्यामेराहरु गुट-गुट बनाएर आउछन्, तिमीलाई फर्काई-फर्काई खिच्छन्, तेर्स्याई-तेर्स्याई खिच्छन्, घरी निन्याउरो बन्न लगाउँछन् र खिच्छन् घरी “हाँसिदेऊ!” भन्छन् र फेरि खिच्छन् । क्यामेराले अह्राएबमोजिम विभिन्न ‘भाव’को नक्कल गर्दागर्दै तिमीले तिम्रो ‘पुस्तक’ नबिर्सिनू!
क्यामेरा तिम्रो संवेग किन्न आएको हो,यसको अगाडि ‘पुस्तक पढेको अभिनय’ गर्दागर्दै तिमी कतै ‘अभिनय’मै रमाउन नथाल्नू ! ‘पुस्तक’ अभिनयको लागि समात्ने हैन, बरु अभिनय गर्नेहरुको असलियत अनुहार चिन्न भने तिमीलाई त्यही पुस्तकले सहयोग गर्छ । क्यामेराले तिमी चढेको रुखको आकार खिच्न सक्छ तर रुख चढ्नलाई तिमीले खर्चेको शक्तिको आकार खिच्न सक्दैन । क्यामेराले तिमीलाई एक थान झोला र कलम सहयोग गर्ला तर पढाईप्रतिको ‘भोक’ दिन सक्दैन । पुस्तकमा गाता लगाउन ‘स्टिच् र स्टे’प्लर्’ नभएनी क्यै छैन, सियो धागोले सिलाउन सकिन्छ तर ‘पढ्ने भोक’को बिकल्प खोज्न सकिन्न ।
क्यामेराले तिमीलाई ‘सेल्फी’को नशा दिएर जाला । तिमीले ‘सेल्फी’तिर समय खेर नफाल्नू ! पढिरहनू,पढि नै रहनू ! तिमी रुखमाथी हुँदा- जस्ले जताबाट खिचोस्, जस्ले जसरी खिचोस्, तिमी रुखमाथी हुँदा- गाली नै आइरहोस् वा प्रशंसाहरुकै बतास चलिरहोस्,आउन दिनू,चल्न दिनू तर तिमी पढिनैरहनू !
मलाई डर छ- तिमीलाई कसैले तिम्रो इच्छाशक्तिको रुखबाट झार्न खोज्लान्,ओराल्न खोज्लान् । तिमी नओर्लिनू किनभने तिमीलाई पक्का थाहा छ- रुखमाथि तिमीले टेक्ने फल्याक कति बलियो बाँधेको छौ ! तिमीलाई थाहा छँदैछ- कुन बाँसको चोयाले हाँगाहरु बाँधेको छौ ! तिमी चढ्ने रुख तिमी आफैले छानेको हौ । आत्मबिश्वासले टेकेको आफ्नो धरातलको क्षमता आफैंलाई मात्र थाहा हुन्छ । तिमी तिम्रो हाँगाप्रती बिश्वस्त छौ भने भै’गो- अब सिर्फ पढिरहनू !
धनकुमार ! सुन्दर फूलहरु अप्ठ्यारामै फुल्छन् ।
राजनितीक दृश्य चै:
यस्ले उस्लाई,उस्ले उस्लाई,तेस्ले तेस्लाई पालैपालो घोच्याघोच्यै –
“के हेरेर बसिराख्छस्? धनकुमार बेइज्जतीको रुख चढिसक्यो । झार्ने तेरो काम हो । छिटो झार् !”
“धेर नकरा ! तँ पनि तान्न त सक्छस् त ! तान् न !”
आखिर, “सञ्चार-प्रबिधि बिकास”को अवस्था कमजोर छ भन्ने कुरा सधैभरी धनकुमारहरुकै फोटो देखाएर सम्झाउनु पर्ने न हो । कति हाँसउठ्दो: रुख चढ्नै नपर्ने वातावरण सृजना गर्नेबारे ध्यानै छैन,बाध्य भएर रुखमाथी चढिसकेपछि धनकुमार;उनलाई रुखबाट झार्ने उपाय खोजौँ भन्छन जिम्मेवारहरु। छ्या !
धनकुमार !
तिमी चाहिँ तिम्रो पुस्तकभित्र भएको “राजनीति र सरकार”सहितका अरु सबै पाठ-पन्नालाई घोटिघोटी त्यहि इच्छाशक्तिको रुखमाथि बसेर पढिरहनू !
तिमीलाई शुभकामना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार